राैतहटमा दुई व्यक्ति रु. १० लाख र माेटरसाइकल छाडेर भाग्न सफल
रौतहट प्रहरीले बिहीबार बिहान रु. १० लाख बरामद गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाबाट माेटरसाइकलमा आउने दुई व्यक्तिसँग सो रकम बरामद भएको हो ।
बन्दाबन्दीको समयमा एउटै मोटरसाइकलमा आएकालाई प्रहरीले सोधखोज गर्न रोकेपछि भागेका थिए । भागेपछि प्रहरीले लखेट्दा दुवै जनाले पैसा र मोटरसाइकल छाडेर भागेका थिए ।
ईशनाथ नगरपालिका ९ डुमरिया नहरमा प्रहरीले पिछा गरेपछि शुरुमा उनीहरुले कपडाको पहेंलो झोला प्रहरीतिर फाले । लगत्तै दुवै जनाले मोटरसाइकल पनि छाडेर खेतैखेत दौडेर गाउँतिर भाग्न सफल भएका थिए ।
झोला चेकजाँच गर्दा रु १० दश लाख १० हजार पाइएकाे प्रहरीले जनाएको छ । फरार दुवैजनाले छाडेको ना ५४ प २११६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
फरार दुवैजनाको खोजी भइरहेको र घटनाबारे अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सञ्जय मित्र, रौतहट