मैदानमा फर्किँदै क्रिकेट, दर्शक राखेरै आजबाट भिन्सी प्रिमियर टी१० लिग
कोरोनाभाइरस संक्रमणका कारण दुई महीनादेखि रोकिएकोे क्रिकेट प्रतियोगिता क्यारेबियन देश सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्सबाट मैदान फर्कने भएको छ।
यूरोपियन लिगका फूटबल खेलहरु बिना दर्शक खेलाउन थालिइरहेको वेला दर्शकसहित ‘भिन्सी प्रिमियर टी१० लिग’ (भीपीएल) आजै (शुक्रबार) साँझबाट शुरु हुँदैछ । सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्स क्रिकेट एसोसिएसनले आयोजना गर्ने लिग ३१ मेसम्म १० दिन चल्नेछ । सबै २८ खेल सेन्ट भिन्सेन्टको आर्नोस भाले स्पोर्टिङ कम्प्लेक्समा हुनेछन् । प्रतियोगितामा वेष्ट इन्डिजका राष्ट्रिय खेलाडी समेत सम्मिलित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
यो देशमा अहिलेसम्म १८ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । तीमध्ये १४ जना निको भइसकेका छन् । यहाँको कुल जनसंख्या करीब एक लाख ११ हजार मात्र हो । त्यहाँका सरकारले बन्दाबन्दी लगाउने वा दैनिक काममा कुनै प्रकारको रोकावट गर्ने घोषणा गरेका छैनन्।
त्यहीकारण सुरक्षित तरिकाले खेल खेलाउन लागिएको त्यहाँको क्रिकेट एसोसिएसनले उल्लेख गरेको छ । खेल नेपाली समयअनुसार ६ः१५ बजेदेखि हुनेछ । हरेक दिन तीन खेल खेलाइनेछ । प्रतियोगितामा ७२ खेलाडी सहभागी हुनेछन् । सबै फ्रेन्चाइज टीमले खेलाडीलाई ११ मेमा भएको लिलामी प्रक्रियामा अनुबन्ध गरेका हुन् । प्रतियोगितामा सुनील अम्बारिस, केसरिक विलियम्स लगायत वेष्ट इन्डिजका अन्तर्राष्ट्रिय खेलाडी सहभागी छन्।
खेलमा बल चम्काउनका लागि खेलाडीले थुक र पसिनाको प्रयोग गर्न पाउने छैनन्। बल चम्काउन थुक र पसिना प्रयोग गर्न नदिइएको यो क्रिकेट इतिहासकै पहिलो प्रतियोगिता हुनेछ।
केही दिनअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि बलमा थुक लगाउन रोक लगाउने सिफारिस गरेको छ । तर, पसिनाको प्रयोग गर्न प्रतिबन्ध लगाउनेबारे केही उल्लेख गरेको छैन । चिकित्सकहरुले कोरोनाभाइरस पसिनाबाट सर्ने सक्ने तथ्यलाई पुष्टि गरेका छैनन्।
खेलअवधिका स्यानिटाइजर प्रयोगका लागि खेलाडीलाई समय उपलब्ध गराइने छ । प्रतियोगितामा सबै टीमका लागि फरक ‘ड्रेसिङ रुम’ हुनेछ । सबै खेलाडीलाई अभ्यासका लागि पनि फरक ठाउँ उपलब्ध गराइने भएको छ ।
खेल हेर्न दर्शकलाई टाढा राखिने छ । दर्शकले एकअर्कासँग दूरी कायम गर्नुपर्नेछ । प्रतियोगिताभर मेडिकल टीम मैदानमै हुनेछ।
यसअघि पछिल्लोपटक २० मार्चमा अष्ट्रेलिया र न्यूजिल्याण्डबीच एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) भएको थियो । तर, उक्त खेलमा दर्शक सहभागी थिएनन् । पहिलो खेलपछि नै उक्त शृंङ्खलाका सबै खेल रद्द गरिएको थियो ।
त्यति वेला संसारभर चलिरहेका प्रतियोगिताहरु धमाधम स्थगित भइरहेका थिए । शुरु भइनसकेका प्रतियोगिता पनि स्थगित भइरहेका थिए।
१६ मार्चमा ढाका प्रिमियर लिगका बाँकी खेल रोकिएका थिए । खेलाडीलाई नै संक्रमण देखिएपछि १७ मार्चमा पाकिस्तान सुपर लिग रोकिएको थियो । भारतबाट फर्किएको दक्षिण अफ्रिकाका सबै खेलाडीलाई १८ मार्चदेखि घरैमा ‘सेल्फ आइसोलेसन’ मा बस्न भनिएको थियो । २१ मार्चमा श्रीलंकाका सबै घरेलु प्रतियोगिता स्थगित भएका थिए।
यसरी संसारभरिका क्रिकेट खेल स्थगित हुँदै गए । त्यसपछि पनि संक्रमण बढ्दै जाँदा धेरै प्रतियोगिता रद्द नै भए । अहिले संसारभरका क्रिकेट मैदान खाली छन् । यस्तो वेला दर्शकसहित शुरु हुन लागेको भिन्सी प्रिमियर टी१० लिगले विश्वका धेरै मिडियामा ठाउँ पाएको छ।
- एजेन्सीहरुको सहयोगमा