भारतको एउटा टेलिभिजनले त मनिषालाई 'भारतको नुन खाएर चीनको गुनगान गाएको' भन्नेजस्ता निम्नस्तरका प्रतिक्रिया जनाएको थियो ।
मन्त्रिपरिषद्को वैठकबाट लिम्पियाधुरा सहितको भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय सार्वजनिक गर्न परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गरेको ट्विटलाई उद्धृत गर्दै मनिषाले नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् ।
‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नु भएकोमा धन्यवाद । हामी सबै अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको प्रतीक्षा गरिरहेका छौं’, उनले ट्विटमा भनेकी छन् ।
भारतीय सञ्चार माध्यमहरूले तीन राष्ट्र भनेर चीनलाई बीचमा ल्याएको र चीनको गुनगान गाएको भन्दै मनिषालाई भारतमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन्।
ट्वीटरको ट्रेन्डिङको एक नम्बरमा ‘आइएम विथ मनिषा कोइराला’ छ भने सँगै ‘ब्याक अफ इन्डियन मिडिया' र 'कालापनि बिलोंग्स टु नेपाल’ पनि नेपालको ट्वीटरमा ट्रेन्डिङमा छन् ।
त्यसपछि बुधवार भारतीय टेलिभिजन च्यान रिपब्लिकमा अन्तर्वार्ता दिँदा नेपालको तर्फबाट कडा तर्क प्रस्तुत गरेको भन्दै नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालको पनि व्यापक प्रशंसा भइरहेको छ ।