कला/साहित्य शुक्रबार, वैशाख २६, २०७७

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि उदय जिज्ञासुलाई

हिमालखबर

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि उदय जिज्ञासुलाई

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७६ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि उदय जिज्ञासु राईलाई प्रदान गर्ने निर्णय गरेको छ । कोषकार अविनाथ राईको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिंदैआएको छ।

२०५० सालदेखि प्रकाशित त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ त्रैमासिक (इक लिब्जु–भुम्जु) पूर्णाङ्क ७७, २०७६ वैशाख–असोजमा प्रकाशित ‘थाच्चुमस्याङ पाङ्तिम’ (अस्तिझैं लाग्छ) शीर्षक कविता छनोट भएको हो ।

यस कवितामा किराती वाम्बुले राई जातिको मुन्दुम परम्परा खाउमो पितृकार्यमा भेटिएका एक तन्नेरी पुरुषले र एक तरुनी नारीको शीलस्वभावलाई प्रेमिल भावको चर्चा रहेको छ ।

ग्रामीण जीवनमा हुर्किएकी एक नारीको सुकोमल हृदय अनि उसको सहनशील स्वभाव, समाजप्रतिको समर्पणलाई कवितामा अभिव्यक्त गरिएको छ ।

सृष्टिको मूल मानिने उनी नारीको सौन्दर्यप्रति आकर्षित हुनेहरूले गर्ने अपेक्षालाई सुललित ढंगले बयान गरिएको छ । यद्यपि मान्छेको जीवन क्षणभंगुर छ । त्यही जीवन अतीत भइदिएपछिको खातिर नै यस कविताको अभिव्यक्ति हो ।

यस कविताले वाम्बुले सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिनिधित्व गरेको पुरस्कार छनोट समितिले जनाएको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ उदयपुर गाउँमा २०४२ सालमा जन्मिएका कवि उदय जिज्ञासु राई वाम्बुले साहित्यका एक अभियन्ता हुन् ।

उनका रचना ‘वाम्बुले राडुयोरल्वाम कवितातिड्’(वाम्बुले राई भाषाका कविताहरू, २०६५० संयुक्त संग्रह)मा प्रकाशित छन् । उनले वाम्बुले मातृभाषा र खस–नेपाली भाषाका कविता, गीत, निबन्ध विधामा कलम चलाउँदै आएका छन् ।

यो पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा २०५५ सालमा स्थापना गरेका हुन् ।

राईले आफ्नो सिर्जना गीत, साहित्यबाट प्राप्त गरेको पारिश्रमिक तथा पुरस्कारबाट ‘लिब्जुभुम्जु पुरस्कार’ प्रदान गर्दै आएको र हाल लिब्जुभुम्जु अक्षयकोष निर्माण गरिएको छ ।

पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । उक्त पुरस्कार २० मंसीर, २०७७ मा हुने ‘२२औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समारोहमा प्रदान गरिने छ । यो पुरस्कारबाट हालसम्म १८ जना कविहरू पुरस्कृत भइसकेका छन्।

प्रतिकृया दिनुहोस