समाचार सोमबार, वैशाख २९, २०७७

कोरोना महामारीबाट बढी प्रभावितमध्ये तेस्रो मुलुक बन्यो रुस, २४ घण्टामै थपिए साढे ११ हजार संक्रमित

हिमालखबर

कोरोना महामारीबाट बढी प्रभावितमध्ये तेस्रो मुलुक बन्यो  रुस, २४ घण्टामै थपिए साढे ११ हजार संक्रमित

रुसमा पछिल्लो २४ घण्टामै कोरोनाभाइरसका ११ हजार ६ सय ५६ संक्रमित थपिएका छन्। यो सँगै त्यहाँ सोमबार साँझ साढे ६ बजेसम्ममा कूल संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ।

एकैचोटि हजारौंको संख्यामा संक्रमित थपिएपछि रुस विश्वभरिमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये तेस्रो नम्बरमा उक्लिएको छ। सूचीमा अगाडि रहेका बेलायत र इटालीलाई रुसले पछि पारेको छ।

रुसमा कूल संक्रमितमध्ये हालसम्म २ हजार ९ जनाको मृत्यु भएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ९४ जनाको ज्यान गएको हो। त्यहाँ संक्रमितमध्ये ३९ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएका छन्।

कोरोना महामारी सबैभन्दा बढी फैलिएको अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार ९ सय नाघिसकेको छ। त्यहाँ पछिल्लो २५ घण्टामै ३ सय २५ नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा संक्रमणका कारण हालसम्म ८० हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ५६ हजार ३ सय ३६ जना निको भएका छन्।

यस्तै, संक्रमणबाट दोस्रो बढी प्रभावित मुलुक स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८० नयाँ संक्रमित थपिंदा कूल २ लाख ६८ हजार १ सयभन्दा बढीमा संक्रमण देखिएको छ। त्यहाँ कोरोना संक्रमणबाट २६ हजार ७ सय ४४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १ सय २३ जनाको ज्यान गएको हो।

स्पेनमा १ लाख ७७ हजार ८ सयभन्दा बढी संक्रमित उपचारपछि निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस