थप समाचार शुक्रबार, जेठ ९, २०७७

सामाजिक सुरक्षा भत्ता कटौती विरुद्ध अधिकारकर्मी, दबाबका लागि 'मोबाइल अभियान'

हिमालखबर

गृह मन्त्रालय अन्तरर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको २६ चैत २०७६ को निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला (विधवा) र निलो कार्ड भएका अपांगता भएकाहरुको भत्ता कटौतीप्रति अधिकारवादी विभिन्न संघसंस्थाले विरोध गर्दै दबाबमूलक अभियान गर्न थालेका छन् ।

सरकारको यो निर्णयपछि अधिकारका क्षेत्रमा कार्यरत करिब तीन दर्जन संघसंस्था लगायत ‘सामाजिक सुरक्षा नागरिक समाज’ ले गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय सच्याउन सरकारलाई भनेको छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्दाबन्दी भइरहेका बेला सरकारले अकस्मात यस्तो निर्णय गर्नु मानवीय तथा अधिकारको दृष्टिकोणबाट कुनै हालतमा सान्दर्भिक नहुने भनिएको छ ।

संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा ऐन र नियमावली कै प्रावधान तत्काल सच्याउन तथा त्यो नसच्याएसम्म प्रचलित भत्ता प्रदान गरी उनीहरुको जीवन सहज बनाइदिन माग गरिएको छ ।

६० वर्ष मुनिका एकल महिलाले मासिक दुई हजार र निलो कार्ड भएका अपांगता भएकाहरुले मासिक एकहजार छसय पाउँदै आएकाे भत्ता गत चैतदेखि राेक्ने गरी विभागले पत्र पठाएकाे थियाे ।

मोबाइल अभियान

नेपाल अपांग महिला संघले मोबाइलको माध्यमबाट दबाब अभियान शुरु गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

जसमा मन्त्री तथा सांसद र राजनीतिक दलका नेताहरुलाई निर्णय फिर्ता गराउन पहल गर्ने गरी मोबाइल अभियान शुरु गर्न लागिएको अपांग महिला संघकी अध्यक्ष टीका दाहाल बताउँछिन् । बन्दाबन्दीका कारण सबैलाई भेट्न संभव नहुने भएकाले मोबाइलबाटै दबाबमूलक अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

स‌सदकाे महिला तथा सामाजिक समितिले शुक्रबार नै बसेकाे बैठकले सामाजिक सुरक्षा भत्ता राेक्ने निर्णय सच्याउन गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

प्रतिकृया दिनुहोस