समाचार मंगलबार, वैशाख २३, २०७७

कोरोनाभाइरस संक्रमणः निको हुनेको संख्या १२ लाख नजिक, मृतक दुई लाख ५२ हजार नाघे

हिमालखबर

कोरोनाभाइरस संक्रमणः निको हुनेको संख्या १२ लाख नजिक, मृतक दुई लाख ५२ हजार नाघे

कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या विश्वभर ११ लाख ९४ हजारभन्दा बढी छन्। संक्रमण बढी फैलिएका जर्मनी, स्पेन, इटालीजस्ता देशमा निको हुनेको संख्या पनि धेरै छ।

सबैभन्दा बढी अमेरिकामा झन्डै एक लाख ८८ हजार निको भइसकेका छन्। तर, यहाँ संक्रमितको संख्या ठूलो भएकाले निको हुने दर भने कम छ। अमेरिकामा अझै नौ लाख ५५ हजार संक्रमित छन्।

स्पेनमा एक लाख ५५ हजारभन्दा बढी निको भइसकेका छन्। अब करीब ७१ हजार जना मात्र उपचाररत छन्।

जर्मनीले कोरोनाभाइरस संक्रमितको उपचार र संक्रमण रोकथाममा सफलता हात पार्दै गएको छ। त्यहाँ करीब एक लाख ३८ हजार जना निको भइसकेका छन्। अब करीब साढे २६ हजार मात्र संक्रमित उपचाररत छन् । जर्मनीमा मृतकको संख्या ६ हजार ९९३ पुगेको छ।

उता इटालीमा पनि उपचाररत संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ। त्यहाँ अहिलेसम्म करीब ८३ हजार संक्रमित निको भएका छन्।

यसैबीच कोरोनाभाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ५२ हजार २३५ पुगेको छ। सोमबार सबैभन्दा बढी अ‍ेमरिकामा एक हजार ३१८ जनाको मृत्यु भयो। त्यस्तै ब्राजिलमा ३१८ र फ्रान्समा ३०६ जनाको मृत्यु भयो।

प्रतिकृया दिनुहोस