समाचार शुक्रबार, जेठ ९, २०७७

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषदको निर्णय

हिमालखबर

संविधान संशोधन प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषदको निर्णय
फाइल तस्वीर

मन्त्रिपरिषदले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । संविधान संशोधन प्रक्रिया संघीय संसदमा लैजाने र पारित गराउने बैठकले निर्णय गरेको छ ।

बुधबार मात्रै सरकारले नेपालको नयाँ नक्शा सार्वजनिक गरेको छ । लिम्पियाधुरा सहित समेटेर जारी गरिएको नयाँ नक्शा संविधानको अनुसूचीमा राख्न संशोधन प्रस्ताव लैजाने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले बताए ।

नेपालको नयाँ संविधानको अनुसूची–३ मा राखिएको छ । तर, उक्त अनुसूचीमा लिम्पियाधुरा सहित समेटिएको नेपालको नक्शा छैन ।

मन्त्रिपरिषदबाट निर्णय गरी नयाँ नक्शा जारी गरिएकाले संविधानमा समावेश गर्न संशोधन प्रस्ताव पेश गरिएको छ । ६ जेठमा बसेको मन्त्रिपरिषदले नयाँ नक्शा पारित गरेको थियो भने ७ जेठमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले आधिकारिक रुपमा नयाँ सार्वजनिक गरेकी थिइन् ।

भारत सरकारले कोभिड महामारीकै बीच नेपालको भूमि मिचेर चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि सरकारले लिम्पियाधुरा सहित समेटेर नयाँ राजनीतिक एवम् प्रशासनिक नक्शा सार्वजनिक गरेको छ ।

नयाँ नक्शा सरकारको निशाना छापमा नभएकाले संविधान संशोधन गर्नुपर्ने आवश्यकता भएकाले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको मन्त्री भुसालले बताए । संसद बैठक १३ जेठमा बस्दैछ ।

प्रतिकृया दिनुहोस