थप समाचार सोमबार, जेठ ५, २०७७

ब्राजिलमा कोरोना संक्रमण भयाभह, स्पेन र इटालीमा भन्दा धेरै उपचाररत संक्रमित

हिमालखबर

ब्राजिलमा कोरोना संक्रमण भयाभह, स्पेन र इटालीमा भन्दा धेरै उपचाररत संक्रमित

ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या द्रुत गतिमा बढेको छ। पछिल्लो २४ घन्टामा त्यहाँ १४ हजारभन्दा बढी संक्रमित भेटिएपछि ब्राजिल विश्वमै धेरै संक्रमित हुने चौथो देश भएको बीबीसीले जनाएको छ।

ब्राजिलमा उपचाररत संक्रमित एक लाख ३० हजारभन्दा बढी छन्। कुल संक्रमितको संख्या दुई लाख ४१ हजारभन्दा बढी पुगेका छन्। अहिलेसम्म १६ हजार ११८ जनाको मृत्यु भएको छ।

त्यहाँ परीक्षण कम मात्र गरिएका कारण संक्रमितको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले बताएका छन्। अस्पताल पुगेका वा मृत्यु भएकाको मात्र परीक्षण भइरहेको उनीहरुको भनाइ छ।

राजधानी साउ पाउलो सबैभन्दा बढी आक्रान्त छ। त्यहाँका अस्पतालका ९० प्रतिशतभन्दा बढी बेड भरिएकाले समस्या नजिकै रहेको मेयर ब्रुनो कोभासले बताएका छन्। उनले देशको स्वास्थ्य प्रणाली नै क्वस्त हुनसक्ने चेतावनी दिएका छन्। कोभासले राज्यका गर्भनरलाई बन्दाबन्दी कडा गर्न आग्रह गरेका छन्।

ब्राजिलमा भन्दा बढी अमेरिका, रुस र बेलायतमा उपचाररत संक्रमित छन्। अमेरिकामा करीब ११ लाख, रुसमा दुई लाख ११ हजार उपचाररत संक्रमित छन्।

बेलायतमा उपचाररत संक्रमितको संख्या सार्वजनिक गरिएको छैन। यी चारबाहेक अन्य देशमा उपचाररत संक्रमित एक लाखभन्दा कम छन्। कुनै समय उपचाररत संक्रमित एक लाखभन्दा बढी भएका जर्मन, फ्रान्स, इटाली र स्पेनले भाइरस नियन्त्रणमा सफलता हासिल गर्दै गएका छन्।

फ्रान्समा अझै ९० हजार उपचाररत छन्। तर, जर्मनीमा करीब १५ हजार मात्र उपचाररत छन्। इटालीमा ६८ हजार र स्पेनमा ५४ हजार उपचाररत छन्।

 

प्रतिकृया दिनुहोस