समाचार आइतबार, वैशाख २८, २०७७

अमेरिकामा कोरोनाभाइरसबाट ८० हजारको मृत्यु, ब्राजिलमा पनि १० हजार नाघ्यो

हिमालखबर

अमेरिकामा कोरोनाभाइरसबाट ८० हजारको मृत्यु, ब्राजिलमा पनि १० हजार नाघ्यो

कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा ८० हजार नाघेको छ। त्यहाँ अहिलेसम्म ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ।

हिजो शनिबार १४ सय २२ जनाको मृत्यु भएको छ। पछिल्लो चार दिनदेखि दैनिक मृत्युदर घटे पनि स्थिर हुन सकेको छैन। मृत्युदर उतारचढाव हुँदा एक साताको दैनिक औषत मृत्युदर दुई हजारभन्दा माथि छ।

त्यहाँ संक्रमण दर पनि स्थीर छैन। शुक्रबार २५ हजार ५२४ नयाँ संक्रमित भेटिएका छन्। यो पछिल्लो तीन दिनमा भेटिएको कम संख्या हो। अप्रिल ७ मा २९ हजार ५३१ नयाँ संक्रमित भेटिएका थिए। पछिल्लो चार दिनमा मात्र एक लाख १० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

कोरोनाभाइरसबाट न्यूयोर्क सबैभन्दा बढी आक्रान्त छ। त्यहाँ अहिलेसम्म २६ हजार ७७१ जनाको मृत्यु भइसकेको छ। त्यसपछि न्यूजर्सीमा नौ हजार ११८, म्यासाचुसेट्टसमा चार हजार ८४० र इलिनोइसमा तीन हजार ३४९ जनाको मृत्यु भएको छ।

अमेरिकामा कूल संक्रमितको संख्या १३ लाख ४७ हजार पुगेको छ। तीमध्ये दुई लाख ३८ हजार निको भएका छन्। अहिले त्यहाँ १० लाख २९ हजारभन्दा बढी उपचाररत छन्।

उता ब्राजिल कोरोनाभाइरस संक्रमणबाट १० हजारभन्दा बढी मृत्यु हुने छैटौँ देश बनेको छ। त्यहाँ मृतकको संख्या १० हजार ६५६ पुगेको छ।

शनिबार त्यहाँ ६६४ जनाको मृत्यु भएको छ। शुक्रबार ८०४ जनाको मृत्यु भएको थियो। पछिल्लो चार दिनदेखि त्यहाँ दैनिक १० हजारभन्दा बढी नयाँ बिरामी पत्ता लागिरहेको छ।

ब्राजिलमा अहिलेसम्म एक लाख ५६ हजार संक्रमित भेटिइसकेका छन्। तीमध्ये ६१ हजार निको भएका छन्। अहिले करीब ८४ हजार उपचाररत छन्।

प्रतिकृया दिनुहोस