भारतको नौतनवास्थित क्वारेन्टिनमा एक नेपालीको मृत्यु
भारतको नौतनवास्थित क्वारेन्टाइनमा एक नेपालीको मृत्यु भएको छ । सशस्त्र सीमा सुरक्षा गण रुपन्देहीका अनुसार मृतक स्याङ्जाको हरिनास गाउँपालिका–२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा हुन् ।
उनी ५ जेठमा दिल्ली नजिकको अलिगढबाट त्यहाँ आएका थिए । उनलाई नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिनमा राखिएको थियो ।
भारतको हिन्दुस्तान दैनिकका महाराजगञ्ज संवाददाता आलोक जोशीले त्यहाँका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बताए अनुसार शुक्रबार स्वास्थ्यमा खराबी आएपछि उनलाई महाराजगञ्ज जिल्ला अस्पताल लगिएको थियो । उपचारपछि साँझ पुनः क्वारेन्टिनमा ल्याइएका उनको शनिबार बिहान मृत्यु भएको थियो ।
भारतको सशस्त्र सीमा सुरक्षा बल र नौतनवा प्रहरीले थापाको उपचारका क्रममा मृत्युु भएको जानकारी रुपन्देही प्रहरीलाई गराएको सशस्त्र सीमा सुरक्षा गणका एसपी तेज पोखरेलले बताए । “पहिल्यैदेखि मिर्गौलाको समस्या थियो भन्ने जानकारी प्राप्त भएको छ,” पोखरेलले भने ।
हिन्दुस्तान दैनिकका संवाददाता जोशीका अनुसार अहिले उनको शव जिल्ला अस्पताल महाराजगञ्जमा राखिएको छ । कोरोना परीक्षणका लागि उनको स्वाब लिइएको र त्यसको नतिजा प्राप्त भएपछि पोष्टमार्टम हुने वा नहुने निश्चित हुने स्थानीय प्रहरीले जनाएको छ ।