कोरोना संक्रमित बाँकेका ६० वर्षीय मदरसा शिक्षकदेखि ७ वर्षीया बालिकासम्म २१ जना डिस्चार्ज
बाँकेको नेपालगञ्जमा २१ जना कोरोनासंक्रमित शुक्रवार डिस्चार्ज भएका छन् । नेपालगञ्जमा भेटिएका पहिलो संक्रमित ६० वर्षीय मदरसाका शिक्षकदेखि उनको सम्पर्कमा आएकी ७ वर्षीया बालिकासम्म गरी कुल २१ जना संक्रमित आज डिस्चार्ज भएका हुन् ।
संक्रमण पुष्टि भएपछि उनीहरूलाई नेपालगञ्जको सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा राखेर उपचार भइरहेको थियो । आज डिस्चार्ज भएका २१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरमार्फत कोरोना संक्रमणको परीक्षण गर्नेको संख्या शुक्रबारसम्म ४२ हजार ४८९ पुगेको छ । त्यसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८१९ पीसीआर गरिएको छ ।
त्यस्तै क्वारेन्टिनमा बस्नेको संख्या शुक्रबारसम्म २७ हजार ८२९ पुगेको छ भने आइसोलेसनमा ४३३ जना बसिरहेका छन् । तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।