रिपोर्ट सोमबार, जेठ ५, २०७७

नौ महीनाकी गर्भवतीको पिरलो : श्रीमान् भारतमा छट्पटाइरहेका छन्, म यता

हिमालखबर

नौ महीनाकी गर्भवतीको पिरलो : श्रीमान् भारतमा छट्पटाइरहेका छन्, म यता

– उन्नती चौधरी, कैलाली

कैलालीको जोशीपुर गाउँपालिका-३ रामनगरस्थित मुक्त कमैया शिविरकी २३ वर्षीया रञ्जना डगौरा एक-दुई दिनमै आमा बन्दैछिन्। तर, नौ महीना कोखमा बोकेको बच्चा जन्मिन लाग्दा पनि उनमा उत्साहभन्दा अत्यास र बेचैनी छ।

उनलाई डाक्टरले सुत्केरी हुन तोकेको समय ५ जेठ (आज) हो। घरमा दुई छोरी छन्। मजदूरी गर्न भारत गएका श्रीमान् बन्दाबन्दीले उतै फसेका छन्। यो स्थितिमा उनी के गरुँ कसो गरुँको दोसाँधमा छिन्।

लकडाउनको वेला एक त श्रीमान् साथमा छैनन्, अर्कातिर कोरोना संक्रमणको जोखिमबीच कसरी सुरक्षित रुपमा सुत्केरी हुने पिरलो छ। रञ्जना भन्छिन्, "बच्चा जन्माउन अस्पताल जाँदा कोरोनाको डर, घरमै बच्चा जन्माउँदा केही हुने हो कि भन्ने अर्को डर छ।" कोरोनाभाइरसबाट नेपालमा पहिलो मृत्यु सुत्केरीकै भएकाले अस्पताल जान डर लागेको उनी बताउँछिन्।

गएको माघमा समुद्रमा माछा मार्ने काम गर्ने गरी उनका श्रीमान् भारत गएका थिए। सुत्केरी हुने समय अगावै वैशाखमै आउँछु भने पनि दुवै देशको बन्दाबन्दीले अड्किए। उनी सुनाउँछिन्, "श्रीमान् उता छट्पटाइरहेका छन्, म यता।"

कमाउन गएका श्रीमान् नै उतै अलपत्र परेपछि रञ्जनासँग हातमा पैसा पनि छैन। गर्भवती भएको वेला पौष्टिक खानेकुरा खानुपर्छ भन्ने उनलाई थाहा छ, तर साँझ-बिहान दुई छाक जोहो गर्नै ऋण गर्नुपरेको उनको व्यथा छ। "अस्ति घरमा चामल सकियो, माइती पक्षलाई खाद्यान्न सकियो भन्दा समूहबाट ५ हजार ऋण निकालेर खाद्यान्न किन्दिएका छन्", उनी सुनाउँछिन्।

कमाउन गएका श्रीमान् नै उतै अलपत्र परेपछि रञ्जनासँग हातमा पैसा पनि छैन। गर्भवती भएको वेला पौष्टिक खानेकुरा खानुपर्छ भन्ने उनलाई थाहा छ, तर साँझ-बिहान दुई छाक जोहो गर्नै ऋण गर्नुपरेको उनको व्यथा छ।

जे-जस्तो रुखोसुखो पाए पनि दुई छोरीसहित आफ्नो पेट भर्नु नै आफ्नो लागि ठूलो कुरा भएको उनको भनाइ छ। दुई छोरीपछि छोराकै आशमा उनी तेस्रो पटक आमा बन्न लागेकी हुन्।

रञ्जना जस्तै पीडा छ, मुक्त कमैया शिविरमै बस्ने ३५ वर्षीया सीता डगौराको। उनी पनि छोरा जन्माउने आशामा गएको चैत अन्तिम साता तेस्रो छोरीकी आमा बनिन्। कामको लागि भारत गएका उनका श्रीमान् पनि बन्दाबन्दीले उतै अड्किएका छन्।

भर्खरकी सुत्केरी, कमाइ गर्ने श्रीमान् नहुँदा उनले कुन दुःखले खाद्यान्न जोहो गरिन् होला ? यसबारे सोध्दा उनका आँखा रसाए। सुत्केरीका वेला खानुपर्ने पौष्टिक खानेकुरा खान होइन, हेर्न समेत नपाएको बताइन्।

धन्न सीतालाई छाक टार्ने समस्याले भने घेरेन। गाउँकै महिलाहरु मिलेर समूह बनाएकाले केही सजिलो भएको उनी बताउँछिन्। "बन्दाबन्दी हुनुभन्दा केही अघि मात्रै समूह बनाएका थियौं, अहिले अप्ठ्यारो परेको वेला त्यही समूहबाट ऋण लिएर काम चलाएको छु", उनले भनिन्।

१८ वर्षीया चन्द्रिका डगौरा थारुको काखमा दुई महीनाको छोरा छ। बन्दाबन्दीकै अवधिमा शल्यक्रिया गरी बच्चा जन्मिएको हो। यस अवधिमा रु.२५ हजार ऋण लिइसकेको उनले बताइन्।

कोरोनाको जोखिमका वेला बच्चा जन्माउँदा सजाय भोगे जस्तै भएको उनले दु:खेसो पोखिन्। सुत्केरी हुन अस्पताल जाँदा नर्सहरुले वास्ता नै गरेनन्। बेडमा पल्टिएकी उनी चिच्याइन्-कराइन्, स्वास्थ्यकर्मीको रेखदेखविना नै बच्चा जन्मियो। "दु:ख कति पाएँ कति, कसरी भन्नु?", उनलाई त्यो समय सपना जस्तै लाग्छ।

उनले आफ्नो सुत्केरी अवस्था पनि दाल-भातको जोहोमै बितेको सुनाइन्। "दाल-भात जुटाउनै धौधौ थियो, अरु खानेकुरा कहाँ पाउनु?", उनले भनिन्।

मुक्त कमैया शिविरका गर्भवती र सुत्केरीहरुको यस्तो अवस्था थाहा पाएपछि कमैया प्रथा उन्मूलन समाजले पौष्टिक खानेकुरा वितरण गरेको छ। शिविरमा रहेका सुत्केरी र गर्भवतीहरुको तथ्यांक संकलन गरी पोषिला खानेकुरा वितरण गरेको समाजकी अध्यक्ष वसन्ती चौधरीले बताइन्। "शिविरमा रहेका १८ जना सुत्केरी तथा गर्भवतीलाई सहयोग गरेका हौं", उनले भनिन्।

मुक्त कमैया शिविरका गर्भवती र सुत्केरीलाई कमैया प्रथा उन्मूलन समाजले पौष्टिक खानेकुरा वितरण गर्दै ।

बन्दाबन्दीका वेला सुत्केरी भएका र सुत्केरी हुने वेला भएका महिलालाई पोषिलो गेडागुडी, हर्लिक्स तथा चामल गरी १७ किलोका दरले उपलब्ध गराएको उनले जानकारी दिइन्। बढी समस्यामा रहेका समुदायका गर्भवती र सुत्केरीहरुलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने चौधरी बताउँछिन्।

"यसका साथै अस्पतालमा सुरक्षा मापदण्ड पालना गरेर गर्भवती र सुत्केरीलाई उचित व्यवहार गरिनुपर्छ", उनी भन्छिन्।

प्रतिकृया दिनुहोस