संक्रमित प्रहरीकी आमा बसेको घर सिल
ललितपुर महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनकी आमा बसेको घर सिल गरिएको हो ।
कालिमाटी वृत्तका दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये एक प्रहरी निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरस्थित छोरीको घर आएकी थिइन् ।
कन्ट्याक्ट ट्रेसिङ मार्फत संक्रमित प्रहरीकी आमा उक्त घरमा आएको जानकारी पछि सिल गरिएको हो । उक्त घरमा नौ जना बस्दै आएका छन् ।
उनीहरुको पीसीआर विधिद्वारा कोरोना परीक्षण नभएसम्म बाहिर कसैसँग सम्पर्क नहोस् भनी स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।
उनले भने, “हामी उहाँहरुको कोरोना परीक्षणको नतिजा नआएसम्म आवश्यक सबै वस्तुलगायत खाद्यान्नको व्यवस्था गरिदिने छाैँ।”
स्वाब परीक्षणको नतिजा आएपछि मात्र सो घरको सिल खोलिने श्रेष्ठले बताए । यसअघि सिद्धिपुरमा बाहिरी जिल्लाबाट आई मानिस बसेका सूचनाका आधारमा वडा कार्यालय र स्थानीयवासी मिलेर गत बुधबार र बिहीबार चार घर बन्द गरेका थिए । ती घरमा गरिएको सिल भने हाल खोलिसकिएको छ ।