ब्लग मंगलबार, वैशाख १६, २०७७

कोरोनाभन्दा खतरनाक ‘पितृसत्ता भाइरस’

हिमालखबर

कोरोनाभन्दा खतरनाक ‘पितृसत्ता भाइरस’

अहिले संसारलाई कोरोनाभाइरसको महामारीले हल्लाएको छ । तर, एकछिन सोच्नुस् त, युगौंदेखि समाजमा जरा गाडेको ‘पितृसत्ता भाइरस’ले समाजलाई कति क्षति पुर्‍याइरहेको होला ?

- कमला भसीन

म वर्षौंदेखि नारीवाद बारे बोलिरहेकी छु, लेखिरहेकी छु । अहिले के मा खुशी लाग्छ भने, हाम्रो दक्षिण एशियामा नारीवाद एउटा महत्वपूर्ण मुद्दा बनेको छ ।

दक्षिण एसियामा नारीवाद सशक्त छ । यहाँका हरेक देशमा नारीवादी छन्, नारीवादी आन्दोलन द्रुत छ । नेपालका गाउँदेखि शहरसम्म नारीवादका विषय उठिरहेका छन् । हर क्षेत्रमा नारीवादको अभियान छ भन्नैपर्दा, दक्षिण एसियाली नारीवादीका लागि नेपाल मुख्य गन्तव्य बनेको छ । नारीवादको घर बनिसकेको छ ।

तर, फेरि पनि नारीवाद बारे विभिन्न भ्रम हटेको छैन । त्यही भ्रम जुन वर्षौं पहिलेदेखि थियो । जस्तो, नारीवाद पुरुष विरोधी अभियान हो, यसले पुरुषको अस्तित्व नामेट गर्छ र महिलाको मात्र संसारको कल्पना गर्छ । यो बिल्कुलै गलत र असत्य तर्क हो ।

नारीवादले पुरुषको विरोध होइन, पुरुषसत्ताको विरोध गर्छ, सोचको विरोध गर्छ । र, महिला र पुरुषबीच समानताको माग गर्छ । त्योभन्दा पर्तिर नारीवादले समाजका हरेक असमानताको विरोध गर्छ । जातिवादको, नश्लवादको विरोध गर्छ । यौनिक तथा अल्पसंख्यकमाथि हुने भेदभावको विरोध गर्छ । र, जबसम्म यस्तो विभेद समाजमा रहिरहन्छ, नारीवादको आन्दोलन चलिरहन्छ ।

समानता नै नारीवाद
के हो त पितृसत्ता अर्थात पुरुषसत्ता ?

पितृसत्ताका प्रकार एकै हँुदैनन् । ठाउँ अनुसार यसको स्वरुप फरक फरक हुन्छ । जस्तो अमेरिकामा हुने नारीवादी आन्दोलनमा दाइजो प्रथा, छाउपडीजस्ता विषयमा आवाज उठ्दैन । किनकि त्यहाँ यस्ता परम्परागत विकृतिका समस्या छैनन् । तर, महिला हिंसा र बलात्कार त्यहाँ पनि छ। महिला हिंसाका यी मुद्दा स्थानीय र वैश्विक हुन् ।

संसारका सात अर्ब मानिसमध्ये साढे तीन अर्ब महिला छन् । तीनमध्ये एक अर्ब महिला हरेक दिन हिंसा सहन्छन्, के यो सामान्य अवस्था हो ? तर, पितृसत्ताका लागि यो सामान्य झैं बनिरहेको छ । पितृसत्तात्मक चेत हावी भएका सांस्कृतिक परम्परा र मूल्यमान्यताले महिलामाथि विभेद गर्न सधैं सघाइरहेको छ ।

पितृसत्ताले समाजलाई कसरी अन्धाधुन्द लखेटेको छ भनेर बुझ्न हाम्रा संस्कृति हेरे पुग्छ । हाम्रो कर्मकाण्ड छोरीलाई कन्यादान दिए स्वर्गमा बास पाइने कुरामा अझैं विश्वास गर्छ । यसको अर्थ छोरी दान दिने बस्तु हो । विवाह गर्दा जहिले पनि पुरुष राम्रो कमाउने, जेठो, बलियो शारीरिक बनावट हुनुपर्ने मापदण्ड राखिन्छ । यसले महिलालाई दासी र पुरुषलाई पति अर्थात् मालिक, शासक वा परमेश्वरको स्वरुप दिन्छ ।

कोही पुरुष म पनि नारीवादी हुँ भनेको सुनिन्छ । तर, भन्नु, मान्नु र व्यवहारमा नारीवादी हुनु फरक कुरा हुन् । कतिले प्रश्न पनि गर्छन्, नारीवादलाई आत्मसात गर्न मैले के गर्न सक्छु ?

यति कुरा मनन् गर्नु नै एउटा उपलब्धि त हो तर दिमागमा पुरुष सोच बोकेर नारीवादी भइँदैैन । व्यवहारमै नारीवादी देखिनुपर्छ, अर्थात् सुरुवात घरैबाट गर्नुपर्छ । घरको काममा महिलासँगै लाग्नुस्, छोराछोरीलाई समान तरिकाले काम सिकाउनुस्, श्रीमतीलाई आफू पतिपरमेश्वर हुँ भन्ने भ्रमबाट मुक्त गराई जीवनसाथीको व्यवहार गर्नुहोस् ।

अनि, मुख्य कुरा छोरीलाई आफ्नो जीवनसाथी आफैं रोज्न दिनुहोस् । भाइटीका, रक्षाबन्धन पुनः परिभाषित गर्नुहोस्, ताकि दुवैमा समानता देखियोस् । छोरा, छोरी या तेस्रोलिंगी सबैलाई समान सम्पत्तिको हक दिनुहोस् ।

विगत ३/४ हजार वर्षदेखि पुरुषको नजरबाट हेरिएको संसार, पुरुषद्वारा परिभाषित गरिएको संस्कार, नीति, संरचना र सत्ताले विश्व कहाँ छ ? त्यतिमात्रै विश्लेषण गरे पुग्छ । यतिका असमानता, विभेद, हिंसा, कुरीति आजसम्म रहिरहनु के पितृसत्तात्मक शासनको असफलता होइन र ? यसतर्फ गम्भीर भई सोच्नुपर्दछ ।

कतिपयले अफवाह पनि फैलाउने गरेका छन् । नारीवाद पुरुष सत्ता, पुरुषवादी चिन्तनको विरुद्धको अभियान हो तर यो कुनै व्यक्तिविशेष वा पुरुष विरुद्धको संघर्ष होइन । जसरी पुरुष नारीवादी हुँदैनन् भन्नु गलत हो, महिलामा पनि पुरुषवादी चिन्तन हुँदैन भन्नु पनि गलत बुझाइ हो ।

पुरुषवादी चिन्तन र हाम्रा संस्कारले महिलालाई यसरी स्कूलिङ गरेको छ कि महिलामा पनि पुरुषसत्तात्मक सोच गडेर बसेको छ । जसमा, हाम्रा धर्म, संस्कार, पुरातन सोचको जडता सबैभन्दा खतरनाक छ । हाम्रा धर्महरुले कसरी पितृसत्तात्मक सोचलाई संरक्षण गरिरहेका छन् भनेर बुझ्न धर्ममा महिलाको स्थान र अवस्था नियाल्नु पर्छ । यसबाट विभेद छर्लंग हुन्छ । यी सबैखाले विभेदको विरोध गर्ने पुरुष पनि नारीवादी हुन सक्छन् ।

वास्तवमा पुरुषलाई नारीवादी नबनी धर छैन । किनकि पुरुषवादले महिलालाई मात्र होइन, पुरुषलाई पनि पिरोलेको छ । पितृसत्ताले पुरुषलाई यति कठोर बनाएको छ कि उनीहरु खुलेर आफ्ना भावना अभिव्यक्त गर्न पनि सक्दैनन्, रुन पनि सक्तैनन् । यसो गरे पुरुष मर्द हुँदैन ।

पुरुषको हुर्काइ पनि उस्तै हुन्छ । बुबाआमाले छोरा र छोरीलाई खेलौनादेखि नै विभेद गर्छन् । सानैदेखि पुरुष असमानतालाई प्रेम गर्छ, समानता, प्रेमको भाषा, यसको मिठास बुझ्नै सक्दैन । ऊ त आदेश र नियन्त्रणको भाषा मात्र बुझ्छ ।

पितृसत्ताको असफलता
नारीवादको सार नारीको आँखाबाट संसार हेर्नु हो । विगत ३/४ हजार वर्षदेखि पुरुषको नजरबाट हेरिएको संसार, पुरुषद्वारा परिभाषित गरिएको संस्कार, नीति, संरचना र सत्ताले विश्व कहाँ छ ? त्यतिमात्रै विश्लेषण गरे पुग्छ । यतिका असमानता, विभेद, हिंसा, कुरीति आजसम्म रहिरहनु के पितृसत्तात्मक शासनको असफलता होइन र ? यसतर्फ गम्भीर भई सोच्नुपर्दछ ।

अहिले संसारलाई कोरोनाभाइरसको महामारीले हल्लाएको छ । मानव सम्भ्यतामाथिकै चुनौतीका रुपमा यसलाई व्याख्या गरिएको छ । तर, एकछिन सोच्नुस् त, युगौंदेखि समाजमा जरा गाडेर बसेको ‘पितृसत्ता भाइरस’ सिर्जित असमानताका रोगहरुले समाजलाई कति क्षति पु¥याइरहेको होला ? कतिलाई शारीरिक र मानसिक रुपमा पीडा दिइरहेको होला ?

कोरोनाभाइरसको संक्रमणबाट बच्न जसरी निश्चित समयावधिका लागि क्वारेन्टिनमा बस्न आवश्यक छ, पितृसत्ताको भाइरसबाट समाजलाई मुक्त गर्न पनि पुरुषवादी सोंचलाई लामो समय क्वारेन्टिनमा राख्नुपर्ने देखिन्छ ।

(दलित युवा जागरण मञ्चद्वारा १४ वैशाखमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘दक्षिण एसियामा नारीवादः चिन्तनदेखि चरित्रसम्म’ विषयमा चर्चित नारीवादी अभियन्ता कमला भसीनले दिएको भर्चुअल प्रवचनको सम्पादित अंश)

प्रस्तुतिः शुष्मा बराली

प्रतिकृया दिनुहोस