राष्ट्रपतिदेखि प्रतिपक्षी दलसम्मलाई नयाँ नक्शा हस्तान्तरण
नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्शा राष्ट्रपति, प्रधानमन्त्री सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्शा हस्तान्तरण गरेकी हुन् ।
त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नक्शा हस्तान्तरण गरिन् ।
गत ५ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक नक्शा स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्ले नक्शा स्वीकृत गरेपछि बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्शा सार्वजनिक गरेको हो।