हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय
कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले जेठ मसान्तसम्म नै हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। यसअघि १८ जेठसम्म बन्द गरिएको आन्तरिक र अन्तर्राष्ट्रिय उडान अब जेठ महीनाभर बन्द हुने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार जारी गरेको सूचना अनुसार सबै वायुसेवाको उडान बन्दको समय ३२ जेठसम्म बढाइएको छ।
बुधबार बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जेठ मसान्तसम्म उडान बन्द गर्न गरेको सिफारिश अनुसार प्राधिकरणले सबै वायुसेवालाई परिपत्र गरेको छ।
व्यावसायिक उडान बन्द भए पनि आकस्मिक तथा उद्धार प्रयोजनका र अनुमति लिएर गरिने चार्टर उडान भने हुने प्राधिकरणले जनाएको छ।