भारतमा कोरोनाभाइरसबाट एकै दिन साढे ६ हजार संक्रमित, घर फर्कने मजदुरको बसपार्कमा भीड उस्तै
भारतमा शुक्रबार एकै दिन अहिलेसम्मकै बढी ६ हजार ५६८ संक्रमित भेटिएका छन् । यो सँगै त्यहाँ संक्रमितको कूल संख्या एक लाख २४ हजार ७९४ पुगेको छ ।
बिहीबार पनि ६ हजार १५८ नयाँ संक्रमित भेटिएका थिए । गत मंगलबार पहिलोपटक नयाँ संक्रमितको संख्या ६ हजार नाघेको थियो । त्यसयता चार दिनमा २४ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
अहिलेसम्म भारतमा तीन हजार ७२६ जनाको मृत्यु भएको छ भने ५१ हजार ८२४ जना निको भएका छन् । सबैभन्दा बढी महाराष्ट्र आक्रान्त छ । त्यहाँ शुक्रबार दुई हजार ९४० नयाँ संक्रमित पुगेपछि कूल संक्रमितको संख्या ४४ हजारभन्दा माथि पुगेको छ ।
भारतमा अहिले लामो दूरीको रेल खुलाइएको छ । मजदुर ओसार्न बस पनि सञ्चालनमा छन् । आफ्नो राज्यबाट बाहिर जान चाहनेलाई पठाउन महाराष्ट्र सरकारले नै मुम्बईमा बस सञ्चालन गरेको छ। बन्दाबन्दी घोषणापछि ३० अप्रिलदेखि १२ मेबीचमा ६६ लाख मान्छेले एक राज्यबाट अर्को राज्यको यात्रा गरेको सरकारी तथ्याङ्क छ ।
अहिले पनि घर फर्कन चाहने मजदुरहरुको विभिन्न बस टर्मिनलहरुमा भीड छ । खासगरी महाराष्ट्रमा फसेका अन्य राज्यका मजदुर घर फर्कन आतुर छन् ।