थप समाचार आइतबार, वैशाख २८, २०७७

खुकुरी प्रहार गरी हत्या

रासस

खुकुरी प्रहार गरी हत्या

धादिङमा खुकुरी प्रहारबाट एकजनाकाे हत्या गरिएकाे छ । उनी एक निजी विद्यालयका प्रधानाध्यापक भएकाे बुझिएको छ।

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङका यमबहादुर गुरुङको शनिबार हत्या भएको हो।

गङ्गा–जमुना एकेडेमीका प्रधानाध्यापक रहेका उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार गिरफ्तार गरेको छ।

विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेको बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेका थिए ।

बुढाथोकीको प्रहारले गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि धादिङबेँसी लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ।

प्रतिकृया दिनुहोस