टिप्पणी विहीबार, जेठ १, २०७७

कृषि क्षेत्रको उत्थानका लागि विकल्पको खोजी

हिमालखबर

कृषि क्षेत्रको उत्थानका लागि विकल्पको खोजी
स्केच: भानु भट्टराई
हरिकृष्ण उप्रेती

कृषि प्रधान देश नेपालको अहिलेको परिदृश्य हेर्दा विकासका अन्य क्षेत्र त कृषिमा जोडिएर आउने सहायक अवयव मात्र हुनुपर्ने हो । मुलुकको बलियो पक्ष नै कमजोर बनाई अन्य पक्ष अर्थात् रेमिट्यान्सलाई हावी हुन ‌दिंदा कृषि क्षेत्र पछि पर्दै गइरहेको छ ।

केही दशक अघिसम्म नेपाललाई गाउँ नै गाउँले भरिएको कृषि प्रधान देश भनिन्थ्यो । समयक्रमसँगै यो परिभाषा बदलिएको छ । अहिले ग्रामीण जनजीवनमा रहेर खेतीकिसानी गर्ने अविकसित र घर छाडेर विदेशिने अनि आफूलाई शहरिया घोषित गर्नसक्नेहरुलाई विकसित भन्न थालिएको छ ।

राज्यले पनि बाटो–बत्ती, शिक्षा–स्वास्थ्य सम्बद्ध पूर्वाधार केन्द्रित गरी एकीकृत वस्ती विकासको अभ्यास थाल्यो । फलतः नेतागण थातथलोमा जान चुनाव नै आउनुपर्ने भयो । त्यो पनि भिसा लिएर नेपाल घुम्न आएका पर्यटक जस्तै गरी ।

समयले बालुवाटार–दमक होइन बालकोट, बालुवाटार–डँडेल्धुरा नभई बुढानीलकण्ठ र चितवन नगई खुमल्टार जाने स्थिति बन्यो । बोहोराटारका पनि चुनावका बेला दाउपेच गर्न मात्रै तनहुँ जाने भए । यी सबैका कार्यकर्तामा समेत गाउँ छाडेर शहरिया बन्ने र बनाउने होडबाजी चल्यो र अझै चलिरहेकै छ।

कोरोना कहरले एकाएक सबैलाई गाउँघर याद गर्नैपर्ने स्थितिमा पुर्‍यायो । तनहुँका एक होनहार नेताले त ‘गाउँ बने बन्छ देश’ भन्ने आलेख नै छाप्न भ्याए । उनी सम्भवतः गाउँ छाड्ने त्यो भेगका पहिलोकोटिका नेतागण मध्ये एक हुन्।

विद्यमान समस्या

कोरोना महामारी अघिसम्म आमनागरिकको बानी–व्यवहार नियाल्दा देश छाडेर बाहिरिनेको घुइँचो लागेको देखिन्थ्यो । अहिले वर्गहीन समाज निर्माण गर्नेहरु नै वर्ग विभाजनमा लागे र देशकै माटोमा भिज्ने र भिजाउनेभन्दा श्रमिकलाई बाहिर पठाउने नीतिबमोजिम रेमिट्यान्स भित्र्याउने ध्याउन्नमा लागे । तिनीहरुले धेरै युवालाई गाउँको हावापानीमा खेती–किसानी गर्न प्रेरित गर्नुको साटो १५–२० हजारका लागि खाडी मुलुकको उम्लँदो तापक्रममा भेडा डुलाउने काममा होमिन बाध्य बनाए ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा राम्रो जागिर भएका, व्यापार व्यवसायमा जमेका वा राम्रै हैसियत बनाएकाहरु पनि डीभी, पीआर, विद्यार्थी भिसा वा अनेक जोडबल गरी अमेरिका, अष्ट्रेलिया वा अन्य विकसित मुलुकमा गुणस्तरीय (?) जीवन बिताउने चाहनाले गाउँबाट शहर हुँदै राजधानी अनि देशै छाड्न केन्द्रित भए।

कोरोना महामारीपछि कृषिलाई उकास्नुपर्छ भन्ने भनाइले व्यापकता पाएको छ तर व्यवहारमा लागू भए नभएको हेर्न केही समय कुर्नैपर्छ । अन्यथा त्यही तुच्छ भनिएको जागिर अब्बल हुनेछ र फेरि पनि कृषिकर्ममा लाग्नेहरुले मर्यादित जीवन जिउन कठिन हुनेछ ।

यही अवस्थालाई मध्यनजर गर्दै अघिल्लो सरकारमा सामान्य प्रशासन मन्त्री रहेका लालबाबु पण्डितले डीभी र पीआरधारीलाई सरकारी जागिर कि डीभी र पीआर ? भनेर रोज्ने मौका दिए । त्यति वेला उच्चपदस्थ बहालवाला सचिवसमेत देश त्यागेर अमेरिका भासिए ।

आफ्नो देशमा विभिन्न वर्ग र क्षेत्रमा रहेर विविध पेशामा राम्रै अनुभव सँगालेकाहरु पनि विकसित मुलुक छिरेपछि केही अपवाद बाहेक सबै लगभग एकै प्रकृतिका श्रमिक बनेर त्यसमै रमाउने गरेका छन् । त्यस्तै श्रम मातृभूमिमा गर्न हिच्किचाउने जमात अझै छँदै छ।

कोरोना महामारीपछि कृषिलाई उकास्नुपर्छ भन्ने भनाइले व्यापकता पाएको छ तर व्यवहारमा लागू भए नभएको हेर्न केही समय कुर्नैपर्छ । अन्यथा त्यही तुच्छ भनिएको जागिर अब्बल हुनेछ र फेरि पनि कृषिकर्ममा लाग्नेहरुले मर्यादित जीवन जिउन कठिन हुनेछ ।

केही दशक अघिसम्म नेपालमा कृषिलाई उत्तम, व्यापारलाई मध्यम र जागिरलाई तुच्छ मान्ने चलन थियो । त्यसवेला ८० प्रतिशत जनता कृषिमा निर्भर छन् भनिन्थ्यो र अहिले ६६ प्रतिशत मात्र आबद्ध छन्।

छोटो समयका लागि कृषि मन्त्री भएका नेकपाका नेता हरिबोल गजुरेलले कृषिमा लाग्नेलाई पेन्सनको व्यवस्था गर्ने नीति ल्याउने बताएका थिए तर त्यो कार्यान्वयन भएको थाहा छैन ।

 सम्भावित विकल्प

खेतबारी बाँझै छाडेर खाडी होस् वा अमेरिका हुत्तिने–भासिनेको संख्या नघटे पनि कृषिलाई उत्तम कर्मका रुपमा फर्काउन राज्यले विशेष प्रयास गर्नु आवश्यक छ।

राज्यले जलविद्युत परियोजना विकासकै मोडेल अवलम्बन गरी कृषिक्षेत्र उत्थानको वैकल्पिक सम्भावनालाई रोज्न सके जग्गाको खण्डीकरण रोकी चक्लाबन्दी गर्ने सरकारी प्रयासलाई दीर्घकालसम्म सार्थक तुल्याउन सक्छ।

पुगनपुग ३ करोड जनसंख्या रहेको सानो देशको राजधानी काठमाडौंले मात्रै हाराहारी ५० लाख जनसंख्यालाई आश्रय प्रदान गरेको छ । अर्को ५० लाख जनसंख्या संसारका विभिन्न मुलुकमा छरिएर दुःख गर्दै सुख (?) खोजिरहेका छन् ।  देशले २ करोड ५० लाख जनसंख्याको दैनिकी धान्न खर्बौंको व्यापार घाटा सहनुपरेको कहालीलाग्दो तथ्याङ्क हाम्रा सामु छ । यी सबैबाट बाहिर निस्कने एउटै मात्र विकल्प जलविद्युत् र कृषि क्षेत्रको उन्नतिमा तल्लीन हुनु हो ।

नेपालमा तुलनात्मक लाभको अर्को क्षेत्र पर्यटन पनि हो तर अब विश्वभर देखिने आर्थिक महामन्दीले संसार घुम्न रुचाउनेको अवस्थामा के कति विचलन ल्याउँछ वा कति समयपछि मात्रै पर्यटकीय गतिविधिले निरन्तरता पाउँछ अहिले नै भन्न सकिने अवस्था छैन । धेरैले रोजगारी गुमाएका छन् । कैयन् औद्योगिक प्रतिष्ठान बन्द भएका छन् । त्यसैले पर्यटकीय गतिविधि पहिलेकै अवस्थामा आउन केही समय अवश्य लाग्ने अनुमान गर्न सकिन्छ ।

कृषिलाई उत्तम पेशाको रुपमा फर्काउन सर्वप्रथम हिमाल, पहाड र तराईमा रहेका खेतीयोग्य जमिनको खास क्षेत्रफल निकालेर तिनको वर्गीकरण गरी कुन फसलको सम्भावना कहाँ छ भनेर यथार्थपरक लेखा–जोखा गर्नु जरुरी छ । जस्तैः लेकाली भेगमा कहाँ पशुपालन, उवा, चिनो, फापर वा फलफूल आदि के हुनसक्छ ? त्यो खोजी गर्नुपर्छ । 

जलविद्युत् परियोजनाकै मोडेलमा सरकारले असल वैदेशिक लगानीकर्ता भित्र्याउन सक्दा विदेशिएका युवा–युवती फर्केर आफ्नो परिवारसँग रहेर खुशीसाथ उत्तम पेशा कृषि अपनाउन सक्छन् तर सरकारले नीतिगत सुधारको थालनी गर्नभने ढिलो गर्नुहुदैन।

फसल अनुसार उपयुक्त जग्गा पहिचान र छनाेट गरेर चारकिल्ला तोक्नुपर्छ । चारकिल्लाभित्रका जग्गाधनीहरुसँग खुला बहस र छलफल गरी सरकारले उनीहरुको सहमति लिएर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने र निजी–सार्वजनिक साझेदारीको अवधारणा अनुरुप विदेशी लगानीकर्ता भित्र्याउनु पर्छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारलाई चाहिएको फसल उत्पादन र बेचबिखन गर्ने जिम्मेवारी लगानीकर्तालाई नै दिन सकिन्छ । सरकारले बीउ–बिजन, पहुँच–मार्ग, मल, सिँचाइ लगायतका प्राथमिक पूर्वाधार तयार गर्न लगानीकर्तालाई सहजीकरण गर्न वा लगानीकर्तालाई नै जिम्मा दिन पनि सक्छ ।

श्रम बेच्न हिँडेकाहरु कोरोना कहरपछि घर फर्किन सक्छन् । २५–३० वर्षका लागि आफ्नो जग्गा लगानीकर्तालाई उपलब्ध गराए वापत १०–१५ प्रतिशत साधारण शेयर उनीहरुलाई दिने गरी सरकार जमानी बसेर जग्गा लिजमा उपलब्ध गराउने प्रबन्ध गर्न सकिन्छ ।

पहिलो चरणमा गैरआवासीय नेपालीलाई सरकारले अनुरोध गरेर भए पनि यस क्षेत्रमा ल्याउन सके अझै राम्रो हुन्छ । गैरआवासीय नेपालीहरुले ‘आफूले विदेशमा आर्जेको ज्ञान–सीप नेपालमा भित्र्याउन आतुर छौं’ भनी प्रत्येक सम्मेलनमा दोहोर्‍याउँदै आएको यहाँ बिर्सनु हुँदैन ।

जलविद्युत् परियोजनाकै मोडेलमा सरकारले असल वैदेशिक लगानीकर्ता भित्र्याउन सक्दा विदेशिएका युवा–युवती फर्केर आफ्नो परिवारसँग रहेर खुशीसाथ उत्तम पेशा कृषि अपनाउन सक्छन् तर सरकारले नीतिगत सुधारको थालनी गर्नभने ढिलो गर्नुहुदैन ।

 

प्रतिकृया दिनुहोस