रिपोर्ट बुधबार, वैशाख २४, २०७७

प्रधानमन्त्री ओलीले पुरानै अडान राखेपछि स्थायी कमिटीको अजेण्डा नै अलमलमा

हिमालखबर

प्रधानमन्त्री ओलीले पुरानै अडान राखेपछि स्थायी कमिटीको अजेण्डा नै अलमलमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बस्नु अघिल्लो दिनसम्म बैठकको अजेण्डा तय हुनसकेको छैन । दिउँसो तीन बजे सचिवालय बैठक बस्दैछ ।

बिहीबार बस्ने स्थायी कमिटी बैठकमा पेश गरिने अजेण्डा टुंग्याउन सचिवालय बोलाइएको हो । तर, २० वैशाखको सचिवालय बैठकको सहमति अनुसार, बैठकको अजेण्डा तय गर्न प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि राजनीतिक प्रतिवेदन तयार हुन नसकेको उच्च स्रोतले जनाएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बुधबार दिउँसोसम्म प्रतिवेदन लेखेका छैनन् । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बुधबार पनि बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच भएको भेटवार्तामा दाहाललाई ओलीले सचिवालयमा भएको सबै कुरा स्थायी कमिटीमा लैजान जरुरी नभएको बताएकाे स्राेतकाे दाबी छ ।

स्रोतका अनुसार, सचिवालयमा गरिएको सहमति स्थायी कमिटीमा नलैजान ओलीले दाहालसँग बताएका थिए । २० वैशाखकाे सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएका कमजाेरीबारे आत्मालोचना गरेका थिए । त्यसै दिनको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने वातावरण बनाउने निर्णय गरेको थियो ।

अध्यादेश फिर्ता भइसकेकाले स्थायी कमिटी बैठकमा पनि पार्टी र सरकार सञ्चालनको कार्यशैलीबारे नै छलफल हुने नेताहरुले बताउँदै आएका छन् । तर, प्रम ओली यसबारे छलफलका लागि तयार नभएपछि दाहालले बैठकमा पेश गरिने अजेण्डा तयार पार्न सकेका छैनन् । बुधबार अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेटेपछि दाहालले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए ।

बधुबार बिहान पनि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् । तर, बुधबारको सम्वाद भन्दा प्रधानमन्त्री ओलीले थप लचकता देखाएनन् । सचिवालय बैठक अगाडि नै उपाध्यक्ष गौतमले समेत अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालयमा भएको सहमतिबाट पछाडि हट्ने संकेत गौतमले दाहालसँगकाे भेटमा बताएकाे स्राेतकाे दाबी छ ।  बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले भने पार्टी विधिमा चल्नुपर्ने, एक व्यक्ति एक पदको नीति कार्यान्वयन हुनुपर्ने लगायत माग राख्दै आएका छन् । स्थायी कमिटी बैठकमा पनि एक व्यक्ति एक पदको प्रस्तावमाथि छलफल गर्ने तयारी भएकाे बताइन्छ ।

राजनीतिक दल सम्बन्धी ऐन संशोधन र संवैधानिक परिषद ऐन संशोधन अध्यादेश जारी हुनासाथ चुलिएकाे विवादकै बीच २० स्थायी कमिटी सदस्यहरुले बैठकको माग गरेका हुन् । बैठकको माग गरिएको १५ दिनभित्र स्थायी कमिटी बोलाउनुपर्ने विधान अनुसार, २५ वैशाखमा सचिवालय बैठक राखिएको छ ।

 

प्रतिकृया दिनुहोस