पूर्वी र मध्य नेपालमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह
बंगालको खाडीमा विकास भएको अंपुन चक्रवातको प्रभावका कारण हुने वर्षाले पूर्व तथा मध्य नेपालका खोलामा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कताका अपनाउन आग्रह गरेको छ।
विभागले विज्ञप्ति जारी गर्दै प्रदेश नम्बर १ का हिमाली तथा पहाडी जिल्लामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कताका लागि आग्रह गरेको हो।
त्यसैगरी प्रदेश नम्बर २ का सप्तरी, सिरहाका ससाना खोला तथा कन्काई, कोशी र ती नदीका सहायक खोलाहरुमा जलसतह बढ्न सक्ने विभागले जनाएको छ । विभागकी प्रवक्ता अर्चना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नदी तटीय क्षेत्रमा हुने गतिविधिमा सावधानी अपनाउन आग्रह गरिएको छ।
अंपुन नामको उक्त चक्रवातको प्रत्यक्ष असर नेपालमा नपरे पनि त्यसले हिंजोदेखि नै मौसम प्रभावित भएको छ । खासगरी प्रदेश नम्बर १ र २ का साथै गण्डकी र प्रदेश नम्बर ५ का केही जिल्लाहरुमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । यसको प्रभाव ३ दिनसम्म रहने विभागले जानकारी दिएको छ।