चोरबाटो नेपाल छिरेका भारतीयसँग भेटियो नौ लाख रुपैयाँ
बन्दाबन्दीका समयमा भारतबाट चोरबाटो हुँदै नेपाल आएका भारतीयसँग नेपाली नौ लाख रुपैयाँ बरामद भएको छ । सप्तरी प्रहरीले शनिबार अपरान्ह भारतको सुपौल जिल्लाका फुलकुमार मेहतालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी रामपुर मल्हनिया, सप्तरीबाट खटिएको प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर सहितको प्रहरी गस्ती टोलीले मेहतालाई नियन्त्रणमा लिएर खानतलासी लिँदा रकम बरामद गरेको थियो ।
प्रहरीले मेहता सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १४ कोशी बलार स्थितमा भारतबाट नेपालतर्फ आइरहेका बेला नियन्त्रणमा लिएकाे हाे । नेपाली पाँचसय र एकहजार दरका नोट लिएर मेहता किन नेपाल आए खुल्न सकेको छैन ।
मेहताले सामान्य झोलामा रकम बोकेर हिँडिरहेका बेला प्रहरी गस्तीले फेला पारेको थियो । रामपुर चौकीले मेहतालाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।