संशोधन प्रस्ताव प्रमुख तीन दलको सहमतिमा आउनुपर्छः गच्छदार
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधनको प्रस्ताव प्रमुख तीन दलको सहमतिमा आउनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा ९ मंसिरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताए ।
अध्यक्ष गच्छदारले भने, “मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेको अवस्थामा संविधान संशोधनको प्रस्तावमा विरोधाभाष देखिएको हो ।”
मुलुकको अवस्था तरल बन्दै गएको र मुलुक मुठभेडको अवस्थामा पनि जान सक्ने भएकाले ठूला दलका नेतालाई पार्टी र सत्ताको स्वार्थबाट माथि उठेर राष्ट्रिय हितमा अग्रसर हुनुपर्ने गच्छदारको भनाई छ ।
अध्यक्ष गच्छदारले विवादित जिल्लाको समस्या आयोगको माध्यमबाट समाधान गर्नु उचित नहुने बताए । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनता कुन प्रदेशमा बस्न चाहेको विषयमा जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्नेमा उनको जोड थियो । उनले कैलाली कञ्चनपुर जिल्लाका साथै पाल्पा, प्युठान, रोल्पा र गुल्मीका जनताको पनि अभिमत लिनुपर्ने आयश्यकता औँल्याए ।
अध्यक्ष गच्छदारले मधेसको ‘एक इन्च जमिन’ पनि पहाडी प्रदेशमा मिसाउन नदिने भनेर मधेसी मोर्चाले आन्दोलन गर्ने र सो आन्दोलनमा शहादत भएका ६० जनालाई बिर्सेर बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सहमति गर्नेजस्ता कार्य मोर्चाले गरेको आरोप लगाए।रासस