टिप्पणी विहीबार, वैशाख १८, २०७७

कोरोनाभाइरस विरुद्ध लडिरहेका यी डिजिटल सिपाही

गणेश आचार्य

कोरोनाभाइरस विरुद्ध लडिरहेका यी डिजिटल सिपाही

अहिले कोरोनाको महाव्याधिसँग विश्वभरि लडिरहेका योद्धाहरुलाई प्रविधिका विभिन्न संयन्त्रहरुले काँधमा काँध मिलाएर साथ दिइरहेका छन् ।

गणेश आचार्य

स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले अग्रपंक्तिमा बसेर कोभिड १९ महाव्याधिविरुद्ध लडिरहँदा संसारका प्रसिद्ध अनुसन्धान केन्द्र, विश्वविद्यालय तथा प्रयोगशालाहरु कोरोनाभाइरसको प्रकृति, असर र सम्भावित औषधि लगायतको खोजमा व्यस्त छन् । अनि, ती सबैमा ‘होस्टेमा हैसे’ मिलाउँदै छन्, प्रविधिका थुप्रै आयामहरु ।

प्रविधिको पछिल्लो महत्वपूर्ण विकास ‘आर्टिफिसियल इन्टेलिजेन्स’ कोरोना विरुद्धको लडाइँको एउटा महत्वपूर्ण डिजिटल सिपाही हो । चीन, अमेरिका, बेलायत, थाइल्याण्ड लगायतका देशहरुले धेरै सार्वजनिक स्थलमा यस्ता क्यामरा जडान गरे, जसले टाढैबाट मान्छेको शरीरको तापक्रम जाँचेर मुहार चिन्ने प्रविधि प्रयोग गरी उसको ठेगाना, मोबाइल, इमेल लगायतमा सन्देश पठाउने संयन्त्रसम्मको विकास गरे । यो प्रविधिको सहायताले भौतिक दूरी राख्नुपर्ने यो बेलामा कोरोनाभाइरसका सम्भावित संक्रमित पत्ता लगाउन सजिलो भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स जस्तै अर्को डिजिटल सिपाही हो ‘बिग डेटा’ अर्थात् तथ्यांकको ठूलो परिमाण । बिग डेटाले अनुसन्धानकर्ताहरुलाई कोरोनालाई कसरी जित्ने भन्ने अध्ययन गर्न सघाइरहेको छ । केही प्रसिद्ध कम्पनीहरुले बिग डेटा र मेसिन लर्निङ्ग प्रविधिको प्रयोग गरी कोरोना विरुद्ध प्रतिरोधी क्षमता बारे पनि अनुसन्धान गरिरहेका छन् ।

क्यानडाको एब्–सेलेरा भन्ने कम्पनीले कोरोनालाई जितेर घर फर्किसकेकाको शरीरमा रहेका ५० लाखभन्दा बढी कोषको विश्लेषण मार्फत त्यसमध्ये कुन कोषले कसरी एन्टिबडी उत्पादन गर्छ भन्ने अध्ययन गरेको छ । भविष्यमा कोरोनाको थेरापीका लागि आवश्यक पर्न सक्ने ५०० वटा एन्टिबडी पत्ता लागेको र थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

कम्प्युटर र इन्टरनेटको सहयोगले बिरामीलाई नभेटेरै उपचार गर्ने पद्धति ‘टेलिमेडिसिन’ समेत यो समयमा निकै उपयोगी सावित भएको छ । बिरामी–स्वास्थ्यकर्मी संक्रमण रोक्न पनि विकसित तथा अल्पविकसित देशका धेरै अस्पतालले टेलिमेडिसिनको प्रयोग गरेका छन् । कतिपय ठाउँमा प्रविधि सम्बन्धी काम गर्ने निजी संस्थाहरुले मोबाइल या एप मार्फत बिरामी र चिकित्सकलाई जोड्ने गरेका छन् । चीनको सांघाईमा रहेको सुहुई पब्लिक अस्पतालले तिब्बत, अझ स्पेनमा रहेका बिरामीलाई समेत टेलिमेडिसिन मार्फत उपचार गरेको छ ।

 

कोरोनाले संक्रमितको श्वासप्रश्वास प्रणालीमा असर गर्छ । संक्रमितहरुको संख्या बढ्दै गएपछि कृत्रिम रुपमा सास फेर्न सजिलो पार्ने मेसिन भेन्टिलेटरको समेत अभाव हुन थाल्यो । यस्तो बेला कसरी छोटो समयमा भेन्टिलेटर बनाउन सकिन्छ भन्नेतर्फ विश्वको ध्यान केन्द्रित भयो ।

यसैबीच टेस्ला र स्पेस एक्स कम्पनीका संस्थापक वैज्ञानिक इलन मस्कले आफूहरुले स्पेस एक्स नामक अन्तरिक्ष यान सम्बन्धी परियोजनाका लागि बनाइएका भेन्टिलेटर आवश्यक ठाउँमा पुर्याइदिने भने । तर, त्यति मात्रैले नपुग्ने भएपछि प्राविधिज्ञहरुले थ्री–डी प्रिन्टर प्रयोग गरेरै भेन्टिलेटरहरु निर्माण गरेका छन् ।

थ्री–डी प्रिन्टरले मास्क, स्यानिटाइजर अड्याउने स्ट्यान्ड मात्र हैन, चीनमा त कोरोना परीक्षणका लागि स्वाब संकलन बुथ, क्वारेन्टिन कक्ष, अनुहार छोप्ने पारदर्शी सिल्ड लगायत ढोकाका लागि प्लाष्टिकका हेन्डलहरु समेत प्रिन्ट गर्यो । यस अर्थमा थ्री–डी प्रिन्टर कोरोना विरुद्धको लडाइँको महत्वपूर्ण प्राविधिक हिस्सा बनेको छ ।

विकसित देशका ठूला अस्पताल, क्वारेन्टिन कक्ष, सार्वजनिक स्थलहरुमा रोबोटलाई संक्रमितसम्म खाना पुर्याउने, औषधि छर्किने, स्यानिटाइजर बाँड्ने, रगत र स्वाबको नमूनाहरु सम्बन्धित ठाउँमा पुर्याउने लगायतका काममा लगाइयो । कति ठाउँमा अति संक्रमित ठाउँको अवस्था बुझ्ने, आवश्यक राहत सामग्री पठाउन ड्रोनहरुको प्रयोग पनि सफल देखियो ।


स्पेन र चीनका अति संक्रमित क्षेत्रहरुमा ड्रोनमा जडित स्पिकर मार्फत घरघरमा स्वयम् एकान्तवासमा बस्न पनि आग्रह गरियो । महाव्याधिका बेला चालकसँगै संक्रमणले समेत यात्रा गर्ने जोखिम रहेकाले धेरै अस्पतालले चालकरहित भ्यानहरु पनि प्रयोग गरे ।

भौतिक दूरी कायम गर्दै साना या ठूला, औपचारिकदेखि अनौपचारिक बैठक गर्न अहिले विश्वभरि विभिन्न भिडियो कन्फ्रेन्स प्रणालीहरु प्रयोग भइरहेका छन् ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै कार्यालयको काम पनि व्यापक छ । यस्तो अवस्थामा जुम, सिस्को वेबएक्स, गुगल मिट, गुगल डुओ, ईक्याम लाइभ, स्काइप मिट नाओ, माइक्रोसफ्ट टिम्स् लगायतका इन्टरनेटमा आधारित भिडियो कन्फ्रेन्स एप्लिकेशनलाई समेत यो लडाइँका बलियो सिपाही मान्नुपर्छ ।

सामाजिक संजालले समेत यो बेलामा धेरैलाई सजिलो पारेको छ । प्रयोगकर्तालाई को, कहाँ, कसरी बसिरहेको छ भन्ने सूचना दिइरहेको सामाजिक संजालले मोबाइल फोनमा हुने जीपीएसको सहयोगमा राष्ट्रहरुलाई चाहिँ प्रयोगकर्ता पछिल्लो समय कहाँ, कहाँ पुग्यो भन्ने जानकारी पत्ता लगाउन समेत सहयोगी बनिरहेको छ ।

विश्व स्वास्थ्य संगठन, जोन्स् हप्किन्स् विश्वविद्यालय, वल्र्डोमिटर, केगल लगायतले ती तथ्यांकहरुलाई नक्सा, ग्राफ लगायतमा रुपान्तरण गरेर साधारण मान्छेले बुभ्mनेगरी इन्टरनेटमा ‘ड्यासबोर्ड’ बनाएर प्रदर्शन गरिरहेका छन् । नेपालमै पनि स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण र त्यसबारे जनचेतनामूलक जानकारी बाँड्न भाइबर, ह्वाट्सएप, फेसबूक लगायतमा बनाएका च्याटरुमले सघाउ पुर्याइरहेका छन् ।

यसैगरी कम्प्युटरलाई दिइएको जानकारीको आधारमा हामीलाई स्वचालित रुपमा उत्तर दिने टेलिफोन हटलाइन तथा च्याटबोट (हामीले सोधेका प्रश्नहरुको मुख्य शब्दावलीका आधारमा उत्तर दिने स्वचालित संयन्त्र) पनि यतिबेला धेरै सहयोगी सिद्ध भएका छन्।

नेपालमा भने कोरोना रोकथाम, अनुसन्धान र उपचारका लागि धेरै नै सीमित मात्रामा प्रविधि र डिजिटल उपकरणहरु प्रयोग भइरहेका छन् । हामीले प्रयोग गरिरहेका सबैजसो प्रविधि अरुकै आविष्कार हुन् । राष्ट्रिय आविष्कार केन्द्र मार्फत महावीर पुनको टोलीले केही उपकरण बनाइरहेको छ । तर, फेरि पनि कोरोनाको महाव्याधिसँग लड्न हामीले डिजिटल तथा प्राविधिक आविष्कारहरुको भरपूर प्रयोग गर्न सकिरहेका छैनौं ।

हो, प्रविधिको प्रयोगले मान्छेको गोपनीयता या अन्य विषयमा पार्ने प्रभावबारे अर्को बहस हुन सक्ला, तर, विभिन्न कालखण्डमा प्रविधिको क्षेत्रमा भएका आविष्कारहरुले अहिले कोरोना महामारी विश्वव्यापी भइरहँदा विश्वलाईनै सहयोग गरिरहेका छन् । अहिले ती आविष्कारहरु नहुँदा हुन् त हामीले यति छिटो सूचना पाउने थिएनौं । सम्भावित औषधिहरु बारे यति धेरै अनुसन्धान हुन सक्दैनथे । संक्रमितहरुको यात्रा विवरण निकाल्न पनि यति सजिलो हुँदैनथ्यो । आशा गरौं, अब यी प्राविधिक सिपाहीहरुसँगको सहकार्यमा चाँडै नै हामीले महामारीविरुद्धको यो लडाइँ जित्नेछौं ।

 

प्रतिकृया दिनुहोस