थप समाचार सोमबार, जेठ ५, २०७७

मापदण्ड अनुरुप क्वारेन्टिन सञ्चालन गर्न राष्ट्रिय मानव अधिकार आयोगकाे आग्रह

हिमालखबर

मापदण्ड अनुरुप क्वारेन्टिन सञ्चालन गर्न राष्ट्रिय मानव अधिकार आयोगकाे आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आग्रह गरेको छ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले साेमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश तथा स्थानीय तहसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन आयोग आग्रह गरिएको छ ।

प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पताललाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै सङ्क्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

विश्व स्वास्थ सङ्गठनको क्वारेन्टिन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, सङ्क्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायको कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ ।

व्यवस्थित हुन नसक्दा सम्भावित सङ्क्रमित क्वारेन्टिनमा बस्न नचाहने र बसिरहेका पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा सङ्क्रामक रोग अझ बढी फैलिने देखिन्छ ।

नेपालमा फैलिरहेको कोभिड–१९ को असर र त्यसको कारणबाट नेपालमा एक सुत्केरी महिलासहित दुई जनाको निधनप्रति आयोगले समवेदना प्रकट गरेको छ । कोभिड–१९ को कारणबाट मृत्यु हुनेको प्रत्येक परिवारलाई उचित राहत उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।



प्रतिकृया दिनुहोस