थप समाचार सोमबार, जेठ ५, २०७७

माधवनारायण नगरपालिकाद्वारा रौतहटका सञ्चारकर्मीको कोरोना बीमा

हिमालखबर

माधवनारायण नगरपालिकाद्वारा रौतहटका सञ्चारकर्मीको कोरोना बीमा

रौतहटका सबै क्रियाशील सञ्चारकर्मीहरुको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य रहेका तथा सदस्य नरहे पनि जिल्लामा सक्रिय पत्रकारितामा रहेकाहरु समेतको गरी ८५ जनाको कोरोना बीमा गरिएको हो ।

कोरोनाको जोखिम बढ्दै गएको र सञ्चारकर्मीमा पनि कोरोनाको संक्रमण देखा परिसकेको अवस्थामा कोरोना बीमाका लागि महासंघले पहल थालेको थियो । महासंघको आग्रहमा माधवनारायण नगरपालिकाले सञ्चारकर्मीहरुको बीमा गरिदिएको हो ।

माधवनारायण नपाका मेयर वीरेन्द्र राय यादवले शाखाका सचिव गौतम श्रेष्ठलाई बीमा वापतको चेक हस्तान्तरण गरेका छन् । बीमित सञ्चारकर्मीमा कोरोनाको संक्रमण देखिएमा संक्रमित सञ्चारकर्मीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले रु. एकलाख प्रदान गर्ने सचिव श्रेष्ठले जानकारी गराएका छन् ।

चेक हस्तान्तरण गर्दै मेयर यादवले बीमा गरिएको भए पनि सम्पूर्ण सावधानी अपनाई सुरक्षित रहेर सामाजिक दूरी कायम गर्दै अन्य समुदायका लागि उदाहरण बनेर सञ्चारकर्मीले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

महासंघको रौतहट शाखाले सबै सञ्चारकर्मीका लागि सहयोग मागेकाले आफूले स्वीकार गरेको मेयर यादवले स्पष्ट पारेका छन् ।

जिल्लाका ८५ सञ्चारकर्मीको कोरोना बीमा वापत ५१ हजार रुपैयाँको चेक इन्स्योरेन्स कम्पनीको नाममा हस्तान्तरण गरेकोमा सचिव श्रेष्ठले धन्यवाद दिएका छन् ।

सचिव श्रेष्ठले कोरोना बीमा गरियो भन्दैमा कुनै लापरवाही नअपनाउन पनि सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस