थप समाचार शनिबार, जेठ ३, २०७७

रौतहटका सञ्चारकर्मीलाई विभिन्न संघसंस्थाको सहयोग

हिमालखबर

रौतहटका सञ्चारकर्मीलाई विभिन्न संघसंस्थाको सहयोग

कोरोनाले विश्व प्रभावित भइरहेको समयमा रौतहटका सञ्चारकर्मीलाई जोखिम न्यूनीकरणका लागि विभिन्न संघसंस्थाले सहयोग उपलब्ध गराएका छन् ।

शनिबार रौतहटको देवाही गोनाही नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहट शाखालाई ७० थान भेस्ट, हस्तान्तरण गरेको छ । शाखाको गौरस्थित कार्यालयमा मेयर धर्मेन्द्र पटेलले भेस्ट उपलब्ध गराएका हुन् ।

गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले शाखाको कार्यालयमै आएर एक सय थान विन चिटर प्रदान गरेका छन् ।

रौतहटका सञ्चारकर्मीलाई सहयोग गर्ने क्रममा शुक्रबार ग्रामीण विकास केन्द्र (आरडीसी) रौतहटका अध्यक्ष पारस हुसेनले शाखाको गौरस्थित कार्यालयमा प्रेस ज्याकेट उपलब्ध गराएका थिए ।

जिल्लाभरका सञ्चारकर्मीले एकै किसिमको ज्याकेट लगाएर काम गर्न सजिलो हुने वातावरण मिलाउन आरडीसीले प्रेस लेखिएको ज्याकेट उपलब्ध गराएको हुसेनले बताएका थिए । आरडीसीले मास्क, सेनेटाइजर तथा ग्लोभ्स पनि शाखालाई उपलब्ध गराइसकेको छ ।

कोरोनाको जोखिमको समयमा सञ्चारकर्मीले अत्यन्त जोखिम मोलेर जनतालाई सुसूचित गराउने काममा खटिरहेको भन्दै प्रदेश २ का कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले गत हप्ता २० थान पीपीई, ग्लोभ्स, मास्क तथा सेनेटाइजर उपलब्ध गराएका थिए।

यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश अध्यक्ष तथा संघीय सांसद प्रभु साहले जिल्लाका क्रियाशील सञ्चारकर्मीलाई मास्क, सेनेटाइजर र ग्लोभ्स उपलब्ध गराएका थिए ।

गढीमाई नगरपालिका र गौरीशंकर यादव फाउन्डेसनले रौतहटका सञ्चारकर्मीहरुलाई मोबाइलमा नगद ब्यालेन्स उपलब्ध गराएका थिए । गढीमाई नपाले बज्जिका पत्रकार समाज रौतहटलाई सेनेटाइजर, ग्लोभ्स र मास्क उपलब्ध गराएको थियो ।

अन्य संघसंस्थाहरुबाट पनि सञ्चारकर्मीलाई सकारात्मक सहयोग प्राप्त भइरहेको तर यस संकटको समयमा हरेकले सकेसम्म घरमै बसेर र बाहिर निस्कनु परे पूर्णतया सतर्कता अपनाएर समाचार संकलन गर्न शाखाका सचिव गौतम श्रेष्ठले रौतहटका सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

रौतहटको सञ्चारप्रति जिल्लाबासीको विश्वास रहेको र यसलाई कायम राख्नुपर्ने चुनौती पनि रहेको सचिव श्रेष्ठको भनाइ छ ।

सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस