गुल्मीका संक्रमित शिक्षकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, मृतक संख्या तीन पुग्यो
गुल्मी मदाने गाउँपालिका–६, का कोभिड संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
दिउँसो चार बजे हुने नियमित पत्रकार सम्मेलनमा संक्रमितको मृत्यु भएको जानकारी दिने तयारी भएको छ । मन्त्रालय स्रोतका अनुसार, संक्रमित ४१ वर्षीय पुरुषको बिहीबार बिहान ७ः१० बजे मृत्यु भएको हो ।
टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहेका उनको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो ।
सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत् अवस्था गम्भीर रहेको जानकारी गराएको थियो । बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्यावस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
मदानेबासीका अनुसार, बन्दाबन्दीमा पनि धेरै हिँडडुल गरेका कारण ती पुरुषमा संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । गएको ४ वैशाखमा मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा ती संक्रमित सहभागी भएका थिए ।
२९ वैशाखमा धुर्कोट गाउँपालिका–७ वाग्लास्थित मानचौर तालमा घुम्न गएका थिए । २८ वैशाख देखि टाउको ज्वरो आउने समस्या भएपछि उनलाई पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचार गरिएको थियो ।
दुई दिनसम्म औषधि खाई आराम गरेर ३१ वैशाखमा पुनःक्लिनिकमा रगत जाँचका लागि गएका ती संक्रमितमा कमलपित्तमा समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो ।
१ जेठमा एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा लगिएका उनीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती संक्रमित शिक्षक भएकाे प्रदेश सरकारले जनाएकाे छ ।
यो सँगै, कोभिड महामारीबाट नेपालमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने संक्रमित संख्या ४४४ पुगेको छ ।