टिप्पणी मंगलबार, वैशाख ३०, २०७७

एक खर्ब जाेगाउन पनि काठमाडौं– निजगढ द्रुतमार्गको एलाइन्मेन्ट फेर्नुपर्छ

हिमालखबर

एक खर्ब जाेगाउन पनि काठमाडौं– निजगढ द्रुतमार्गको एलाइन्मेन्ट फेर्नुपर्छ

बाराको निजगढदेखि मकवानपुरको दहिदमारसम्मको अन्दाजी २३ किमि खण्डलाई यथावत राखी पहाडीखण्डको पूरै मार्गरेखा (एलाइन्मेण्ट) फेर्दा सेनाद्वारा निर्माणाधीन द्रुतमार्गको लम्बाइ १७ किमी छोटो हुन्छ र १० किमि लामो पुल पनि चाहिंदैन ।

नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौं–निजगढ द्रुतमार्गको घोषित लक्ष्य एक घण्टामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंसम्म आवागमन गर्नु हो । तर हाल निर्माणाधीन द्रुतमार्गलाई नै निरन्तरता दिइएको खण्डमा यो मार्ग मुलुकको लागि घाँटीमा अड्केको तातो पिंडालु सावित हुने निश्चित छ ।

यस मार्गमा पर्ने अस्थिर महाभारत शृङ्खला, वागमती नदीको साँघुरो खोँच, मौसमी प्रतिकूलता आदि कारणले नियमित आवागमनमा अवाञ्छित अवरोध आइरहने देखिएको छ ।

बद्रीप्रसाद खतिवडा

अहिले निर्माण भइरहेको द्रुतमार्गको मार्गरेखा (एलाइन्मेन्ट) र त्यस क्षेत्रको भूगोलबारे राम्रो जानकारी राख्ने भएकै कारण यस आलेखमा विकल्प प्रस्तुत गरिएको छ ।

निर्माणाधीन द्रुतमार्गमा विशिष्ट खालका १६ र अन्य साना ठूला गरी ८७ वटा पुल पर्छन् । जसको कुल लम्बाइ १०.५९ किमि हुन्छ (२ चैत, कान्तिपुर दैनिक) ।

बाराको निजगढदेखि मकवानपुरको दहिदमारसम्मको अन्दाजी २३ कि. मि. खण्डलाई यथावत राखी पहाडीखण्डको पूरै मार्गरेखा (एलाइन्मेण्ट) फेर्दा सेनाद्वारा निर्माणाधीन द्रुतमार्गको लम्बाइ १७ किमी छोटो हुन्छ र १० किमि लामो पुल पनि चाहिँदैन । अर्थात् जम्माजम्मी ०.५९ किमि लामो पुलले नयाँ प्रस्तवित मार्गमा पर्ने साना – मझौला सबै पुलहरु समेटिन्छन् ।

चार लेन चौडाइको १७ किमि लामो सडक र १० किमि लामो पुल बनाउन नपर्दा राज्यलाई १ खर्ब भन्दा बढी निर्माण खर्चभार कम पर्छ ।

निजगढदेखि ललितपुरको खोकनासम्मको लम्बाइ ७२.५ कि.मी. हो तर निजगढदेखि हेटौंडा पूर्वमा पर्ने फुर्केचौर नजिक दहिदमारबाट मकवानपुरगढी, कुरुले उत्तर सामरीको शिर सुकौरा, भीमफेदी, कुलेखानी ड्याम, चित्लाङ, थानकोट (मातातीर्थ) को बाटो हुँदै आए बढीमा ५५.५ किमीमा उपत्यका प्रवेश गर्न सकिन्छ ।

यस मार्गमा दहिदमारदेखि शिखरकटेरीसम्म ६ किमि, सुकौरादेखि कुरुलेसम्म ३ किमि र अन्तमा कुलेखानीदेखि चित्लाङफेदीसम्म १५ किमी समथर बाटो नै हुनेछ ।

यो प्रस्तावित रुटमा ४ वटा सुरुङ चाहिन्छन् । दहिदमारबाट पश्चिम मोडिएर अघि बढ्दा पहिलो हटियास्थित शिखरकटेरीको डाँडो छेडेर कुरुले बेसी निक्लन करिब १.० किमीको, दोस्रो सुखौरा भीमफेदी करिब २ किमीको, तेस्रो भीमफेदी कुलेखानी ३.५ किमी जति र चित्लाङ थानकोट २ किमी लामो सुरुङहरुको कुल लम्बाइ ८.५ किमी हुनेछ ।

यो वैकल्पिक एलाइन्मेन्टमा ठूला पुल आवश्यक पर्दैनन् । सुखौरामा पर्ने सामरीको शिर, भीमफेदीको बगर, कुलेखानीमा मिसिने पालुङ खोलो गरी तीनवटा पुलेसा भए पुग्छ । तीनवटै पुलेसाको कुल लम्बाइ १५० मिटर मात्र हुनेछ । यसले पुलको निर्माण खर्च सबैजसो जोगिन्छ । यो रुट भीरपहिरो, बाढीको जोखिमबाट पनि मुक्त छ ।

खोकना, बुङमती जस्ता कुनै सांस्कृतिक, ऐतिहासिक धरोहरहरुको नोक्सानी पनि हुँदैन । भीमफेदीबाट कुलेखानीको सुरुङ छिचोलेपछि यो मार्ग इन्द्रसरोवरलाई दायाँ पारी अघि बढ्ने भएकोले उक्त सरोवरलाई कुनै असर पार्दैन ।

ठूला वनजंगल नपर्ने भएकोले पर्यावरणमा हुने क्षति पनि नगन्य नै हुनेछ । त्यस्तै पर्सादेखि पूर्वी नेपालको राजधानी लक्षित सबै यातायातका साधनहरुलाई यो मार्ग नै सर्वाेत्तम विकल्प हुनेछ ।

कुल अनुमानित खर्च भित्र नै यहाँ प्रस्तुत गरिएको विकल्प प्रयोग गर्दा हुने बचतबाट निजगढदेखि ललितपुरको सात दोबाटोस्थित खुमलटारमा रहेको कृषि फारामको सरकारी जग्गासम्म यात्रुवाहक रज्जुमार्ग समेत बनाउन सकिन्छ ।

यसरी यी दुई परियोजनाले परिपूरकको रुपमा काम गर्दा घोषित लक्ष्य पूरा हुनेछ । यी दुवै मार्गहरुको निर्माण कार्य तत्काल शुरु गर्नु मुलुकको हितमा हुनेछ ।

नयाँ एलाइन्मेण्टबाट निर्माण हुने द्रुतमार्गबाट पूर्वी नेपालका साना ठूला सबै गाडीलाई राजधानीसँगको आवागमनमा सहजता मिल्छ । साथै पूर्वाञ्चलका गाडीहरुले नारायणघाट मुग्लिनको फेरो मार्न आवश्यक नपर्दा बाटो छोटिन्छ । समय र इन्धन बचत हुनाका साथै पार्टपुर्जा घिसिने लगायत समस्या पनि घट्छन् ।

हालको लामो यात्राको कठिनाईबाट पनि यात्रुले मुक्ति पाउँछन् । गत साढे तीन दशकदेखि भरतपुर – मुग्लिङ मार्ग भएर काठमाडौं आउजाउ गर्दै आएका पूर्वी नेपालका गाडीहरुको निमित्त यो नयाँ एलाइन्मेण्ट वरदान सावित हुनेछ । यसबापत एकतर्फी यात्रामा मात्र कम्तीमा पनि २१० किलोमिटर यात्रा छोट्टिन्छ ।

प्रतिकृया दिनुहोस