समाचार विहीबार, जेठ ८, २०७७

कोभिड–१९ को संक्रमण लामो समय जाने डब्लूएचओको चेतावनी, संक्रमण दर बढ्यो

हिमालखबर

कोभिड–१९ को संक्रमण लामो समय जाने डब्लूएचओको चेतावनी, संक्रमण दर बढ्यो
ब्राजिलको एक सामूहिक चिहानमा उभिएका मृतकका आफन्त । तस्वीरः गेट्टी इमेजेज

विश्व स्वास्थ्य संंगठन (डब्लूएचओ) ले गत मंगलबार विश्वभर एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको तथ्य सार्वजनिक गरेको छ ।

डब्लूएचओ महानिर्देशक डा. टेड्रोस अधनोम घब्रेयेससले मंगलबार मात्र एक लाख ६ हजार जना नयाँ संक्रमित फेला परेको बताएका छन् । तीमध्ये दुई तिहाइ संक्रमित चार देश अमेरिका, रुस, ब्राजिल र भारतमा भेटिएको उनले जानकारी दिएका छन् ।

यी देशमा संक्रमण फैलिने दर पनि बढेको छ । अमेरिकामा अहिलेसम्म करीब १५ लाख ९२ हजार, रुसमा तीन लाख नौ हजार र ब्राजिलमा दुई लाख ९३ हजार संक्रमित छन् ।

डब्लुएचओ महानिर्देशक डा. टेड्रोस अधनोम घब्रेयेसस

अहिले रुस र ब्राजिल विश्वमा बढी संक्रमित भेटिने दोस्रो र तेस्रो देश बनेका छन् । यी देशमा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । अमेरिकामा त मृत्यु हुनेको संख्या नै ९५ हजार पुगिसकेको छ ।

यता भारतमा एक लाख १२ हजार संक्रमित छन् । यहाँ पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतले लामो दूरीका रेल खोलेपछि संक्रमण फैलने दर झनै बढेको हो । यसैबीच १ जूनदेखि थप २०० वटा रेल सञ्चालन हुँदैछन् । त्यसका लागि आज (२१ मे) १० बजेबाट टिकट बुकिङ खुल्दैछ ।

यसबाहेक न्यून र मध्यम आय भएका देशमा पनि संक्रमण फैलिरहेको महानिर्देशक अधनोमले उल्लेख गरेका छन् । विज्ञहरुले कतिपय देशमा कम संख्यामा गरिएको स्वाब परीक्षणका कारण संक्रमित कम देखिएको हुन सक्ने बताएका छन् । त्यस्ता देशमा परिस्थिति भयाभह हुनसक्ने पनि बताइएको छ ।

डा. अधनोमले संक्रमित बढिरहेकाले कोरोनाभाइरसको महामारी लामो समय जाने चेतावनी पनि दिएका छन् । विश्वभर कुल संक्रमितको संख्या ५० लाख नाघेकै दिन उनले यस्तो चेतावनी दिएका हुन् ।

डब्लूएचओले कोरोनाभाइरससँग जोगिने उपाय बन्दाबन्दी र धेरैभन्दा धेरै परीक्षण नै रहेको जनाएको छ । तर, अमेरिका लगायत युरोपियन देशहरु र भारतमा बन्दाबन्दी खुकुलो बनाउन थालिएको छ ।

प्रतिकृया दिनुहोस