क्रिमसन अस्पतालमा मृत्यु भएका संक्रमितको शव नेपाली सेनाले उठायाे
रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव नेपाली सेनाले उठाएको छ ।
लामो समयदेखि शव नउठ्दा सर्वत्र आलोचना भएपछि नेपाल प्रहरीको सहयोगमा नेपाली सेनाले शव उठाएकाे हो ।
मृत्यु भएको २४ घण्टासम्म पनि शव अस्पतालमै रहेको भन्दै आलोचना भएपछि प्रशासनले नेपाली सेनालाई गुहारेको थियाे।
संक्रमितको शव व्यवस्थापनमा अन्योलता रहेका कारण केही ढिलाइ भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए ।
आफन्तहरुले केही गुनासाहरु रहेको भन्दै आफ्नो माग सुनुवाइ हुनुपर्ने बताएका थिए । तर, सेना र प्रहरीको टोली अस्पताल पुगेर संक्रमितको शव निकालेर शव वाहनमा राखेको थियो।
*रुपन्देहीको देवदह र तिलोत्तमाको बीचमा रहेको जंगलमा शव गाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।
निधन भएका संक्रमित शिक्षकका कुरुवा र अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । रुपन्देहीको प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । यसअघि अर्घाखाँचीको छाया पोलिक्लिनिकका स्वास्थ्यकर्मीहरुको रिपोर्ट पनि नेगेटिभ आएको थियो।
बिक्रम खड्का, बुटवल
*यस अघि अन्यथा भएकाले सच्याइएको छ । सं.