महासेनानी भूपालमान अधिकारीलाई २ महीना जेल, एक करोड ८५ लाख असुलउपर गर्न सैनिक अदालतकाे फैसला
नेपाली सेनाको समरी जनरल सैनिक अदालतले शुक्रबार सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमिततामा संलग्न रहेको प्रमाणित गर्दै महासेनानी भूपालमान अधिकारीलाई २ महीना कैदमा पठाउने फैसला गरेको छ । यस्तै महाविद्यालयको सम्पर्क अधिकृत पदमा कार्यरत रहँदा अनियमितता गरेको १ करोड ८५ लाख असुलउपर गरेर उनलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सेनाबाट हटाउने फैसला गरेको हो ।
सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुरमा दोषी ठहरिएका प्रमुख सेनानी देवबहादुर क्षेत्रीको दुई वर्ष बढुवा रोक्का तथा ४ लाख असुल उपरको फैसला गरेको हो । यो कसुरमा सेनाले भक्तपुरस्थित सैनिक विद्यालयको प्रशासनमा कार्यरत १८ जनामाथि अनुसन्धान गरेको थियो । अदालतले १३ जनालाई कसुरबाट सफाइ दिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार विज्ञप्ति निकाल्दै सैनिक अदालतकाे फैसला सार्वजनिक गरेकाे हाे ।
सेनाको सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित महाविद्यालयमा आर्थिक अनियमितता छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले २३ फागुन २०७६ मा यी १८ माथि अनुसन्धान अघि बढाउन राय दिएको थियो ।
अदालतले हुद्दाहरू यज्ञराज पोखरेललाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउनुका साथै ३ लाख असुल उपर गर्ने र गणेशबहादुर अधिकारीको दुई वर्ष ग्रेड रोक्काका साथै १० हजार असुलउपर गर्ने फैसला गरेको हो ।
अदालतले लेखाका सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आफ्नो काम ठिक ढंगले नगरेको ठहर गर्दै नसिहत दिएको छ ।