महाकाली करिडोर निर्माणका लागि दार्चुलाको घाँटीबगर पुग्यो नेपाली सेना
दार्चुला–टिंकर सडक योजना निर्माण र सुरक्षाका लागि नेपाली सेनाको फौज व्यास गाउँपालिकाको घाँटीबगर पुगेको छ । दार्चुलाको ८७ किलाेमिटर महाकाली करिडोर निर्माणका लागि सेनाको फौज बन्दोबस्तीसहित बिहीबार घाँटीबगर पुगेको हो ।
सेनाले उक्त सडकखण्डअन्तर्गत घाँटीबगरबाट करीब दुई मिटर चौडाइको ४५० मिटर बाटो निर्माण गर्नेछ ।
मन्त्रिपरिषद् बैठकले१४ वैशाखमा महाकाली करिडोर निर्माणका लागि सेनालाई जिम्मा दिने निर्णय गरेको थियो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाए अनुसार बिहीबार घाँटीबगरको थी भन्ने स्थानमा सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको छ ।
सेनाले बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति र सुरक्षा तथा बन्दोबस्तीका लागि थप फौज, उपकरण र सामग्री शुक्रबार पठाइने पनि जनाएको छ ।
यो सडक निर्माण भएपछि दार्चुलाको व्यास गाउँपालिका छाङ्गरु र टिंकर गाउँका करीब १८२ घरपरिवारलाई सदरमुकाम खलंगा आवतजावतका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने छैन ।
अहिले त्यहाँका स्थानीय बासिन्दाले खलंगा आउन भारततर्फको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । घाँटीबगर र मौरीभीरको ४५० मिटर सडकखण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
हाल खलंगा जाने व्यास गाउँपालिका २ मा रहेको मौरीभीरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो भएका कारण आवतजावतमा समस्या भएको छ ।