टिप्पणी मंगलबार, वैशाख १६, २०७७

हाम्रा विश्वविद्यालयः धमाधम डिग्री वितरण, अलपत्र अनुसन्धान

हिमालखबर

हाम्रा विश्वविद्यालयः धमाधम डिग्री वितरण, अलपत्र अनुसन्धान
प्रा. अरुण गुप्तो, पीएचडी

अमेरिकी विश्वविद्यालयहरुले गर्ने अध्ययन र अनुसन्धानको विशेषता भनेको विश्वव्यापी सम्बन्ध हो । अर्को विशेष पक्ष अनुसन्धानका विषयवस्तुले विश्वव्यापी एजेन्डा बोक्न सक्नु हो । समग्रमा उनीहरुले गर्ने अनुसन्धान विश्वव्यापी महत्वका हुन्छन् ।

अहिले हार्वड विश्वविद्यालयमा मानव–प्रोटिन अन्तरक्रियाको बारेमा अध्ययन हुँदैछ । यसले क्यान्सर र कोभिड १९ बारे महत्वपूर्ण जानकारी सार्वजनिक गर्न सक्छ । फलतः जोन हप्किन्स विश्वविद्यालयले कोभिड १९ का बारेमा गरेको अनुसन्धानसम्बन्धी चासो पनि विश्वव्यापी नै छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिचयुट अफ टेक्नोलोजी (एमआइटी) ले विगत १० वर्षमा गरेका मुख्य अनुसन्धानहरु विश्वकै लागि अनुकरणीय छन् । त्यहाँ भविश्यका शहरहरु, हलुका मोटरगाडी, थर्मोइलेक्ट्रिक सेमीकन्डक्टरदेखि ट्याटुलाई सर्किट टच प्याडको रुपमा प्रयोग गर्नेबारेमा समेत निरन्तर अनुसन्धान भइरहेका छन् ।

दक्षिण एशियामा गरिने स्थानीय अनुसन्धानको अनुसन्धान पद्धति कत्तिको अमेरिकीकरण गरिएको हुन्छ त्यो महत्वपूर्ण छ किनभने धेरैजसो विषयको अनुसन्धान पद्धति अमेरिकाले नै निर्धारण गरिरहेको देखिन्छ।

विश्व्यापी एजेन्डाको कुरा गर्ने हो भने एमआईटी र हार्वडलगायतका विश्वविद्यालयहरुको वेबोमेट्रिक्स (विश्वका विश्वविद्यालयको वेबमा देखिएको स्तर) मा स्पष्ट प्रभाव देखिन्छ ।

यसैगरी चीनले पनि अन्तरर्राष्ट्रिय विश्वविद्यालयहरुसँग साझेदारी गरिरहेको छ । चीनको स्थिति यस्तो थिएन । सन् १९७० भन्दा पहिले विज्ञान र प्रविधिको अनुसन्धान पद्धति सोभियत मोडेलमा निर्भर थियो जुन असफल भयो । यो मोडेल असफल हुनाको कारण अनुसन्धान र शिक्षण अलग हुनु हो । अर्थात् अनुसन्धानका बारेमा शिक्षण भइरहे पनि व्यवहारमा उतार्न नसक्नु हो । यसका कारणहरु सीमित थिए । त्यो भनेको असाध्य राजनीतिक नियन्त्रण, सीमित स्रोतसाधन र अन्तरविभागीय अनुसन्धानको कमी हो ।

१९९० पछि मात्रै चीनले उच्च शिक्षा पुनरसंरचना र विस्तार ग¥यो । चीनको समकालीन शैक्षिक रुची अनुसन्धानका लागि अनुसन्धान गर्नु मात्र नभएर विश्वव्यापी प्रभावसँगै देशको विकास कसरी गर्न सकिन्छ भन्नेमा जोडिएको हुन्छ । चीनले गर्ने अनुसन्धानहरु आवश्यकता र उपयोगिताका आधारमा छनौट भइरहेको देखिन्छ । विश्वमा हुने कुनै पनि अनुसन्धानमा अमेरिका पछि चासो राख्ने देश चीन नै हो । 

अमेरिकी र चिनिया अनुसन्धानको विशेषता भन्नु नै अध्ययनको प्रभावकारिता र फाइदासँग जोडिनु हो । अमेरिका र चीनका विश्वविद्यालयका विभिन्न संकाय र विभागहरुको ध्यान सरकार, संस्था र ठूला व्यापारिक संस्थाका योजना र कार्यक्रममा सघाउ पुर्याउन सक्ने अनुसन्धानमा मात्र केन्द्रित भएको हुन्छ । साथै अनुसन्धानको प्राथमिक मूल्यांकन गर्दा विद्यार्थीलाई ‘जब मार्केट’मा पुर्याउन सकिन्छ कि सकिँदैन भन्नेमा ध्यान दिइएको हुन्छ ।

विश्वव्यापी परिप्रेक्ष्य

कुनै पनि विश्वविद्यालयले गर्ने अनुसन्धान विश्वव्यापी प्रकृतिको छैन भने त्यो अधुरो हुन्छ । फलस्वरूप शिक्षणले समग्र विकासमा सघाउ पु¥याउन सक्दैन ।

अमेरिकी र चिनियाँ अनुसन्धानको प्रवृत्ति विश्वव्यापी छ । चीन र अमेरिकी विश्वविद्यालयले जस्तै अमेरिकी अनुसन्धान पद्धतिलाई  लिग अफ युरोपियन रिसर्च युनिभर्सिटिज (लेरु) र युरोपियन युनिभर्सिटी एसोसिएसन (यीयुए) ले पनि स्वीकार गरेर सोही अनुरुप गर्न थालेका छन् । लेरुको केन्द्रीय कार्यालय बेल्जियमको ल्युभेनमा र यीयुएको ब्रसेल्समा रहेको छ । यी संस्थामा युरोपका प्रसिद्ध विश्वविद्यालयहरु सदस्य रहेका छन् । 

अध्यापन र  विश्वव्यापकता सम्बन्धमा एउटा रोचक प्रसङ्ग छ । चीनका कन्फुसियस, ग्रीसका प्लेटो र पायथागोरस, पर्सियाका जोरोआस्तर, भारतका शंकराचार्य र रामानुज लगायतका मीमांसकहरुले व्यापक र मौलिक प्रश्नहरु गर्थे । अनुसन्धान स्थानीयतामा सीमित नभएर विश्वव्यापी चासोले भरिएका हुन्थे ।

अनुसन्धान र व्यावहारिकता

जर्मनीस्थित अन्तरर्राष्ट्रिय अनुसन्धान संस्था ‘म्याक्स प्लान्क’ ले 'इन्साइड मस्ट प्रसिड एप्लिकेसन' कार्यान्वयन गर्नुअघि अन्तरदृष्टि आवश्यक हुन्छ भन्ने मान्यता राख्छ ।

ज्ञानको स्थानान्तरण आधारभूत अनुसन्धानबाट व्यावहारिकता तिर केन्द्रित हुन्छ । पहिले अनुसन्धानकर्ताको आइडिया हुनुपर्यो त्यसपछि कार्यान्वयन गर्नुपर्यो । यस्तो भए अनुसन्धानको उपयोगिता प्रष्टिन्छ । यसैलाई अनुसन्धानको भाषामा “लिनिअर मोडेल” पनि भनिन्छ ।

लिनियर मोडेलका केही त्रुटिहरु पनि छन् । अर्थात् सबै अनुसन्धान उपयोगितावादी दृष्टिले मात्र हेरेर हुँदैन । कुनै अनुसन्धान व्यवहारिक पक्ष नहेरिकन पनि गरिएका हुन्छन् । यसअर्थमा मानविकी अनुसन्धानको झुकाव व्यवहारिक पक्षलाई ध्यान नदिई गरिएको हुन्छ भन्न सकिन्छ ।

नेपालका विश्वविद्यालयहरुले गर्ने धेरै अनुसन्धान (बेसिक रिसर्च) आधारभूत अनुसन्धानतर्फ केन्द्रित रहेको देखिन्छ ।

ज्ञानको स्थानान्तरण आधारभूत अनुसन्धानबाट व्यावहारिकता तिर केन्द्रित हुन्छ । पहिले अनुसन्धानकर्ताको आइडिया हुनुपर्यो त्यसपछि कार्यान्वयन गर्नुपर्यो । यस्तो भए अनुसन्धानको उपयोगिता प्रष्टिन्छ । यसैलाई अनुसन्धानको भाषामा “लिनिअर मोडेल” पनि भनिन्छ ।

केही विद्वान्का दृष्टिकोणमा आधारभूत अनुसन्धान र व्यवहारिक अनुसन्धानलाई छुट्याएर हेर्नु हतारको निर्णय हो । हरेक अनुसन्धानको व्यवहारिक पक्ष हुन्छ । त्यो जीवनका लागि होस् वा आर्थिक विकासको लागि नै किन नहोस् ।

आधारभूत अनुसन्धान व्यवहारिक हुन्छ, त्यो सत्य हो तर यसका केही सीमितता पनि छन् । अमेरिकी, युरोपेली, चिनियाँ, जापानी अनुसन्धानको उपयोगिता विशेष गरी आर्थिक र सामाजिक क्षेत्रमा देखिन्छ किनभने व्यवहारिक अनुसन्धानको उद्देश्य र त्यसको सेवा विकाससँग जोडिएको हुन्छ।

यस्ता कुराको निर्धारण सरकार, विश्वविद्यालय, र देशको औद्योगिक नीतिहरुले गर्नुपर्छ । त्यही अनुसार अनुसन्धान गर्न आवश्यक बजेट (कोष) निर्धारण गर्नु र उपयोगिता मूल्याङ्कन गर्नु कुनै पनि शिक्षा प्रणालीको आवश्यकता हो ।

हाम्रा अनुसन्धान

अमेरिकाका केही प्रख्यात विश्वविद्यालयमा (हायर एजुकेसन रिसर्च) उच्च शिक्षा अनुसन्धानमा जति खर्च गरिन्छ त्यति दक्षिण एसियाका ठूला राष्ट्रले पनि गरेका हुँदैनन् । खर्चकै कारणले पनि अनुसन्धानका सबै अङ्ग पुर्‍याउन कठिन भएको हुनसक्छ ।

कोलम्बिया युनिभर्सिटीका प्राध्यापक गायत्री स्पिभाकले भने जस्तै हामी अरु शक्ति संस्था (अनुदान दिन सक्ने संस्था वा सञ्चार संस्था, विश्वविद्यालय, कर्पोरेट इन्स्टिच्युसनहरु) का लागि सहज सूचनादाता (नेटिभ इन्फोर्मेन्ट) बनिरहेका हुन्छौं ।

हामीकहाँ गरिने अनुसन्धान विश्वव्यापी मान्यता र व्यवहारिकतामा खरो ढङ्गले उत्रन नसक्नुको एउटा कारण यो पनि हुनुपर्छ । खर्चका कारणले विषयवस्तु छनौटदेखि विज्ञानपरक अनुसन्धान शैली अवलम्बन गर्नसमेत कठिनाई भएको अनुमान गर्न कठिन छैन ।

हाम्रा विश्वविद्यालयको पुस्तकालयका र्याकहरुमा सहस्र अनुसन्धान प्रतिवेदनहरु अलपत्र अवस्थामा रहनुको कारण पनि यही हो भन्ने लाग्छ । तिनले अनुसन्धानको उद्देश्य पूरा गर्न सकिरहेका छैनन् । विश्वविद्यालयले अनुसन्धानलाई कक्षा सञ्चालन र डिग्री प्रदान गर्न मात्र निरन्तरता दिइरहेको देखिन्छ ।

यस्ता समस्याहरुको औपनिवेशिक पक्ष पनि छन् । कोलम्बिया युनिभर्सिटीका प्राध्यापक गायत्री स्पिभाकले भने जस्तै हामी अरु शक्ति संस्था (अनुदान दिन सक्ने संस्था वा सञ्चार संस्था, विश्वविद्यालय, कर्पोरेट इन्स्टिच्युसनहरु) का लागि सहज सूचनादाता (नेटिभ इन्फोर्मेन्ट) बनिरहेका हुन्छौं ।

औपनिवेशिक पक्षको एउटा उदाहरण हेरौं । मेरा एक विद्यार्थी युरोपमा तिब्बतियन मेडिसिनमा अनुसन्धान गरिरहेका छन् तर त्यसको फाइदा विकसित राष्ट्रहरुको परिमार्जित औषधी विज्ञानको वौद्धिक र व्यवहारिक प्रयोगशाला हुँदै हाम्रो पसलहरुमा आउन बेर छैन । यो हाम्रो अनुसन्धानक्षेत्रमा देखिएको नीतिगत कमजोरी हो तर यही पक्ष समेटेकाले विदेशी अनुसन्धानको प्रवल पक्ष बनेको छ।

मध्यकालीन बोलोना, पेरिस, अक्सफोर्ड, क्याम्ब्रिज जस्ता विश्वविद्यालयका विद्यार्थीहरुले आफूलाई पढाउने अध्यापकले सम्बद्ध विषयमा अनुसन्धान गरिरहेको छ छैन त्यसका आधारमा छनौट गर्थे। यसले जो आफ्नो अनुभवबाट राम्रो अध्यापन गर्ने क्षमता राख्थे तिनीहरु राम्रा अध्यापकका रुपमा गनिन्थे ।

हाम्रो अनुसन्धानको मुख्य कमजोरी अध्यापन र अनुसन्धानको सम्बन्धलाई जोड्न नसक्नु हो । अनुसन्धानको मुख्य सम्बन्ध अध्यापनसँग हुन्छ । राम्रो अध्यापनको सहसम्बन्ध राम्रो अनुसन्धानसँग हुन्छ । शिक्षकले विभागीय अनुसन्धानमा कार्य गरेको छैन भने उसको प्राध्यापन योग्यता अपूर्ण हुन्छ । हुनत यो क्षमता मात्रै अध्यापकको मूल्याङ्कन गर्ने मापदण्ड होइन तर पनि यो महत्वपूर्ण कुरा हो ।

रोचक प्रसंग पनि छ । मध्यकालीन बोलोना, पेरिस, अक्सफोर्ड, क्याम्ब्रिज जस्ता विश्वविद्यालयका विद्यार्थीहरुले आफूलाई पढाउने अध्यापकले सम्बद्ध विषयमा अनुसन्धान गरिरहेको छ छैन त्यसका आधारमा छनौट गर्थे । यसले जो आफ्नो अनुभवबाट राम्रो अध्यापन गर्ने क्षमता राख्थे तिनीहरु राम्रा अध्यापकका रुपमा गनिन्थे । 

पहिला पहिला त्रिभुवन विश्वविद्यालयका शोधहरुको बाह्य मूल्याङ्कन हुन्थ्यो । पीएचडीको शोधपत्र बाहिरी प्राध्यापकलाई पठाइन्थ्यो तर अहिलेको प्रचलन अनुसार चिनेका विज्ञले मात्रै हेरिरहेको पाइन्छ । मूल्याङ्कन सम्बन्धी एउटा भनाइ छ– आफ्नो कीर्तिको मूल्याङ्कन गर्न आफूले नचिनेको व्यक्तिलाई दिनुपर्छ । यस्तो परम्पराको ह्रासले गर्दा हाम्रो शोध र मूल्याङ्कन दुवै कमजोर भएको छ ।

निष्कर्ष

विश्वव्यापकता, व्यवहारिकता, अनुसन्धान र अध्यापनलाई सुदृढ बनाउन हाम्रा संस्थाहरुको योजना विकासमुखी हुनु आवश्यक छ । स्तरीय शोध गर्ने क्षमता भएका शोधकर्ताहरुको पहिचान गर्नु राष्ट्रको समग्र विकासको लागि अपरिहार्य छ ।

नेपाली विश्वविद्यालयहरुमा गरिने अनुसन्धानहरुमा पद्धतिगत परिवर्तन अति जरुरी भएको छ । विज्ञानदेखि मानविकी क्षेत्रसम्मका शोधले विश्वव्यापकता, व्यवहारिकता, अनुसन्धान र अध्यापनको सम्बन्धलाई स्पष्ट पार्दै विद्यमान संकाय र विभागहरुमा तत्कालै परिवर्तन चाहिएको छ ।

प्रतिकृया दिनुहोस