झापामा थपिए ८ संक्रमित, संक्रमित संख्या ४५३ पुग्यो
झापामा आठ र रुपन्देहीमा एक संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या ४५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत् ९ जना संक्रमित थपिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार, कचनाकवल गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको हो ।
क्वारेन्टिनमा बसेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीयमा संक्रमण देखिएको छ । यस्तै, रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले महामारीबाट गुल्मीका संक्रमित शिक्षकको मृत्यु भएको पनि पुष्टि गरेको छ । उपचारत संक्रमितको बिहीबार बिहान मृत्यु भएको थियो ।
योसँगै, महामारीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मन्त्रालयले बिहीबार दिउँसोसम्म ३८ हजार ७३६ जनाको पीसीआर बिधिबाट परीक्षण भएको जनाएको छ । त्यस मध्ये ४५३ जनामा संक्रमित देखिएको छ ।
निको भएर घर फर्कनेको संख्या पनि बढेको छ । मन्त्रालयले बिहीबारसम्म ४९ जना संक्रमित निको भएर फर्किएको जनाएको छ । बिहीबार मात्रै टेकु अस्पतालमा चार जना फर्किएका छन् ।
क्वारेन्टिनमा बस्नेहरुको संख्या २५ हजार नाघेको छ भने आइसोलेसनमा बस्नेको संख्या ४०१ पुगेको छ । आरटिडी परीक्षण गरिएको संख्या ७८ हजार पुगेको मन्त्रालयले जनाएको छ ।