बन्दाबन्दीका कारण भारतमा थपिए १२ करोड बेरोजगार
कोभिड महामारीको रोकथाम गर्न भारत सरकारले चौथाे पटक बन्दाबन्दी थप गरिसकेको छ । चौथाे पटक थप गरिएको बन्दाबन्दी १८ जेठसम्म कायम रहनेछ।
३० जनवरीमा पहिलो संक्रमण देखिएको भारतमा शुक्रबार दिउँसोसम्म एक लाख १८ हजारमा फैलिएको छ । भारत सरकारले महामारीका कारण ३५८३ जनाको मृत्यु भइसकेको छ ।
महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएको छ । त्यहाँ, ४१ हजार बढी संक्रमित देखिएकोमा १४५४ जनाको मृत्यु भएको छ । महाराष्ट्र, तमिलनाडु, गुजरात, दिल्ली, राजस्थान, मध्ये प्रदेश, उत्तर प्रदेश लगायत प्रभावित छन् ।
भारतमा संक्रमित हुने र मृत्यु हुनेको दर समेत बढेको छ । २४ मार्चमा बन्दाबन्दी घोषणा गर्दा भारतमा ५६४ जनामा संक्रमण देखिएकाेमा १० जनाको मृत्यु भएको थियो । अर्थात्, संक्रमित मध्ये १.७७ प्रतिशतको मृत्यु भएको थियो ।
तर, संक्रमित मध्ये मृत्यु हुनेको प्रतिशत ३.१७ पुगेको छ । महामारीका कारण बेरोजगारको संख्या अत्यधिक बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसी हिन्दीका अनुसार, भारतमा १२ करोड बढी थप बेरोजगार थपिएका छन् । त्यस मध्ये असंगठित मजदुर बढी छन् ।
न्यून आय भएकाहरुका लागि भारत सरकारले २० लाख करोड राहत घोषणा गरेको छ । यो राहत रकम भारतको १० प्रतिशत जीडीपी बराबर हो । अर्थात्, भारतको अर्थव्यवस्था नराम्रो गरी खल्बलिएको छ ।