ब्लग शुक्रबार, जेठ २, २०७७

महामारीपछि पनि ‘अनलाइन शिक्षा’

हिमालखबर

महामारीपछि पनि ‘अनलाइन शिक्षा’

महामारी सकिएला तर हामीले आज थालेको अनलाइन कक्षाको अभ्यास छाड्नुहुन्न । अनलाइन र भौतिक दुवै कक्षालाई मिश्रण गर्दै डिजिटल नेपालको अवधारणा अघि बढाउनुपर्छ ।

तारा गैरे

कोरोनाभाइरस संक्रमण कम गर्न सरकारले बन्दाबन्दी गरेपछि यतिवेला विद्यालय, विश्वविद्यालय, कलेजहरूले न पठनपाठन न परीक्षाको नतिजा नै सार्वजनिक गर्न पाएका छन् । विकल्पमा कतिपय शैक्षिक संस्थानहरूले अनलाइन मार्फत शिक्षण र सिकाइको वैकल्पिक विधिका प्रयास पनि थालेका छन् । अनलाइन शिक्षा केहीका लागि छलफलकै चरणमा छ भने केहीले अभ्यास पनि थालिसकेका छन् ।

के कोभिड–१९ को महामारीमा अनलाइन शिक्षा प्रभावकारी हुन सक्छ ? के हाम्रा शैक्षिक संस्थाहरूसँग सफलतापूर्वक अनलाइन शिक्षा सञ्चालन गर्ने स्रोतहरू छन् ? यस्ता प्रश्नहरु बारे पनि बहस भइरहेका छन् ।

इमानदारीपूर्वक भन्नुपर्दा, धेरैजसो स्कूल र कलेजहरू अनलाइन शिक्षाका लागि तयार छैनन् । त्यसो त माइक्रोसफ्टले मुलुकका २५ सयभन्दा बढी शैक्षिक संस्थालाई अनलाइन शिक्षा संसाधन प्रदान गरेको छ । नेपाल खुला विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय जस्ता केही विश्वविद्यालयहरू अनलाइन शिक्षा सञ्चालनमा सफल पनि छन्, जसले बन्दाबन्दी पहिले नै अनलाइन संसाधनहरू र कोर्स मोड्युलहरू तयार पार्न थालेका थिए । अन्यको हकमा अनलाइन कक्षाको कुनै तयारी थिएन भन्दा फरक पर्दैन । तर, मनन गर्नुपर्ने कुरा के हो भने यो संकटमा हामीसँग विद्यार्थीसँग जोडिन अनलाइन कक्षाको विकल्प हामीसँग छैन ।

नयाँ सामान्य
महामारीपछिको अनलाइन कक्षा हाम्रा लागि नयाँ ‘शिफ्ट’ हो, एक हिसाबमा न्यू नर्मल (नयाँ सामान्य) हो । कोभिड–१९ मा हामीले सामाजिक दूरी कायम गर्न आवश्यक छ । बन्दाबन्दी खोलिए पनि तत्काल पहिलेजस्तै कक्षा सञ्चालन गर्न कठिन छ । त्यसैले पनि ढिलो–चाँडो अनलाइन कक्षा अत्यावश्यक बनेको छ ।

पंक्तिकारको अनुभवमा पनि अनलाइन कक्षा प्रभावकारी भइरहेको छ । विद्यार्थीहरूलाई अनलाइनबाट नै असाइन्मेन्ट तोकिने र अनलाइनबाटै सबमिट गर्ने प्रबन्ध मिलाइएको छ । शुरुवाती दिनहरुमा केही समस्या नभएको भने होइन, तर अब बिस्तारै यसको हल हुँदैछ । गणित र संख्यात्मक विषय समावेश हुने विषय सैद्धान्तिक जस्तो सहज नहुने हाम्रो अनुभवबाट पनि देखियो । तर, यसका लागि पनि उपायको खोजी भइरहेको छ ।

मेरो विचारमा अनलाइन कक्षाको भविष्य राम्रो छ र बन्दाबन्दी सकिएपछि पनि यो निरन्तर हुने छ । म स्वयं पनि बन्दाबन्दीपछि पनि एक अनलाइन कक्षा र बाँकी दुई भौतिक कक्षा सञ्चालनको योजना बनाउँदैछु ।

याे पनि हेर्नुहाेस्– अनलाइन कक्षामा त्रिविकाे नियम: अनिवार्य हाजिर र औपचारिक पोशाक !

याे पनि हेर्नुहाेस्– त्रिविको अनलाइन कक्षाः इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी अन्याेलमा

अनलाइन कक्षाको सम्भावना
अनलाइन कक्षालाई महामारीपछि पनि चलाइराख्ने हो भने हामीले अहिल्यैबाट छलफल शुरु गर्नुपर्नेछ । अनलाइन कोर्सको वैधताको प्रश्नलाई हल गर्नुपर्छ । संकट लम्बियो भने अनलाइन परीक्षा कसरी लिने ? यसबारे मापदण्ड बनाउन आवश्यक छ ।

हो, अनलाइन कक्षामा प्राध्यापकहरू सक्रिय छन् । तर, विद्यार्थीमा भने इन्टरनेट नेटवर्क जडान र कभरेजको साथ समस्याको सामना गरिरहेका छन् । तर, यस्ता विद्यार्थीका लागि पनि तत्कालका लागि अनलाइन कक्षाको भिडियो रेकर्ड, अडियो फाइल उपलब्ध गराउन सकिन्छ ।

कलेज ती ठाउँ हुन् जहाँ विभिन्न संकायका कम्तीमा २००–३०० विद्यार्थीको धेरैजसो भेला हुन्छ । यो शिक्षा मात्र होइन, सुरक्षाको कुरा पनि हो । त्यसैले हामीले विद्यार्थी र शिक्षक दुवैका लागि जोखिम रहित हिसाबमा काम गर्नुपर्छ । र, बन्दाबन्दीपछि पनि अनलाइन कक्षाको अभ्यास गर्नैपर्छ ।

विश्वका धेरै शीर्ष विश्वविद्यालयहरूले पहिले देखि नै अनलाइन मूल्यांकन, सुविधा प्रबन्धन र पाठ्यक्रमहरू कार्यान्वयन गर्दै आएका छन् । विषम परिस्थिति नै सही, हामीले पनि अब अनलाइन शिक्षाको मोडल बिस्तार गर्नुपर्छ । ‘कक्षामा प्रविधि’ र ‘शिक्षाका लागि प्रविधिको’ को अवधारणा र यसअनुरुपको योजना विकास गर्नुपर्छ । प्रविधिको विकासलाई शिक्षण शैलीमा पनि समाहित गर्नुपर्छ ।

हामीले अब नियमित कक्षासँगै अनलाइन कक्षा सम्मिश्रणको सम्भावना बारे पनि छलफल गर्नुपर्नेछ । यसअनुरुपकोे पाठ्यक्रम मोड्युलको पुनर्संरचना गर्न सक्दछौं । तर, यसका लागि हामी सबै शिक्षण संस्था र सरकारले नगरी नहुने अर्को कुरा भनेको प्रविधि पूर्वाधार र स्रोतमा लगानी हो । जस्तो कि, ई–लाइब्रेरी (अनलाइन पुस्तकालय) । विद्यार्थी र शिक्षण संस्थाबीच दूरी उत्पन्न हुने महामारी मात्र होइन; बन्द, हड्तालजस्ता अन्य परिस्थितिमा पनि यी पुस्तकालयले काम गर्नेछन् ।

आजको दिनमा शिक्षणका सबै प्रक्रिया, सुविधा अनलाइनबाटै हुनुपर्छ भन्नु काल्पनिक स्थिति मात्र हुनसक्छ । तर, यही कल्पनालाई वास्तविकतामा परिणत गर्ने समय हामीलाई यो महामारीले प्रदान गरेको छ । त्यसैले बन्दाबन्दी सकिएलगत्तै अनलाइन बिर्सिएर पहिलेजस्तै भौतिक कक्षाको विकल्प देख्न छाड्ने पुरानो प्रवृत्ति हामीले त्याग्नुपर्छ ।

यसका लागि फेरि पनि हाम्रा विश्वविद्यालयहरुले डिजिटलको भविष्यप्रति विश्वास गर्नुपर्छ र हाम्रो पाठ्यक्रमलाई अनलाइन अनुकूल बनाउनुपर्छ । यसो गर्न सके नेपालको शिक्षा क्षेत्रले प्रविधि मात्र होइन, सोचमै परिवर्तन ल्याउनेछ, जसले डिजिटल नेपाल बन्नेतर्फ महत्वपूर्ण योगदान दिनेछ ।

(गैरे काठमाडौंस्थित इन्नोभेटिभ कलेज अफ हेल्थ साइन्सकी लेक्चरर हुन् ।)

प्रतिकृया दिनुहोस