समाचार आइतबार, जेठ ४, २०७७

भारतसँग सीमा जोडिएका स्थानीय तहमा क्वारेन्टिन स्थापना गरिने

हिमालखबर

भारतसँग सीमा जोडिएका स्थानीय तहमा क्वारेन्टिन स्थापना गरिने

भारतसँग सीमा जोडिएका प्रदेश-५ अन्तर्गका स्थानीय तहमा एक हजार बेडको क्वारेन्टिन स्थल स्थापना गरिने भएको छ।

भारतबाट नेपालीहरु आउने क्रम बढेपछि उनीहरुलाई राख्न प्रदेश-५ सरकारको कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको हो। भारतसँग सीमा जोडिएका र अहिलेसम्म क्वारेन्टिन स्थापना नगरिएका स्थानीय तहमा यस्तो व्यवस्था गर्न लागिएको हो।

प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबै स्थानीय तहले भारतबाट आफ्नो क्षेत्रमा आउन सक्ने व्यक्तिहरुको आकलन गरी क्वारेन्टिनमा अनिवार्य राख्न आवश्यक पूर्वतयारी गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, कोभिड-१९ को प्रभाव बढी देखिएका जिल्लाहरुका स्थानीय तहमा परीक्षणको दायरा बढाउने र संक्रमितहरुसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्ने निर्णय पनि गरिएको छ।

प्रदेश-५ सरकारले बुटवलस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) को भवन र कोरिया-नेपाल इन्स्टिच्यूट अफ टेक्नोलोजीको भवनलाई आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्ने भएको छ। 

बैठकले सार्वजनिक निर्माण कार्यलाई अघि बढाउन जिल्लाभित्र सम्बन्धित सवारी तथा ढुवानीका साधनलाई आवश्यकता अनुसार संचालनको व्यवस्था मिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

प्रतिकृया दिनुहोस