समाचार बुधबार, वैशाख २४, २०७७

कोरोनाभाइरस संक्रमणमुक्त ६ भारतीय कोशी अस्पतालबाट डिस्चार्ज, अब क्वारेन्टिनमा राखिने

हिमालखबर

कोरोनाभाइरस संक्रमणमुक्त ६ भारतीय कोशी अस्पतालबाट डिस्चार्ज, अब क्वारेन्टिनमा राखिने
डिस्चार्ज भएकालाई अस्पतालबाट बिदा गरिँदै।

कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि कोशी अस्पतालमा उपचाररत ६ जना निको भएका छन्। निको भएकाहरुलाई कोशी अस्पतालले डिस्चार्ज गरेको छ।

प्रदेश १ मा अहिलेसम्म ३१ जना संक्रमित फेला परेका छन्। सबैको कोशी अस्पतालमा उपचार भइरहेको छ। ६ जना संक्रमणमुक्त भएपछि त्यहाँ अझै २५ जना उपचाररत छन्।

पीसीआर विधिबाट तीन चोटि परीक्षण गर्दा ६ जनामा कोरोनाभाइरस नभेटिएको हो। संक्रमणमुक्त भएका सबैलाई बुधबार बिहान डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

डिस्चार्ज भएका सबै भारतीय हुन्। बन्दाबन्दीका कारण सीमानाका बन्द भएका कारण उनीहरूलाई भारत पठाउन समस्या भएपछि विराटनगरमै क्वारेन्टिनमा राखिने भएको छ। उनीहरुलाई विराटननगरकै एउटा मस्जिदमा क्वारेन्टिन बनाएर राखिने भएको हो।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित एक मस्जिदमा बसेका बेला उनीहरुलाई संक्रमण भएको भेटिएको थियो। संक्रमित भेटिएका १६ मध्ये ६ जना निको भएका हुन्।

उनीहरुलाई ५ र ६ वैशाख संक्रमण भएको भेटिएको थियो। बाँकी १० जनाको उपचार जारी छ।

प्रतिकृया दिनुहोस