प्रदेशसभा सदस्य थापाको राजीनामा माग
विभिन्न राजनीतिक दलका नेता र सरोकार संघसंस्थाले जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोपमा गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामा मागेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतम र गणेश विक, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा तथा संयुक्त दलित संघर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार संघ र दलित गैरसरकारी संस्था महासंघ लगायत संघसंस्थाले प्रेस विज्ञप्ति जारी गरी थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
पोखरा महानगरपालिका– १६, बाटुलेचौरमा गएको २६ चैतमा मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापा लगायतले सुनारमाथि अपमान, गालीगलोज र धाकधम्की दिई जाति विभेद गरेको आरोप लगाइएको छ ।
पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय(ऐन) २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन् ।
तर, यो घटनालाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुको साटो प्रदेशसभा सदस्य थापाले उल्टै जातीय भेदभाव तथा छुवाछूत गरेको भनिएकाहरुलाई समर्थन गर्ने विज्ञप्ति जारी गरेको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन् ।