के राष्ट्रिय टीममा फर्किएलान् धोनी ?
कोभिड महामारीका कारण विश्वभर नै सबै खेलकुद प्रतियोगिताहरु स्थगित गरिएका छन् । यूरोपियन फुटबल लिगहरु भने पुनःसञ्चालनको तयारी भइरहेको छ । बुन्डेशा लिग भने शुरु नै भइसकेको छ ।
महामारीकै कारण विश्वकप फुटबलका छनोट खेलहरु रोकिएका छन् भने क्रिक्रेट प्रतियोगिता पनि रोकिएका छन् । महत्वपूर्ण फ्रेन्चाइजी इण्डियन प्रिमियर लिग (आईपीएल) पनि महामारीकै कारण रोकिएको छ ।
स्थगित आईपीएल सेटेम्बरबाट शुरु हुनसक्ने अनुमान गरिएको छ । आईपीएलसँगै भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीबारे समेत अनेकन अड्कलबाजी भइरहेको छ ।
आईपीएलसँगै जोडेर एक दिवसीय विश्वकप यता राष्ट्रिय टीममा नरहेका धोनीको करिअरबारे चर्चा भइरहेका छन् । भारतकै पूर्व क्रिकेटरहरुले धोनी राष्ट्रिय टीममा पुनरागमन हुने सक्ने वा अवकाश लिनेबारे अनुमान लगाइरहेका छन् ।
पूर्व क्रिकेटर गौतम गम्भीर भने यो सिजनको आईपीएल रद्द भए सँगै धोनीको राष्ट्रिय टीममा पुनरागमनको संभावना कम हुने देख्छन् । उनी भन्छन्, “यदि यो सिजनको आईपीएल हुन सकेन भने धोनीलाई राष्ट्रिय टीममा पुनरागमन हुन मुस्किल पर्नेछ । किनभने, आउने एक वा डेढ वर्ष आईपीएलको यो सिजनको प्रदर्शनकै आधारमा निर्णय हुन सक्छ ।”
तर, कतिपय पूर्व क्रिकेटरहरुले भने उनको पुनरागमनको संभावना आईपीएल रद्द भए पनि नरोकिने बताउँछन् । धोनीले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । गएको ९ जुलाईमा न्यूजिल्याण्ड विरुद्ध एक दिवसीय क्रिकेटमा पराजित भएपछि धोनी राष्ट्रिय टीमबाट खेलेका छैनन् ।
३८ वर्षीय धोनीले २००७ देखि २०१६ सम्म छोटो फम्र्याट र २००८ देखि २०१४ सम्म टेष्ट टीमका कप्तानी गरेका थिए । विकेटकिपर ब्याट्सम्यान धोनीले थुप्रै कीर्तिमान बनाएका छन् । आईसीसीका सवै ट्रफीहरु जित्ने कीर्तिमानी कप्तानी उनले गरेका थिए ।
धोनीले ९० टेष्ट, ३५० एक दिवसीय र ९८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।