कोभिड-१९ विहीबार, जेठ ८, २०७७

आजै थप एक जनामा पनि कोरोना संक्रमण भेटियो

हिमालखबर

आजै थप एक जनामा पनि कोरोना संक्रमण भेटियो

बिहीवार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै बिहीवार मात्रै भेटिएका संक्रमितको संख्या १० पुगेको छ भने कुल ४५४ जनामा कोरोना संक्रमण भेटिएको छ । 

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आफ्नो वेबसाइटमा संक्रमितहरूको संख्यामा यसलाई उल्लेख गरेको छ ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा संक्रमित व्यक्ति दाङकै घोराही ३ बस्ने ३७ वर्षीय पुरुष रहेको जानकारी दिइएको छ । उनी सम्बन्धित सरकारी निकायको सम्पर्कमा रहेको समेत प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

प्रतिष्ठानमा हालसम्म १ हजार ५४ जनाको परीक्षण भएकोमा २ सय ९० जनाको रिपोर्ट आउन बाँकी छ भने रिपोर्ट आएका ७ सय ६४ मध्ये तीन जनाको पोजेटिभ आएको जनाइएको छ ।

यस अघि आजै झापामा आठ र रुपन्देहीमा एक संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत् ९ जना संक्रमित थपिएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार, कचनाकवल गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको हो ।

क्वारेन्टिनमा बसेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीयमा संक्रमण देखिएको थियो । यस्तै, रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले महामारीबाट गुल्मीका संक्रमित शिक्षकको मृत्यु भएको पनि पुष्टि गरेको छ । उपचारत संक्रमितको बिहीबार बिहान मृत्यु भएको थियो ।

योसँगै, महामारीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मन्त्रालयले बिहीबार दिउँसोसम्म ३८ हजार ७३६ जनाको पीसीआर बिधिबाट परीक्षण भएको जनाएको छ । त्यस मध्ये ४५४ जनामा संक्रमित देखिएको छ ।

निको भएर घर फर्कनेको संख्या पनि बढेको छ । मन्त्रालयले बिहीबारसम्म ४९ जना संक्रमित निको भएर फर्किएको जनाएको छ । बिहीबार मात्रै टेकु अस्पतालमा चार जना फर्किएका छन् । 

क्वारेन्टिनमा बस्नेहरुको संख्या २५ हजार नाघेको छ भने आइसोलेसनमा बस्नेको संख्या ४०१ पुगेको छ । आरटिडी परीक्षण गरिएको संख्या ७८ हजार पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस