रिपोर्ट शुक्रबार, जेठ ९, २०७७

बिग्रिएको झूटो बहानामा बन्द गरियो पशुपतिको विद्युतीय शवदाह गृह

हिमालखबर

बिग्रिएको झूटो बहानामा बन्द गरियो पशुपतिको विद्युतीय शवदाह गृह
पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह ।

कोरोना संक्रमित महिलाको शव ३ जेठमा दहन गरेपछि प्राविधिक समस्या देखिएको भन्दै पशुपतिको विद्युतीय शवदाह गृह बन्द छ । तर, सत्य के हो भने शवदाहगृहमा भएका दुवै यन्त्रमा कुनै खराबी आएकै छैन ।

कोभिड— १९ महामारीबाट ३ जेठमा नेपालमा पहिलोपटक सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु भयो । सिन्धुपाल्चोककी ती महिलाको शव पशुपति मन्दिर परिसरस्थित विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरियो ।

त्यसयता विद्युतीय शवदाहगृहमा शव जलेको छैन । किरियापुत्री बस्ने भवन समेत बन्द छ । किन ?

पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुले ४ जेठयता समाचारहरुमा दिएको भनाइ सुन्ने हो भने, कोरोनाभाइरस संक्रमित महिलाको शव दहनपछि यन्त्रलाई स्यानिटाइजेसन गर्ने क्रममा प्राविधिक समस्या भयो, त्यसैले तत्कालका लागि शव दहन कार्य असम्भव भएको हो ।

तर, सत्य खतिवडाले भनेजस्तो थिएन । सत्य के थियो भने, कोरोना संक्रमित महिलाको शव विद्युतीय शवदाहगृहमा जलाएको भन्दै स्थानीय र मन्दिर परिसरकै अधिकारीहरुले समेत ‘यिनीहरुले कोरोनाभाइरस लागेको मान्छे जलाए, अब यिनमा पनि कोरोना सरिसकेको हुनपर्छ’ भन्नेजस्ता अनेक लान्छना लगाए ।

स्वास्थ्य मन्त्रालयले ३ जेठमै सार्वजनिक गरेको ‘कोभिड— १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि’मा भने शवबाट भाइरस नसर्ने, शवलाई डिस्इन्फेट गरिरहनु नपर्ने तर सतगतमा संलग्न सबैले पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) अनिवार्य लगाउनुपर्ने उल्लेख छ । यस्तो शवको पोष्टमार्टम गर्नुपर्ने भएमा मात्र फोक्सोलगायतका भित्री अंगमा भाइरस हुनसक्ने जोखिम कार्यविधिमा औंल्याइएको छ ।

“यस्तो महामारीका बेला विद्युतीय शवदाहगृह बन्द गर्नु सुन्दै पनि आश्चर्य लाग्ने कुरा हो”, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा.गोविन्द टण्डन भन्छन्, “यसले त मर्दापर्दा पनि कोही नहुने सन्देश दिन खोजेको छ ।” टण्डन यहाँनेर शवदाहगृह व्यवस्थापन गर्न नसक्नुमा कोष पदाधिकारीकै दोष देख्छन् ।

त्यसो त शवदाहगृहका सबै कर्मचारीले दाहसंस्कारका क्रममा कोषले उपलब्ध गराएको पीपीई लगाएकै थिए । तर, सबैको दबाबमा ६ जना प्राविधिक, तीन प्रहरी र सतगतका आवश्यक सामग्री बिक्री गर्ने एक पसले त्यही दिन रातिदेखि नै शवदाहगृहभित्रै क्वारेन्टिनमा बस्न बाध्य भए । कर्मचारीले पनि अब कोरोना नलागेको प्रमाणित नभएसम्म काम नगर्ने अड्डी कसे ।

काम गर्ने सबैजसो क्वारेन्टिनमा बसेपछि शवदहन यन्त्र सञ्चालनका लागि मान्छे भएनन् । कोषले सञ्चारमाध्यममा शवदहन यन्त्रमा खराबी आएको सूचना सम्प्रेषण ग¥यो । त्यसयता विद्युतीय शवदहन गृहमा आएका शव पशुपति घाटमै पठाइए ।

“मेसिन बिग्रिएर शवदाहगृह बन्द भएको भन्ने कुरा साँचो होइन, हामी सबै क्वारेन्टिनमा बसेका छौं, बाँकी कर्मचारी डरले घर बसेका छन्”, क्वारेन्टिनमा बसिरहेका शवदाहगृहका एक कर्मचारी भन्छन् ।

ती कर्मचारीका अनुसार, कोषका पदाधिकारीले भोलिपल्टै (४ जेठ) सतगतमा खटिएका सबैको ‘स्वाब टेष्ट’ गराउन पठाउने कुरा गरेका थिए । “तर आज भोलि भन्दाभन्दै यतिका दिन बितिसक्यो, स्वाब समेत टेष्ट भएको छैन”, कर्मचारी भन्छन् ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले ११ चैतदेखि जारी गरेको बन्दाबन्दीमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कनसँगै भीडभाडसमेत निषेध गरेको छ । व्यक्ति—व्यक्तिबीच भौतिक दूरी अनिवार्य गरिएको छ ।

 विद्युतीय शवदाह यन्त्र । तस्वीरः हिमाल आर्काईभ

यस्तो बेला शव दहनका लागि विद्युतीय शवदाह यन्त्र घाटको तुलनामा अत्यन्त सहज र उपयुक्त ठानिएको थियो । तर, कोरोना संक्रमणको त्राससँगै विद्युतीय शवदाहगृह बन्द गरिंदा उपत्यकाको शव व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने देखिएको छ ।

यतिमात्र होइन, शव व्यवस्थापनमा आइपर्ने कठिनाइका कारण कोरोना संक्रमित र संक्रमणको आशंकामा मृत्यु भएकाहरुको शवबाट रोग सर्ने डरले आफन्तले समेत लिन नमान्ने, लिइहाले पनि घाटसम्म नपु¥याई बाहिरै छाडिदिने जोखिम पनि बढ्नसक्छ । बेवारिसे शवले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ ।

नेपालमै पहिलोपटक कोरोना संक्रमित महिलाको मृत्यु भएपछि पनि शव उठाउन कोही तयार नभएपछि भक्तपुरको स्वयंसेवक समूहले साहस गरेको थियो ।

“यस्तो महामारीका बेला विद्युतीय शवदाहगृह बन्द गर्नु सुन्दै पनि आश्चर्य लाग्ने कुरा हो”, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा.गोविन्द टण्डन भन्छन्, “यसले त मर्दापर्दा पनि कोही नहुने सन्देश दिन खोजेको छ ।” टण्डन यहाँनेर शवदाहगृह व्यवस्थापन गर्न नसक्नुमा कोष पदाधिकारीकै दोष देख्छन् ।

विद्युतीय शवदाहगृह बन्द गरेर कोरोना संक्रमित मृतकलाई पशुपतिस्थित आर्यघाटमा पठाइए अवस्था झनै तनावपूर्ण देखिन्छ । किनकि यी घाटमा खुला बाहिरै शव जलाउनुपर्ने बाध्यता छ । यतिबेला शव जलाउनेहरुको सुरक्षाको पनि प्रश्न उठ्न सक्ने देखिन्छ ।

क्वारेन्टिनमा बसिरहेका विद्युतीय शवदाहगृहका ती कर्मचारी अब पुनः कोरोना संक्रमित मृतकको शव ल्याइए जलाउने, नजलाउने भन्ने विषयमा आफूहरु अन्योलमा रहेको बताउँछन् । “फेरि शव जलायो फेरि १४ दिन क्वारेन्टिन बस्नुपर्छ भन्लान्, यसरी त कसरी शव जलाउने ? कोषले यसबारे सोच्नुपर्छ”, उनी भन्छन् ।

विद्युतीय शवदाह यन्त्रमा सामान्यतया ३५ देखि ४० मिनेटभित्र शव जलेर भित्रैबाट अस्तु जम्मा हुन्छ । र, यसलाई कलशमा सजिलै संकलन गर्न सकिन्छ । घाटमा शवदहन गर्दा कम्तीमा रु.१० हजार खर्च हुनेमा यहाँ करीब रु. ४ हजारमै सबै काम सकिन्छ । शवदाह यन्त्रको चिम्नीबाट निस्कने धुवाँको पनि व्यवस्थापन गरिएको छ ।

‘केही दिनभित्रै सञ्चालनमा’
महामारीका वेला तुलनात्मक रुपमा सुरक्षित ठानिएको विद्युतीय शवदाहगृहलाई प्राविधिक गडबडीको बहानामा बन्द गरेपछि आलोचना खेपेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा तत्काल शवदाहगृह सञ्चालनको तयारी गरिरहेको बताउँछन् ।

शवको सतगतको जिम्मेवारीबाट कोष विमुख हुन नमिल्ने बताउँदै खतिवडा भन्छन्, “अब सामान्य शव जता जलाइए पनि कोरोना संक्रमितका शव विद्युतीय शवदाहगृहमै जलाइने गरी व्यवस्थापनको तयारी भइरहेको छ ।”

बिहीबार हिमालखबरसँग कुरा गर्दै खतिवडाले शवदाह यन्त्रमा पहिले भनिएजस्तो प्राविधिक समस्या भन्दा पनि संक्रमितको शव जलाइएपछि स्वास्थ्य सुरक्षाकै कारण शवदाहगृह बन्द गर्नुपरेको स्वीकारे । “आज, भोलि कर्मचारीको स्वाब टेष्ट गरिनेछ, रिपोर्ट आएलगत्तै शवदाहगृह सञ्चालनमा ल्याइनेछ”, उनले भने ।

शवको सतगतको जिम्मेवारीबाट कोष विमुख हुन नमिल्ने बताउँदै खतिवडा भन्छन्, “अब सामान्य शव जता जलाइए पनि कोरोना संक्रमितका शव विद्युतीय शवदाहगृहमै जलाइने गरी व्यवस्थापनको तयारी भइरहेको छ ।”

खतिवडा शवदाहगृहको व्यवस्थापनमा अन्योल उत्पन्न हुनुमा स्वास्थ्य मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पनि जिम्मेवार भएको बताउँछन्। उनको भनाइमा, स्वास्थ्य मन्त्रालयले कोभिड—१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन कार्यविधि बनाउँदा र कार्यान्वयनका क्रममा आफूहरुसँग कुनै परामर्श आवश्यक नठानेकै कारण समस्या उत्पन्न भएको छ ।

“कोरोना संक्रमित व्यक्तिको शवलाई कसरी सतगत गर्ने भन्ने बारे हामी र प्राविधिकले समयमै जानकारी पाएको भए सबैमा भय र भ्रम हुने थिएन, यो कुरामा समन्वयको अभाव खट्किएकै हो”, खतिवडा भन्छन् ।

प्रतिकृया दिनुहोस