बाँकेका १४ जनासहित थप २० जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ५०७ पुग्यो
शुक्रबार नेपालमा थप २० जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल कैलाली र काेशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
शुक्रबार भेटिएका संक्रमितमध्ये बाँकेका १४ जना, कैलालीका ३, डडेल्धुराका १, बैतडी र मोरङको रतुवामाई गाउँपलिकाका १-१ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
बाँकेको नरैनापुर गाउँपालिकाका १३ र राप्ती सोनारी गाउँपालिकाका १ जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको छ । उनीहरू १८ देखि ६१ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।
यस्तै, कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय पुरुष, बैतडी शिवनाथ–१ का १ र मोरङको रतुवामाई नगरपालिका २ का ४७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५०७ पुगेको छ । तीमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।