टिप्पणी शुक्रबार, वैशाख १९, २०७७

कसरी जित्दैछ न्युजिल्याण्डले कोरोनाविरुद्धको लडाइँ ?

हिमालखबर

कसरी जित्दैछ न्युजिल्याण्डले कोरोनाविरुद्धको लडाइँ ?
न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्डेन ।

कोरोनाभाइरस संक्रमणलाई अमेरिकाजस्तो हल्का रुपमा नलिएर समयमै रोकथाम गर्न उचित र कठोर कदम चालेकै कारण महामारीबाट न्युजिल्याण्ड जोगिएको हो ।

विनोद पराजुली

कोभिड १९ महामारीविरुद्ध विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जारी गरेको संक्रमण सर्तकताको उच्चतह लेभल ४ पाँचहप्ते लामो बन्दाबन्दीपछि अब न्युजिल्याण्ड लेभल–३ मा  प्रवेश गरेको छ । अब दुई साता अर्थात् मे ११ सम्म यो तहमा रहे पनि सरकारले कोभिड १९ विरुद्ध विजय पाएको ठानिने सरकारी अधिकारीहरुको दाबी छ ।

लेभल–३ मा रहँदा के गर्ने, के नगर्ने भन्ने बारे सरकारले निर्देशिका सार्वजनिक गरिसकेको छ । सार्वजनिक तथा निजी विद्यालय, विश्वविद्यालय, उद्योग–व्यवसाय र सामाजिक क्रियाकलापहरु आंशिक तर सावधानीका साथ खुल्ने भएपछि झण्डै ५ लाख व्यक्ति काममा फर्कने छन् ।

सामाजिक दूरीको दायरा अब परिवारबाट नजिकका आफन्तसम्म फैलिएको छ । विवाह र मृत्यु संस्कारमा भेला हुन अलि सहज बनाइएको छ । जनजीवन सामान्य हुन त अझ धेरै समय लाग्ला, तर संक्रमणको जोखिमको भय भने अब कम हुँदै गएको छ ।

तथ्यांक अनुसार, शुक्रबार मे १ सम्म न्युजिल्याण्डमा कोरोभाइरस संक्रमित ११३२ जना र शंकास्पद ३४७ जना पाइएका छन्, जसमध्ये १२५२ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म १९ जनाको महामारीबाट मृत्यु भएको छ ।

छिमेकी अष्ट्रेलिया, बेलायत, अमेरिका, स्पेन लगायत अन्य धेरै राष्ट्र संक्रमणकै चरणमा रहेका बेला न्युजिल्याण्डले चाँहि कसरी कोरोनाविरुद्ध लडाईमा यस्तो सफलता हासिल गर्‍यो ? यतिबेला विश्वकै लागि यो सकारात्मक समाचार र एउटा पाठ बनिरहेको छ । र, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्डेन (३९) मा सबै नेताहरुको नजर परेको छ ।

झण्डै ९० प्रतिशत जनताले सरकारको लकडाउनको समर्थन गरेकाे न्युजिल्याण्डमा लकडाउनकै समयमा सडकमा सर्वसाधारण ।
तस्वीर: एएफपी

के गरिन् त अर्डेनले ?

प्रधानमन्त्री अर्डेनले देशमा कोरोनाभाइरस संक्रमण देखिनासाथ सम्भावित असर मध्यनजर गर्दै देशभरि सतर्कताको उच्चतम तह (लकडाउन) लगाउन ढिला गरिनन् । यद्यपि, यसअघि नै इटाली र स्पेनको भयावहबाट आत्तिएका प्रबुद्ध वर्गले त्यतिबेलै लकडाउनमा नगएको भनेर गुनासो गरिसकेका थिए ।

दुई दिन अघि नै पूर्व जानकारी दिएर लकडाउन गरिएका कारण न्युजिल्याण्डमा देश भित्रिने–बाहिरिने मात्र होइन, रोजगारी बन्द भएपछि घर फर्कनेको अन्यत्रको जस्तो सास्ती र द्विविधा यहाँ झेल्नु परेन । ग्रीष्मकालीन घुमघामका लागि देशबाहिर गएका र देशभित्रै आफ्नो गन्तव्यमा पुग्न, पर्यटकलाई फर्कन केही हदसम्म लचिलो नियम लगाइएको थियो । नेपाललगायत अन्य देशमा रोकिएकाहरुलाई सरकारले लकडाउनकै समयमा उद्धार गर्‍यो ।

लकडाउन लगत्तै न्युजिल्याण्डले चीन, इटाली र इरानसँग हवाई आवत–जावत स्थगन गर्‍यो । १७ मार्चपछि देश भित्रिएका सबैलाई एअरपोर्टमै फारम भरी १४ दिन स्वास्थ्य जाँच गरि क्वारेन्टिन र सेल्फ आइसोलेसनमा पठाउन थालियो । महामारी बढ्न नदिन न्युजिल्यान्डमा स्थायी बसोबास अनुमति भएका बाहेक सबैलाई अस्थायी रुपबाट प्रवेशमा प्रतिबन्ध लगाइयो ।

महामारीको जटिलतासँग जुध्दा देशको अर्थ–व्यवस्था, रोजगारीमा पर्न सक्ने असरलाई समेत मध्यनजर गर्दै प्रधानमन्त्री अर्डेनले लकडाउन अवधिभरका लागि रोजगारदातामार्फत कामदारलाई राहत दिने घोषणा गरिन् । व्यावसायिक कार्यालय तथा आवासीय घरको भाडा मिनाहा, छुट गर्ने अविलम्ब उपाय खोजिन् । ६ महीनासम्म घरबेटीले घरभाडा वृद्धि गर्न नपाउने र भाडा नतिरेकै कारण घरबाट निकाल्न नपाउने व्यवस्था पनि गरियो । त्यति मात्र होइन, ब्यांकमार्फत ऋण तिर्न ६ महीना खुकुलो बनाउने ‘लोन–होलिडे’ को व्यवस्था पनि गरियो ।

स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पञ्जा तथा कोरोनाका लागि अत्यावश्यक स्वाब परीक्षण किट लगायतका स्वास्थ्य सामग्रीको कुनै अभाव हुन दिइएन । सुशासनमा अर्डेन यति कठोर बनिन् कि लकडाउनका नियम उल्लंघन गर्ने स्वास्थ्यमन्त्रीलाई महामारीकै बीचमा कारवाही गरिन् ।

लकडाउनमा पनि अरु बेला जस्तै अत्यावश्यकीय वस्तुको आपूर्ति तथा वितरण सहज बनाउन, सम्भावित मूल्यवृद्धि बारे सर्वसाधारणका गुनासा सुन्न सरकारी संयन्त्र नै बनाइन् । दिनहुँ १ बजे स्वास्थ्य विभागका महानिर्देशकलाई लिएर आवश्यकता अनुसार स्वास्थ्यमन्त्री वा अर्थमन्त्रीलाई दायाँ–बायाँ राख्दै पत्रकारमाझ पछिल्ला २४ घण्टामा विकसित घटनाक्रम बारे जानकारी पनि अर्डेनले दिदै आएकी छन् ।

कोरोनासम्बन्धी आगामी योजना र कार्यक्रमबारे छलफल गर्न प्रायः हरेक साँझ दुई वर्षकी छोरीलाई काखमा राखेर फेसबूक लाइभमा उपस्थित भएर जनतासँग साक्षात्कार गर्न पनि भ्याइरहेकी छन् ।

प्रधानमन्त्री अर्डेनले सर्वसाधारणलाई सम्भव भएसम्मका राहत दिंदै कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न लचिलोदेखि हदैसम्म कडाइको उदाहरण प्रस्तुत गरेकाले नै हुनुपर्छ, पछिलो सर्वेक्षणमा झण्डै ९० प्रतिशत जनताले सरकारको लकडाउनको समर्थन गरेका छन् ।

कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने र लाखौंले रोजगारी गुमाउने अध्ययनहरु सार्वजनिक भइरहेका छन् । हवाईसेवा प्रवाहित हुँदा पर्यटन व्यवसाय र त्यससँग जोडिएका व्यापार,व्यवसाय, अन्तर्राष्ट्रिय विद्यार्थी आगमनमा परेको असरजस्ता कारण न्युजिल्याण्डको अर्थतन्त्रमा पनि ठूलै धक्का पुग्ने निश्चित छ ।

अर्डेन सरकारले कोभिड १९ को असरको चौतर्फी क्षतिलाई भरथेग गर्न र सबै व्यक्ति, समुदाय र क्षेत्र क्रियाशील बनाइराख्न १२.१ बिलियन डलर बराबरको आर्थिक राहत घोषणा गरिसकेको छ ।

अर्डेन सरकारले कोभिड १९ को असरको चौतर्फी क्षतिलाई भरथेग गर्न र सबै व्यक्ति, समुदाय र क्षेत्र क्रियाशील बनाइराख्न १२.१ बिलियन डलर बराबरको आर्थिक राहत घोषणा गरिसकेको छ । तर, त्यो पर्याप्त हुने हो वा होइन भन्ने कुरा आगामी दिनले देखाउनेछ ।

त्यसका लागि पनि अर्डेनसँग आउँदो सेप्टेम्बरमा हुने आमनिर्वाचनबाट फेरि चुनिने वा नचुनिने भन्दा पनि लकडाउनपछि सन् २००८—०९ ताकाको जस्तो आर्थिक मन्दीको संकट आउन नदिन अर्थतन्त्र सुधारको योजनामा डट्नुको विकल्प छैन । दुबै संकटसँगको जितले मात्र अर्डेनलाई अहिले कतिपयले भनेजस्तो विश्व नेताको लहरमा उभ्याउनेछ ।

 

 

प्रतिकृया दिनुहोस