सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड–१९ विरुद्धको बन्दाबन्दीले दुई महीना पार गरिसकेको छ । बन्दाबन्दी थपिएसँगै पछिल्लो समय संक्रमित दर पनि ह्वात्तै बढेको छ । र, शनिबारसम्म यो संख्या ५८४ पुगेको छ । अघिल्लो शनिबार महामारीबाट पहिलो मृत्यु भएको थियो भने यो हप्ताको मध्य समयमा आइपुग्दा मृतकको संख्या तीन पुगेको छ । काठमाडौं उपत्यकामा समेत नयाँ संक्रमितहरु धमाधम भेटिइरहेका कारण सरकारले २० जेठसम्म बन्दाबन्दीलाई बढाएको छ ।
बन्दाबन्दी लगत्तै साप्ताहिक हिमाल खबरपत्रिकाले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. पर्यटनको पुनरुत्थानका लागि २० अर्बको राहत प्याकेज घोषणा गर्न सिफारिश
नेपाल पर्यटन बोर्डले कोरोनाभाइरस (कोभिड-१९) ले पारेको गम्भीर असरबाट पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल रु.२० अर्बको राहत प्याकेज घोषणा गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ। बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पर्यटन क्षेत्रमा आबद्ध कर्मचारी एवं श्रमिकहरूलाई राहत दिने, पर्यटन व्यवसायीहरुलाई आर्थिक राहत तथा सहुलियत उपलब्ध गराउने र पर्यटन क्षेत्रको तत्काल पुनरुत्थानका लागि गर्नुपर्ने नीतिगत सुधारबारे उल्लेख गरेको बोर्डले जनाएको छ।
२. भारतीय उद्विग्नताको शिकार नबनौं
संसार कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा रहेको वेला भारतले झण्डै ७० वर्षदेखि मिच्दै आएको नेपालको पश्चिमोत्तर भूमिमा निर्मित बाटो उद्घाटन गर्यो । २६ वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले घाटियाबगढ (पिथौरागढ) देखि लिपुलेक भञ्ज्याङसम्मको ८० किलोमिटर बाटोको ‘भर्चुअल’ उद्घाटनसँगै नेपालमा सडक, संसद् र सरकार– तीनवटै मोर्चालाई उद्वेलित तुल्याएको छ । विवादित भूमिमा बाटो बनाएर उद्घाटन गरिनु नेपाल–भारत सम्बन्धमा देखिएको नयाँ परिदृश्य त हो नै, भारतीय संस्थापनमा हुर्कंदो उद्विग्नताको प्रतिबिम्ब पनि हो । समस्या हल गर्न उद्विग्नताको जवाफ उद्विग्नता होइन, शान्त कूटनीतिक वार्ता मात्र हुनसक्छ । -हिमालखबर सम्पादकीय
३. लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्शा मन्त्रिपरिषदबाट पारित
५ जेठ साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्शा पारित गरेको छ । गएको २ जेठमा प्रस्तुत नीति तथा कार्यक्रममा पनि नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने विषय समावेश भएको थियो । यही साता मन्त्रिपरिषदद्वारा पारित नेपालको नयाँ नक्शा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सार्वजनिक पनि गरिन् । तर, नेपालको नयाँ नक्शालाई भारतले मान्यता नदिने प्रतिक्रिया पनि यसबीचमा आइसकेको छ । लिम्पियाधुरा सहित समेटेर जारी गरिएको नयाँ नक्शा संविधानको अनुसूचीमा राख्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय पनि सरकारले गरिसकेको छ ।
४. मान्छेमा गरिएको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल
अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोनाभाइरस विरुद्धको खोप परीक्षण सफल भएको छ। तर, उक्त खोप थप परीक्षणपछि मात्र बजारमा आउने भएकाले सर्वसाधारणको प्रयोगका लागि आगामी वर्षको जनवरी अर्थात पुस/माघसम्म कुर्नुपर्ने भएको छ। खोप नेशनल इन्स्टिच्यूट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको हो । मोडेर्नाले अमेरिकी समय अनुसार सोमबार साँझ खोप सम्बन्धी दिएको जानकारी अनुसार एमआरएनए-१२७३ नामक खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिए भन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ ।
५. बेरोजगार भए घरेलु कामदार
बन्दाबन्दीपछि धेरै घरेलु कामदार बेरोजगार भएका छन् । कतिपयलाई भने कामको बोझ थपिएको छ । तर, कति घरेलु श्रमिक समस्यामा छन् भन्ने तथ्याङ्क कुनै निकायसँग पनि छैन । केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार नेपालमा श्रम गरिरहेका ७९ लाख ९४ हजार जनशक्तिमध्ये औपचारिक क्षेत्रमा १५.४ प्रतिशत र अनौपचारिक क्षेत्रमा ८४.६ प्रतिशत कार्यरत छन् ।
६. गर्भवतीले नियमित जाँच र खोप समेत पाएनन्
कोरोनाभाइरसको जोखिम र बन्दाबन्दीको यो वेला संक्रमणको डर र अस्पताल जान सवारी साधन नहुँदा गर्भवतीहरूले नियमित जाँच गर्न सकिरहेका छैनन्। यसबाट आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ तर सरकार बेखबर झैं रहनु अर्को चिन्ताको विषय बनेको छ।
७. के हिम्मत छ हाम्रा नयाँ पुस्ताका नेतासँग ?
अहिले कुनै पनि ठूला राजनीतिक दलका बूढा वा वरिष्ठ नेताहरु प्रधानमन्त्री वा अध्यक्षको 'म्युजिकल चेयर' बजाइरहेका छन् । राजतन्त्र हटाइए पनि नेतृत्व हस्तान्तरणले सामन्ती प्रथालाई पछ्याइरहेको छ । डा. निर्मल कँडेलको विचारमा त्यहाँ महत्वपूर्ण दुई मुद्दा छन् । पहिलो, वरिष्ठ नेताहरुमा अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने चाहना नै छैन । दोस्रो, अर्को पुस्ताका नेताहरुले पनि अवकासबारे सोध्ने आँट गरेका छैनन् ।
८. अवैज्ञानिक आरडीटीमै जोड, चीनबाट खरीद गरिंदै थप एक लाख थान किट
कोभिड–१९ को परीक्षणमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) अव्यावहारिक र अवैज्ञानिक रहेको नतिजाले देखाइसके पनि सरकारले फेरि चीनबाट थप एक लाख थान किट खरीद गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस (कोभिड–१९) परीक्षणका लागि र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) क्लिनिकल प्रयोजनमा प्रयोग नगर्न सुझाव दिंदै आएको छ।
साथै कोभिड–१९ परीक्षण गर्न विवादास्पद कम्पनीका आरडीटी किट भित्र्याउने तयारी सुविधासम्पन्न पीसीआर ल्याब नचलाएको स्वास्थ्य मन्त्रालय, कोरोनाभाइरस परीक्षणमा निजी तथा सामुदायिक संस्थालाई संलग्न गराउँदै विवादास्पद कम्पनीका आरडीटी किट खरीद गराउने प्रपञ्चमा देखिन्छ । र, यससम्बन्धी निर्देशिका पनि जारी गरेको छ।
९. विद्युतीय शवदाह गृह: बन्दाबन्दीमा झनै उपयुक्त
महामारीका बेला सामान्य अवस्थामा झैं आफ्नो धार्मिक मान्यता अनुसारको अन्तिम संस्कारको कर्मकाण्ड पनि प्रभावित भएको छ । र, यो बेला दाहसंस्कारको उपयुक्त स्थल बनेको छ, विद्युतीय शवदाहगृह। बन्दाबन्दीमा उपयुक्त र सजिलो बनेको विद्युतीय शवदाहगृहलाई यसैगरी प्रयोगमा ल्याउने हो भने वातावरण स्वच्छ हुने मात्र होइन, हाम्रो जीवनशैली पनि साँच्चिकै आधुनिक बन्नेछ। तर, बिग्रिएको झूटो बहानामा बन्द गरियो पशुपतिको विद्युतीय शवदाह गृह कोरोना संक्रमित महिलाको शव ३ जेठमा दहन गरेपछि प्राविधिक समस्या देखिएको भन्दै पशुपतिको विद्युतीय शवदाहगृह बन्द छ । तर, सत्य के हो भने शवदाहगृहमा भएका दुवै यन्त्रमा कुनै खराबी आएकै छैन ।
१०. महामारीको वेला एकल महिला र अतिअशक्तको सामाजिक सुरक्षा भत्ता कटौती
कोरोनाभाइरस महामारीले प्रभावित पारेको समयमा राहत र सहयोगका थप कार्यक्रम ल्याउनुपर्नेमा सरकारले एकल महिला र अतिअशक्त अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको छ। सरकारले एकल महिला र 'ख वर्ग' अर्थात् अतिअशक्त अपांगता भएका नीलो कार्डवाहकहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको छ।
११. सीमा विवाद: सार्थक वार्ताबाहेक उपाय छैन
वार्तालाई पर धकेल्दै जाँदा समस्याहरूको चाङ थुप्रिंदै जान्छ र पछि सफा गर्न आफैंलाई अतिरिक्त समय लाग्छ । यस तथ्यलाई ध्यानमा राखेर — औपचारिक होस् वा अनौपचारिक — जतिसक्दो वार्ता प्रक्रिया शुरू हुन्छ, दुई देशबीचको विवाद त्यति नै छिटो कम हुँदै जान्छ । -विष्णु रिजालको टिप्पणी ।
१२. क्रिमसन अस्पतालमा मृत्यु भएका संक्रमितको शव नेपाली सेनाले उठायो
रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले उठाएको छ ।
लामो समयदेखि शव नउठ्दा सर्वत्र आलोचना भएपछि नेपाल प्रहरीको सहयोगमा नेपाली सेनाले शव उठाएको हो । रुपन्देहीको देवदह र तिलोत्तमाको बीचमा रहेको जंगलमा शव गाडिएको थियो । तर, मृतकको शव दहन गर्नुपर्नेमा आफ्नो परम्पराको विपरीत गाडिएको भन्दै परिवारले विरोध जनाएका छन् । यसले कोरोना संक्रमितको शव व्यवस्थापनमा आइपर्ने कठिनाइप्रति सचेत हुन सबैलाई गम्भीर तुल्याएको छ ।
१३. स्थानीय सरकारका प्रतिनिधि भन्छन्– आफ्नो ठाउँ बनाउने सरकार गाउँटोलमै छ, किन चाहियो सांसदलाई बजेट ?
स्थानीय सरकारका प्रतिनिधिहरूले निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइएको बजेट कटौती गरी उक्त रकम कोरोना महामारीका कारण समस्या भोगिरहेका स्थानीय तहलाई दिनुपर्ने माग गरेका छन्।
१४. तापौं घाम, सम्झौं अति जरूरी काम
नेपालमा वर्षभरि नै सजिलैसँग सूर्य प्रकाशमार्फत सित्तैमा पाउने पोषकतत्वलाई हामीले भने बेवास्ता गरिरहेका छौं । यही कारण धेरै नेपालीले कम्मर, मेरुदण्ड, हड्डी र मांसपेशी दुख्ने समस्या व्यहोरिरहेका छन् । यस बाहेक पनि घाम ताप्नाले मानिसलाई धेरै कुरामा फाइदा पुग्छ । नेपालमा स्वास्थ्यकर्मीले भिटामिन डीसँगै क्याल्सियम पनि दिने गरेका छन् । क्याल्सियम पनि हामीले किन्नै पर्दैन । -डा. अरुणा उप्रेतीको उपयोगी आलेख ।