टिप्पणी मंगलबार, वैशाख ३०, २०७७

कोरोनाभाइरसः विनाशक वा सर्जक ?

हिमालखबर

कोरोनाभाइरसः विनाशक वा सर्जक ?

अहिलेसम्म अढाइ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको कोभिड—१९ महामारी जसै अन्त्य हुनेछ, यसले मानव समाजमा नसोचिएको संकट मात्र होइन, अकल्पनीय सुनौला सम्भावना पनि बोकेर आउने विज्ञहरूको अपेक्षा छ।

 प्रा.डा. ताराप्रसाद सापकोटा

नोभल कोरोनाभाइरस (कोभिड–१९) महामारीले यतिवेला विश्वव्यापी रूपमा मानव जातिको अस्तित्वमाथि नै धावा बोलिरहेको छ। पहिलो पटक डिसेम्बर, २०१९ को अन्त्यमा चीनको वुहानमा देखा परेको यो भाइरस अहिलेसम्म विश्वका २१२ देश तथा क्षेत्रहरूमा फैलिएको छ । र, अहिलेसम्म यसले २ लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ र २.३० मिलियन भन्दा बढी मानिस उपचार गराइरहेका छन्।

दुःखको कुरा अहिलेसम्म महामारीको उपचारका लागि औषधि तथा खोप आविष्कार भएको छैन । र, वैज्ञानिकहरू पनि यसको अन्त्य ठोकुवा गर्न सकिरहेका छैनन्। यसबाट विश्व अर्थतन्त्र, राजनीति र सामाजिक व्यवस्थामा आउने परिवर्तनको कल्पनाले मात्र पनि विश्व भयभीत बनिरहेको छ।

महामारीको प्रभाव
कोभिड–१९ ले व्यक्तिको जीविका, स्वास्थ्य र सामाजिक–आर्थिक क्षेत्रहरूमा ठूलो नकारात्मक प्रभाव पारेको छ । महामारी नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्ने सिफारिशसँगै नेपालमा पनि ११ चैतदेखि लकडाउन गरिएको छ ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को अभावका कारण सामाजिक दूरी कायम राख्दा ज्येष्ठ नागरिकहरूको सेवा संकटमा छ । गृहयुद्ध जारी रहेका देशहरूमा समुदायको एक भाग उपचारको पहुँच बाहिर छन् ।

कोभिड–१९ महामारीले मानव जातिमाथि नसोचिएको प्रभाव पारेको छ, जुन सकारात्मक र नकारात्मक दुवैखाले छन् । महामारी कति लम्बिन्छ ? यसले समाजका आयामहरूमा कति गहिरोसँग असर पार्छन् ? ती असरका अल्पकालीन र दीर्घकालीन प्रभावहरू के के हुनसक्छन् भन्ने बारे अहिल्यै यकिनका साथ भन्न नसकिए पनि यसबारे विभिन्न संस्था, प्राज्ञिक र बौद्धिक क्षेत्रले बहस, अनुसन्धान र विश्लेषण थालेका छन् । त्यसका आधारमा महामारीका सम्भावित नकारात्मक प्रभावहरूलाई यसरी आकलन गर्न सकिन्छ ।

१. विश्वव्यापी वित्तीय संकटः महामारीले आर्थिक प्रणालीलाई संकटमा पारेको छ । १३ अप्रिलमा मात्र बायन एण्ड कम्पनी म्याक्रो ट्रेन्ड्स ग्रुपले महामारीबाट विश्वव्यापी आर्थिक गतिविधि ४०–५० प्रतिशत घट्ने अनुमान गरेको छ । यसले विश्वभर करीब २५ करोड रोजगारीलाई असर पार्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ८ अप्रिलको प्रतिवेदन अनुसार, पूर्ण र आंशिक तालाबन्दीका कारण विश्वभर २.७ अर्ब कामदार (५मध्ये ४ श्रमिक) अहिले नै प्रभावित भइसकेका छन् र थप २० करोड श्रमिक दुई–तीन महीनाभित्रै बेरोजगार हुनेछन् । महामारी शुरू हुनुअघि नै विश्वमा १९ करोड श्रमिक बेरोजगार थिए । आईएलओको अनुमानमा विश्वभर कुल ३७.५ प्रतिशत कामदार बेरोजगार हुनेछन् ।

बार्कलेज अनुसन्धान समूहका अनुसार लकडाउनका कारण विश्व अर्थतन्त्रमा हरेक हप्ता २ अर्ब डलर घाटा भइरहेको छ, अहिलेसम्म यो घाटा २३४.४ अर्ब डलरभन्दा बढी भइसकेको छ, जुन विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको ८.१ प्रतिशत हो । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले १६ अप्रिल २०२० मा जारी गरेको विश्वव्यापी खाद्यान्न संकट प्रतिवेदनले महामारी सामना गर्न छिटोभन्दा छिटो कदम नचालिएमा सन् २०२० अर्थात् यो वर्ष न्यून र मध्यम आय भएका देशहरूमा २६.५ करोड मानिस भोकमरीको शिकार हुनेछन् ।

विश्व बैंकका अनुसार यो वर्ष करीब २२ प्रतिशत विश्वव्यापी रेमिटेन्स घट्नेछ । रेमिटेन्सको तीव्र गिरावटका कारण न्यून आय र मध्यम आय भएका देश नराम्रोसँग प्रभावित हुनेछन् । केहीले भने यसबाट विद्यमान आर्थिक प्रणाली पतन भई एक नयाँ प्रणाली वा नयाँ युगको थालनी हुनसक्ने अनुमान पनि गरेका छन् ।

२. संयुक्त राष्ट्रसंघका लागि आर्थिक संकटः यदि विश्वव्यापी वित्तीय संकट आयो भने यसका सदस्य देशहरूले दिएको योगदानमा उल्लेखनीय रूपमा कटौती हुनेछ । हाल, संयुक्त राज्य अमेरिका आर्थिक रूपमा सबैभन्दा शक्तिशाली देश हो र संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो योगदानकर्ता । यसले कुल बजेटको ६० प्रतिशत रकम योगदान गरिरहेको छ ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ महामारीको नियन्त्रणमा जिम्मेवारी राम्रोसँग वहन नगरेको भन्दै विश्व स्वास्थ्य संघ (डब्लूएचओ) लाई दिइने योगदान रोक्ने निर्णय गरेका छन्। वित्तीय संकट वा अन्य कुनै वहानामा संयुक्त राष्ट्रसंघको सहयोग रोकिएमा यसको अस्तित्व संकटमा धकेलिनेछ । र, यो संगठन सानो, अप्रभावी र औपचारिक एजेन्सीमा परिणत हुनेछ, जसको असर सबैभन्दा बढी गरीब र कमजोर राष्ट्रहरूले भोग्नुपर्नेछ ।

३. रणनीतिक ध्रुवीकरणः विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन एक शक्तिशाली राष्ट्रको रूपमा देखा परेको छ । अमेरिकी राष्ट्रपतिले कोभिड–१९ को बारे सही जानकारी लुकाएको भनी चीनलाई दोष दिएका छन् । उत्तर अमेरिकी र युरोपेली देशहरू यस महामारीबाट गम्भीर रूपमा प्रभावित छन् ।

यसबाहेक, युरोपेली राष्ट्रहरू इटाली, फ्रान्स, बेल्जियम, स्पेन जस्ता देशहरू कोभिड–१९ नियन्त्रणका लागि चीनसँग खरीद मेडिकल उपकरण र किटहरूको गुणस्तरहीनताका कारण संक्रमित व्यक्तिहरूको ज्यान गएको भन्दै क्रोधित छन् । यसले उत्तर अमेरिकी र युरोपेली राष्ट्रहरू चीन विरुद्ध खडा हुने र अर्कोतर्फ चीनले रूस, पाकिस्तान, उत्तरकोरिया र मध्यपूर्वका केही देशहरूको गठबन्धन निर्माण गर्ने सम्भावना छ । महामारीलगत्तै यो रणनीतिक ध्रुवीकरण शुरू हुने देखिन्छ ।

४. तेस्रो विश्वयुद्धको सम्भावनाः बौद्धिकहरूले तेस्रो विश्वयुद्धको सम्भावना बारे टिप्पणी शुरू गरेका छन् । ट्रम्प प्रशासनको शुरूदेखि नै अमेरिका र चीन बीचको सम्बन्ध सुमधुर छैन ।

चीनले अमेरिकाको सहयोगमा वुहानमा वुहान इन्स्टिच्यूट अफ भाइरोलोजी स्थापना गरेको छ । कोभिड–१९ उत्पत्तिबारे केही चिकित्सा विज्ञहरूले यो भाइरस वुहान इन्स्टिच्यूटको ल्याबबाट फैलिएको आशंका गरेका छन् भने राष्ट्रपति ट्रम्पले भने कोरोना भाइरसको फैलावट वुहान इन्स्टिच्यूटको ल्याबबाटै भएको ठोकुवा गर्दै स्वतन्त्र अनुसन्धानको माग गरिरहेका छन् ।

यदि अमेरिकाको आरोप सत्य निस्किए चीनले विश्वलाई ठूलो क्षतिपूर्ति तिर्नुपर्नेछ । वकिल ल्यारी क्लेमानको सक्रियतामा चीन विरुद्ध अमेरिकाको टेक्सासस्थित अदालतमा मुद्दा दायर गरी २० खर्ब अमेरिकी डलर क्षतिपूर्ति दाबी गरिएको छ जुन चीनको कुल घरेलु उत्पादन (जीडीपी) को ठूलो भाग हो ।

चीनलाई दोषी देखाइएको प्रतिवेदन तयार भए वा उसलाई क्षतिपूर्तिका लागि बाध्य पारिए, चीनले यी सबै कुरा अस्वीकार गर्नेछ । यस्तो अवस्थामा अमेरिकाले चीन विरुद्ध युद्ध आरम्भ गर्न सक्छ र त्यो युद्ध तेस्रो विश्वयुद्धमा परिणत हुनसक्छ भन्ने विश्लेषण पनि गर्न थालिएको छ ।

भारतकाे दिल्लीमा तब्लिगी जमात ।

५. धार्मिक दंगाको सम्भावनाः इस्लाम र क्याथोलिक जस्ता केही धार्मिक समूहहरू पुराना मिथकको पक्षमा देखिन्छन् । क्याथोलिकहरू पवित्र ट्रिनिटी विश्वास गर्दछन्; यसमा तीन छन्ः सर्वोच्च अस्तित्व, पवित्र त्रिएक र संस्थापक । सर्वोच्च अस्तित्वका अनुसार पृथ्वीमा कुनै पनि महामारी आउँछ भने ईश्वरको चाहना बमोजिम आएको हुन्छ । यदि हामी परमेश्वरमाथि विश्वास गर्छौं भने उहाँले हामीलाई बचाउनुहुन्छ । यद्यपि यस महामारीमा क्याथोलिक समूहबाट कुनै आपत्ति छैन र उनीहरूले विश्वभर लकडाउन र सामाजिक दूरीलाई पछ्याइरहेका छन् ।

सुन्नी मुसलमान भने लकडाउन र सामाजिक दूरीको अनुसरण गरिरहेका छैनन् । सुन्नी समुदायको तब्लिगी जमात (प्रचारकहरूको समाज) को मतमा कोरोनाभाइरसले मुस्लिमहरूलाई क्षति गर्न सक्दैन किनभने मुहम्मद अल्लाह सर्वशक्तिमान छन् र उनीहरूको रक्षा गर्नेछन् ।

भारतको नयाँदिल्लीमा तब्लिगी जमातका गुरु मौलाना सादले अडियो रेकर्ड मार्फत भनेका छन् कि सामाजिक दूरी मुस्लिम अभ्यासको विरुद्ध लादिएको षड्यन्त्र हो । सरकारले लगाएको लकडाउन अनुसरण गर्न आवश्यक छैन ।

तब्लिगी जमातले १४–१५ मार्च २०२० मा नयाँदिल्लीमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो, जसमा २५०० भन्दा बढी व्यक्तिले भाग लिएका थिए । त्यसअघि जमातले नेपालको सप्तरीमा पनि यस्तै धार्मिक भेला आयोजना गरेको थियो । भारत र नेपालमा कोभिड–१९ बाट संक्रमणको एउटा मुख्य कारण तब्लिगी जमातकै भेला मानिएको छ ।

कतिपयको विश्लेषणमा महामारी बारे उग्र हिन्दू र मुस्लिम अतिवादी धारणा बढ्दै गए धार्मिक दंगा समेत हुनसक्नेछ ।

६. विद्यमान राजनीतिक प्रणालीमा परिवर्तनः हाल विश्वमा चार प्रमुख राजनीतिक प्रणाली छन्– पूँजीवाद, समाजवाद, साम्यवाद र मिश्रित (सामाजिक लोकतन्त्र) । पूँजीवाद खुला बजारमा आधारित छ जसमा उत्पादन र वितरण प्रणालीमा सरकारी हस्तक्षेप कम हुन्छ । उदाहरणका लागि, अमेरिका, अस्ट्रिया, स्विट्जरल्याण्ड, सिंगापुर, आदि ।

समाजवादमा उत्पादनका साधनहरू राज्यको नियन्त्रणमा राखिएको हुन्छ । चीन, उत्तरकोरिया, लाओस, भियतनाम र क्युबा यस प्रणालीका उदाहरण हुन् । साम्यवादमा उत्पादनका न्यूनतम प्रमुख साधनहरू जस्तै, खानी, मिल र कारखानाहरू र प्राकृतिक स्रोतहरू कम्युन (समुदाय) को नियन्त्रणमा हुन्छ । वास्तवमा हाल यो प्रणाली भएको कुनै पनि देश छैन । भ्लादिमिर लेनिनको शासनकालमा सोभियत संघ र माओत्सेतुङको शासन कालमा चीनमा साम्यवाद भएको मानिन्थ्यो ।

मिश्रित प्रणाली सामाजिक लोकतन्त्रको रूपमा परिचित छ र यो पूँजीवादबाट लोकतान्त्रिक माध्यमबाट समाजवादमा जान समाजको क्रमिक र शान्तिमय संक्रमणमा आधारित छ । स्विडेन, डेनमार्क, नर्वे र फिनल्याण्ड यस प्रणालीका उदाहरण हुन् ।

कोभिड–१९ का कारण सामाजिक लोकतान्त्रिक देशहरूको तुलनामा पूँजीवादी र समाजवादी देशहरूलाई गम्भीर प्रभाव पारेको छ । व्यक्ति बाँच्नको नाममा व्यक्तिगत स्वतन्त्रताको त्याग गर्न चाहँदैनन् भने व्यक्तिगत स्वतन्त्रताको रक्षाको नाममा खाद्यान्न र स्वास्थ्य उपचारको अभावबाट मर्न पनि चाहँदैनन् । मानिसहरू दुवै व्यक्तिगत स्वतन्त्रता र जीविकोपार्जनको सुरक्षा चाहन्छन् । त्यसकारण पनि मानिसहरू सामाजिक लोकतान्त्रिक प्रणालीको पक्षमा उभिनेछन् । कोभिड–१९ ले हालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

७. राजनीतिक उथलपुथलको सम्भावनाः कोभिड–१९ ले न्यून आय, रेमिटेन्स र वैदेशिक सहायतामा निर्भर अर्थतन्त्र भएका देशहरूलाई गम्भीर असर पार्नेछ । लकडाउनका कारण हुने विश्वव्यापी आर्थिक संकटले वैदेशिक सहायता र रेमिटेन्स रोकिने सम्भावना छ ।

यदि यो महामारी २०२४ सम्म कायम रहे ६० प्रतिशत भन्दा बढी उद्योग पूर्ण रूपमा संचालन हुने छैनन्, जसले व्यावसायिक गतिविधिहरूलाई बाधा पुर्‍याउनेछ, रोजगारीमा ठूलो नकारात्मक प्रभाव पार्नेछ । यसबाट बलियो अर्थव्यवस्था नभएका देशहरूले संकटको सामना गर्नुपर्नेछ, सरकार र सम्बन्धित निकायमाथि जनदबाब बढ्नेछ । र, राजनीतिक उथलपुथल निम्तिन सक्छ । खाद्यान्नको तीव्र अभावका कारण केही न्यून र मध्यम आय भएका देशहरूले सार्वभौमिकता समेत गुमाउन सक्ने खतरा देखिन्छ ।

८. राष्ट्रिय प्राथमिकतामा परिवर्तनः कोभिड–१९ ले विश्वभरिका सरकारहरूलाई राष्ट्रिय प्राथमिकता परिवर्तन गर्न बाध्य पारेको छ । महामारीबाट बढी प्रभावित देशहरूले कृषि, स्वास्थ्य, विज्ञान र प्रविधि, यातायात र शिक्षा क्षेत्रलाई प्राथमिकता दिनेछन् । महामारीका कारण स्वास्थ्य क्षेत्रमा समेत लगानी बढ्नेछ । विज्ञान र प्रविधिले अन्तरिक्ष र गोला–बारुदको सट्टा मानव सेवामा बढी ध्यान दिनेछ । शिक्षाले कृषि, स्वास्थ्य, विज्ञान, प्रविधि आदिमा प्राथमिकता दिनेछ । यातायात क्षेत्र पनि मानव सेवासँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रमा केन्द्रित हुनेछ ।

९. शिक्षा प्रणालीमा परिवर्तनः कोभिड–१९ ले स्कूल र कलेजका कक्षा कोठामा आधारित सैद्धान्तिक शिक्षण प्रणाली बेडरूम शिक्षण प्रणालीमा रूपान्तरण हुनेछ । लगभग सबै सैद्धान्तिक विषयहरू अनलाइन पढाइनेछ र शुद्ध विज्ञान अन्तर्गत व्यावहारिक विषयहरू (जीवविज्ञान, रसायन विज्ञान, भौतिकविज्ञान आदि) लाई परिमार्जन र सरलीकृत गरिनेछ । परीक्षार्थीले भिडियो कन्फरेन्सिङ मार्फत आफ्नो व्यावहारिक कक्षाको प्रदर्शन पनि गर्नेछन् ।

आयरल्याण्डका प्रधानमन्त्री लियाे बराड्कर र अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्प ।

१०. सामाजिक व्यवहारमा परिवर्तनः आपसमा अभिवादनका लागि विश्वका समाजमा धेरै अभ्यास प्रयोगमा छन् । सामाजिक व्यवहार उनीहरूको धार्मिक मूल्य र संस्कृतिमा आधारित हुन्छन् । हिन्दूहरूमा ढोग, नमस्कार प्रचलनमा छ ।

मुसलमानहरू असालम आलेकुम, रहमतुल्लाही, बराकातु (शान्ति, दया र अल्लाहको आशीर्वाद तपाईंमा रहोस्) भन्दै अभिवादन गर्छन् । कसैकसैले हात पनि मिलाउँछन् । इसाईहरू गालामा चुम्बन गर्ने, अँगालो हाल्ने, हात मिलाउने र हात हल्लाउने गर्दछन् । यहूदी स्वास्थ्य सम्बन्धी सोधपुछ गर्ने, अँगालो हाल्ने, चुम्बन गर्ने, झुक्ने, घुँडा टेक्ने, प्रणाम गर्ने र आशीर्वाद भन्छन् ।

बौद्ध धर्मका अनुयायीहरू अभिवादन गर्दा तीन तरिका अनुसरण गर्दछन्ः देवता, शिक्षक र साथीहरूलाई टाउकोमा हात राखेर, अनुहारको अगाडि वा छातीको अगाडि दुवै हात जोड्दै प्रार्थना गर्ने शैलीमा अभिवादन गर्दछन्; अधिक आदर व्यक्त गर्न टाउको झुकाएर दुवै हात जोडेर प्रार्थना गर्दै दुवै घुँडामा हात राख्छन् । सबभन्दा सम्मानपूर्ण अभिवादन भनेको खुट्टामाथि शिर राखी प्रणाम गर्नु हो । यसलाई डण्डपनामा (दण्डवत् प्रणाम) भनिन्छ ।

ठूलो संख्यामा जापानीहरू शिन्तो धर्ममा विश्वास गर्दछन् र अभिवादन गर्दा ४० डिग्रीमा झुक्छन् । धार्मिक रूपमा अज्ञात जस्तै इनिट्स (ग्रीनल्याण्ड, क्यानाडा, अलास्का र अरबी आदिवासी जनजातिहरू) नाक जोड्दछन् जसलाई एस्किमो चुम्बन भनेर चिनिन्छ ।

महामारीको फैलावटसँग हिन्दूहरूको अभिवादन शैली ‘नमस्ते वा नमस्कार’ सुरक्षित मान्न थालिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प, बेलायतका राजकुमार चाल्र्स, प्रधानमन्त्री बोरिस जोनसनले नमस्कारलाई नै अभ्यास गर्न थालिसकेका छन् । अब पूर्वीय सभ्यताको योग झैं नमस्कारले पनि विश्वव्यापी मान्यता प्राप्त गर्ने सम्भावना छ । इटालीमा त, स्वास्थ्यकर्मीहरूले सार्वजनिक स्थान, बगैंचा र अस्पतालहरूमै मृत्युञ्जय मन्त्र पाठ गर्दै प्रार्थना गरेको भिडियो पनि देखिएको थियो ।

११. सामाजिक जमघटमा परिवर्तनः अन्तर्राष्ट्रिय वा राष्ट्रिय सम्मेलन, सेमिनार, कार्यशाला, जनसभा, सभा, प्रदर्शन र जुलूसहरू सकेसम्म कम हुनेछन् । यद्यपि केही अति महत्वपूर्ण सामाजिक जमघटहरू जसमा ५० जनाभन्दा कम सहभागी हुने जमघट भने सामाजिक दूरी बनाएर सम्पन्न हुनेछन् । ती बाहेक अन्य सभा, सम्मेलन, बैठक, सेमिनार, कार्यशालाहरू अनलाइन हुनेछन् । केही प्रदर्शन र जुलूस सामाजिक दूरी बनाएर सम्पन्न हुनेछन् ।

सम्भावित सकारात्मक प्रभावहरूः ‘हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ’ भने जस्तै कोभिड–१९ ले माथि उल्लिखित सम्भावित नकारात्मक प्रभावहरूका बावजूद सम्भावित सकारात्मक प्रभावहरू पनि हुनेछन् । जस्तैः

१. वातावरणीय अवस्थामा सुधारः लामो लकडाउनका कारण बन्द उद्योगधन्दा, यातायात लगायतका प्रदूषणमा उल्लेख्य कमी आएका कारण प्रकृतिले अनुकूल वातावरण प्राप्त गरेको छ । हामीले देख्यौं कि संसारभरका सबै ठूला नदीहरू सफा भइरहेका छन् । सडक किनारतर्फ हरियाली बढेको छ, मौसमी फूलहरू निर्धक्क फुल्दैछन् । यदि मानव हस्तक्षेप कम हुने हो भने प्राकृतिक प्रक्रियाबाटै वातावरणीय अवस्थामा सुधार हुनेछ ।

२. कृषिको प्राथमिकताः प्राचीनकालदेखि १८औं शताब्दीसम्म कृषि सबैभन्दा राम्रो पेशा मानिन्थ्यो । १८औं शताब्दीको उत्तराद्र्धमा बेलायतमा सम्पन्न औद्योगिक क्रान्तिले विकासको संरचनामा परिवर्तन ल्यायो र युरोप, अमेरिकाका धेरैजसो ग्रामीण, कृषि समाजलाई औद्योगिक र शहरी समुदायमा परिणत गर्‍यो ।

कोभिड–१९ ले संसारलाई पुनः कृषि र यससँग सम्बन्धित अन्य गतिविधिहरूलाई अपनाउन बाध्य पारिरहेको छ । खेतीका लागि योग्य जमीन भएका देशहरूले कृषि र यससँग सम्बन्धित गतिविधिहरूलाई पहिलो प्राथमिकता दिनेछन् । मानिसहरू तरकारी खेतीका लागि छत, बार्दली, कौसी, बरन्डा तथा करेसाबारी प्रयोग गर्नेछन् । तर अझै पनि कृषिकर्म मानिसको तेस्रो प्राथमिकतामा पर्नेछ, पहिलो र दोस्रो क्रमशः नोकरी र उद्योग व्यापार नै हुनेछन् ।

३. अवैध वैदेशिक रोजगारको हतोत्साहनः कोभिड–१९ ले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नेछ । रोजगारदाता मुलुकले कति कामदार माग गर्छ त्यो पनि एउटा पाटो हो तर अब शुरूमै निर्धारित सेवासुविधा र आत्मसम्मान सहितको आधारभूत मानवअधिकारको ग्यारेन्टी अब अत्यावश्यक हुनेछ । भएका सहमति र सन्धि पूर्णरूपमा पालना हुनुपर्नेछ, जुन अहिले भइरहेको छैन । फेरि मानिस बहुजातीय समाजको तुलनामा आफ्नो जात भएको समाजमा बढी सुरक्षित महसूस गर्दछन् ।

यदि आकर्षक सुविधा र लाभ सुनिश्चित गरिएको छ भने मानिस कानूनी रूपमै वैदेशिक रोजगारमा जानेछन् । तर, अवैध वैदेशिक रोजगारीलाई यो महामारीले निरुत्साहित गर्नेछ । अमेरिका र युरोपेली मुलुकमा अवैध रूपमा जाने प्रवृत्ति कम गर्नेछ । अवैध प्रवासन र शरणार्थी समस्यामा पनि कमी आउनेछ ।

४. आयुर्वेद र प्राकृतिक चिकित्सामा बढावाः कोभिड–१९ ले कम साइड इफेक्ट र प्रतिरोधात्मक क्षमता वृद्धिका कारण आयुर्वेद र प्राकृतिक चिकित्सालाई बढावा गर्नेछ ।

५. देशभक्तिको भावनामा बढावाः कोभिड–१९ ले मानिसहरू विदेशमा भन्दा स्वदेशमै तथा घरमै सुरक्षित महसूस गर्छन् भन्ने कुरा प्रमाणित ग¥यो । विश्वभरका सरकारहरूले आफ्ना नागरिकहरूलाई जहाँ छन् त्यहीं बस्न अनुरोध गरिएकोमा नमानी उनीहरू आफ्नै देश फर्कन चाहे र फर्के । खाडी क्षेत्र लगायतमा भएका नेपालीहरूका हकमा भने लकडाउन र सरकारी नीतिका कारण त्यो हालसम्म सम्भव भएन ।

भारतमा बसोबास गर्ने नेपालीमध्ये १ लाख ३० हजार भन्दा बढी नेपाली लामो दूरी पैदल यात्रा गरेर नेपालको सिमानामा आइपुगे र तीमध्येका केही आ–आफ्नो घरसम्म पुग्न सफल भए । यस्तै हजारौं मानिस आफ्नो घर पुग्न ५०० किलोमिटर भन्दा बढी पैदल यात्रा गरे । कोभिड–१९ ले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ (आमा र जन्मभूमि स्वर्ग भन्दा प्यारो हुन्छ) भन्ने भनाइ चरितार्थ भएको छ । महामारीले देशभक्तिको भावना बढाएको छ ।

६. सभ्य र वातावरणीय मैत्री व्यवहारको प्रवद्र्धनः प्रकृतिमाथि मानिसको हस्तक्षेप, अतिक्रमण र दमनले थुप्रै जीव लोप भइरहेका छन् । जीवहरूको अस्तित्वमाथि हस्तक्षेप गरेको छ । यसको परिणामस्वरूप, प्राणीहरूको २५ प्रतिशत पृथ्वीबाट लोप भइसकेको छ, हुने क्रममा छ ।

मानिस र प्रकृतिको सन्तुलनको अभावमा नै प्रकृतिमा रहेका विभिन्न जीवजन्तुका भाइरस मानिसमा सरिरहेको वैज्ञानिकहरूको तर्क छ । बढ्दो प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तनका असरका कारण भविष्यमा पनि यस्तै संकट नआउला भन्न सकिन्न ।

अंग्रेज विद्वान् थोमस रोबर्ट माल्थसले त सन् १७९८ मै प्रतिपादित जनसंख्याको सिद्धान्तमा पृथ्वीको जनसंख्या वृद्धि र खाद्यान्न उत्पादनलाई सन्तुलनमा राख्न समय समयमा अनिकाल र महामारी देखा पर्ने विश्लेषण पनि गरेका थिए । हामीले ब्ल्याक डेथ, कोकोलिज्जली, स्पेनिश फ्लू, यूरोपियन फ्लू, अमेरिकन फ्लू, मलेरिया, एचआईभी/एड्स, स्वाइन फ्लू, इबोला, सार्स, मार्स आदि जस्ता विभिन्न प्रकारका महामारीहरूको अनुभव गरेका छौं जसले यस संसारबाट अरबौंको ज्यान लिएको छ ।

मानव व्यवहार र महामारीबीच प्रत्यक्ष सम्बन्ध रहन्छ । चिकित्सा वैज्ञानिकहरूले ती महामारीहरू विरुद्ध लड्न विभिन्न प्रकारका औषधि र चिकित्सा सम्बन्धित उपकरणहरू आविष्कार गरेका छन् । यद्यपि ती औषधिहरू कोभिड–१९ को उपचारको लागि पर्याप्त छैनन् । तसर्थ, यस महामारीले सामाजिक दूरी, व्यक्तिगत स्वच्छता, वातावरणप्रति सकारात्मक दृष्टिकोण, कार्य संस्कृति र आत्मनिर्भरता जस्ता आचरण परिवर्तन गर्न आग्रह गर्दछ । कोभिड–१९ ले सभ्य र वातावरणीय मैत्री व्यवहारलाई बढावा दिनेछ ।

(प्रा.डा. सापकोटा त्रिभुवन विश्वविद्यालय कानून संकायका पूर्व डीन तथा सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् ।)

 

प्रतिकृया दिनुहोस