समाचार आइतबार, जेठ ४, २०७७

कोरोनाभाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, १९ देशका नेपाली संक्रमित

हिमालखबर

कोरोनाभाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, १९ देशका नेपाली संक्रमित
null

कोरोनाभाइरसबाट विश्वभरमा अहिलेसम्म ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीको मृत्यु भएको छ । ११ देशमा रहेका ती नेपालीले ज्यान गुमाएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १५ नेपालीले ज्यान गुमाएका छन् ।

त्यस्तै युएईमा नौ र साउदी अरबमा दुई नेपालीको मृत्यु भएको छ । आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र नेपाल प्रत्येक देशमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले जानकारी दिएका छन् ।

कोरोनाभाइरसका कारणले यो साता मात्र नेपालमा एक जनासहित १८ जनाले ज्यान गुमाए । सो साता बेलायतमा १२, युएईमा तीन, साउदी अरबमा दुई र नेपालमा एक जनाको मृत्यु भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार सात सय ८१ गैरआवासीय नेपाली कोरोनाभाइरसबाट संक्रमित छन् । अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । १९ देशमा रहेका नेपालीहरु कोरोनाभाइरसबाट संक्रमित छन् ।

प्रतिकृया दिनुहोस