थप समाचार मंगलबार, जेठ ६, २०७७

बन्दाबन्दी हटाउन पाकिस्तानको सर्वोच्च अदालतको आदेश

हिमालखबर

बन्दाबन्दी हटाउन पाकिस्तानको सर्वोच्च अदालतको आदेश
पाकिस्तानको एक सपिङ मलमा प्रवेश गर्नुअघि ज्वरो नापिंदै ।

पाकिस्तानको सर्वोच्च अदालतले देशमा कोरोनाभाइरसको महामारी अब नरहेको बताउँदै लकडाउन (बन्दाबन्दी) हटाउन आदेश दिएको छ।

सोमबार यससम्बन्धी एक मुद्दामा सुनुवाइ गर्दै अदालतले कोरोना संक्रमणका कारण लगाइएको प्रतिबन्ध हटाएर व्यापार-व्यवसाय खुलाउन आदेश जारी गरेको हो।

अदालतको आदेशमा स्वास्थ्य अधिकारीहरुबाट आपत्ति नभए सपिङ मल खोल्नुपर्ने र बजारमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने उल्लेख छ।

अदालतले कोरोना महामारी विरुद्धको लडाइँमा ठूलो रकम खर्च गर्नुको कारण पनि सोधेको छ।

अदालतले महामारी नरहेको बताए पनि पाकिस्तानमा हालसम्म संक्रमितको संख्या ४४ हजार पुगिसकेको छ। त्यसमध्ये साढे १२ हजार निको भएका छन् भने साढे ३० हजार संक्रमितको उपचार चलिरहेको छ।

पछिल्लो समय मात्रै १ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। पाकिस्तानमा कोरोनामा हालसम्म ९ सय ३९ जनाको मृत्यु भएको छ। - एजेन्सी

प्रतिकृया दिनुहोस